विद्यमान जातीय विभेद चिर्दै गाउँपालिकाको भान्सेमा दलित नियुक्त

  ०७६ कार्तिक २९ गते

सुदूरपश्चिमका जिल्लाहरूमा दलित समुदायका व्यक्तिबाट कार्यालयको भान्सेमा नियुक्त भएको सायदै होला ।

अझैसम्म पनि यहाँ कथित उपल्लो जातिका मानिसले कथित तल्लो (दलित) जातिका व्यक्तिले पकाएको खाना खाँदैनन् ।

यति सम्मकी होटलमा दलित समुदायका व्यक्तिसँगै बसेर खान मान्दैनन् । विभिन्न बाहानामा उनीहरूले दलित समुदायका व्यक्तिहरूसँग बसेर खाना खाँदैनन् ।

तर, यो विद्यमान जातीय विभेदलाई चिर्दै बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाले दलित र एकल महिलालाई भान्से र सहयोगीमा नियुक्त गरेको छ ।

दलित जाति भएकै कारण बैतडीका अन्य गाउँपालिका र कार्यालयहरूमा दलितलाई भान्से नियुक्त गरेको उदाहण कतै पाईँदैन ।

तर, शिवनाथ गाउँपालिकाले दलितलाई भान्से र एकल महिलालाई कार्यालय सहयोगी नियुक्त गरेको हो ।

समाजमा हुने जातीय विभेद अन्त्य गर्न शिवनाथ गाउँपालिकाले प्रकाश नेपाली औजी र हिमा धनाडीलाई भान्से र कार्यालय सहयोगी नियुक्त गरेको छ ।

समाजमा अझै जातीय विभेद उन्मुलन भई नसकेको गाउँपालिका उपाध्यक्ष कुश्मा चन्दले बताइन् । गाउँपालिकामा हुने जातीय विभेद र लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकार नै लाग्नु पर्ने बेला आएको चन्दको भनाइ छ ।

चन्दले भनिन्–‘गाउँपालिकामा दलित र एकल महिलालाई भान्से र सहयोगी राख्न मैले समाजका टाठाबाठासँग नै सङ्घर्ष गर्नु पर्‍यो । उत्पीडनमा परेका वर्ग र समुदायले परिवर्तनको अनुभूति गर्न पाएनन् भने स्थानीय सरकार बनेको के काम ? त्यसैले दलित र एकल महिलालाई भान्से र सहयोगीका रूपमा एक वर्षअघि नै नियुक्त गरेका हौँ ।’

बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी १० ओटा स्थानीय तह रहेका छन् । अधिकांश स्थानीय तहमा भान्से र सहयोगीका रूपमा जनप्रतिनिधिले आफन्त र नातागोतालाई नियुक्त गरेको आरोप लाग्दै आएको छ ।

शिवनाथ गाउँपालिकाले आफुलाई बोलाएर भान्सेमा नियुक्त गरेको शिवनाथ गाउँपालिका–२ सनकोटकोटका प्रकाश नेपाली औजीले बताए ।

नेपालीले भने–‘गाउँपालिकाले यस्तो मौका दिएकोमा म निकै खुशी छु । साँच्चै गाउँमै सिंहदरबार आएको अनुभूति भएको छ ।’

राष्ट्रिय जनगणना २०६८ अनुसार बैतडी जिल्लाको कुल जनसङ्ख्या २ लाख ५८ हजारमध्ये दलित समुदायको सङ्ख्या ५० हजार रहेको छ ।

जनसङ्ख्याको अनुपातमा बैतडी जिल्लाका सरकारी निकायमा दलितको समानुपातिक सहभागिता हुन सकेको छैन । पछिल्लो समय शिवनाथ गाउँपालिकाले भान्से र कार्यालय सहयोगीमा एकल महिला र दलितलाई नियुक्त गर्नु उदाहरणीय कार्य भएको अधिकारकर्मी करन दयालले बताए ।

गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा नियुक्त भएकी शिवनाथ गाउँपालिका–६ बसेडीकी हिमा धनाडी २० वर्ष उमेर नपुग्दै विधवा हुनु प¥यो ।

हिमा धनाडीले भनिन्–‘म अहिले २८ वर्ष पुगेँ । २० वर्ष नुपग्दै विधवा भएकी हुँ । बुवा आमाले सानैमा विवाह गरेर दिएपछि पढ्न पनि पाइएन । रोजगारीको क्रममा श्रीमानको मृत्यु भयो । साथमा दुई छोराछोरी छन् । भाग्यले जीवन नै समाप्त पारेको ठानेर बसेकी थिएँ । गाउँपालिकाले मेरो जीवन नै परिवर्तन गरिदियो ।’

खुशी हुँदै धनाडी भनिन्–‘गाउँपालिका त मेरा लागि भगवान नै बनेर आयो नि ! दुई छोराछोरी हुर्काउन समस्या भइरहेको थियो । अब छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने सोच बनाएकी छु । गाउँपालिका उपाध्यक्षले मलाई पनि खुला स्कुलबाट पढ्न सुझाव दिनु भएको छ ।’

शिवनाथ गाउँपालिकाले परिवर्तनका लागि सुरूआत गरेको यो कदम अन्य स्थानीय तहका लागि पनि अनुकरणीय काम हुन सक्ने अधिकारकर्मी सरस्वती नेपालीको भनाइ छ ।

गाउँपालिकाले स्थानीयवासीलाई सरकारी सेवा दिने काम मात्र नगरेर समाज परिवर्तनका लागि पनि केही नमूना काम गर्नुपर्छ भनेर दलितलाई भान्सेका रूपमा नियुक्त गरेको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए ।


नरी बडु