विगत १७ दिनदेखि विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन अवरुद्ध

  ०७६ जेठ १ गते

छेडागाड नपा–११ झाप्रास्थित बाल माध्यामिक विद्यालयमा विगत १७ दिनदेखि लगाइएको ताला नखुलेपछि पठनपाठन प्रभावित भएको छ । विद्यालयमा अभिभावकहरूले विभिन्न माग राखी गत वैशाख १६ गते ताला लगाएका थिए ।

तालाबन्दीको १७ दिन बितिसक्दा पनि आन्दोलनरत् पक्ष र प्रशासनबीच छलफल हुन नसक्दा तालाबन्दी यथावत नै रहेको छ । लामो समयदेखि तालाबन्दी हुँदा शैक्षिक सत्रको सुरूबाटै विद्यार्थीको पढाई प्रभावित बन्न पुगेको छ ।

आर्थिक वर्ष २०६८/०६९ देखिको आर्थिक अवस्था छानविन गरी सामाजिक परीक्षण गर्नुपर्ने, विभिन्न बहानामा कक्षा ११ र १२ मा लिने गरिएको चर्को शुल्क खारेजी गरिनुपर्ने, योग्यता पुगेका व्यक्तिलाई प्रधानाध्यापकमा नियुक्ति गरिनु पर्ने, भवन निर्माणमा लागेका मजदुरलाई तत्काल ज्याला दिनुपर्ने, विद्यालय समायोजनको नाममा गरिएका चलखेल तत्काल बन्द गर्नुपर्ने लगायत माग राख्दै अभिभावकहरूले विद्यालयमा तालाबन्दी गरेका थिए ।

सो विद्यालयका प्रधानाध्यापक पृथ्वीबहादुर सिंह साविकको उच्च माध्यामिक विद्यालयतर्फका अस्थायी शिक्षक भएको हुनाले सिंहको योग्यता नपुग्ने हुँदा स्थायी शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने अभिभावकहरूको माग रहेको छ ।

छेडागाड नपा–१० बस्ने अभिभावक विरे लुहारले विद्यालयको शैक्षिक अवस्था र स्तर शुन्य भएको, विद्यालयमा अनियमितता बढेकोले सोको छानविन हुनुपर्ने भनी व्यवस्थापन समिति र विद्यालय प्रशाासनसँग बारम्बार माग गर्दा पनि सनुवाइ नभएपछि तालाबन्दी गर्न अभिभावक बाध्य भएको बताए । ताला खुलाउन नगर शिक्षा शाखा र विद्यालय प्रशासनले कुनै पहल नगरेको लुहारको आरोप छ ।

१२ कक्षासम्म पठनपाठन हुने यस विद्यालयमा करिब ७ सय जना विद्यार्थी अध्ययनरत छन् । शैक्षिक सत्र सुरू भइसके पनि तालाबन्दीका कारण पठनपाठन सुरू हुन नसकेको बताउँदै विद्यालयका प्रधानाध्यापक पृथ्वीबहादुर सिंहले राजनैतिक पुर्वाग्रहका कारण विद्यालयमा तालाबन्दी गरिएको दावी गरे ।


दिनेशकुमार श्रेष्ठ