विकास निर्माणमा नागरिक सहभागिता रहनुपर्नेमा जोड

  ०७६ असोज १३ गते

जिल्लामा अनियमितता बढ्दै गएका कारण यसमा नियन्त्रण नगरेसम्म विकास सम्भव नहुने र विककास निर्माणमा नागरिकको सहभागिता हुनै पर्नेमा सहभागीहरूले जोड दिएका छन् ।

पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत नीलकण्ठ नगरपालिका–३ धादिङबेसीमा असोज १२ गते जिल्ला समन्वय समितिको आयोजना तथा डेक नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र धादिङ बार एसोसिएशनलगायका संस्थाहरूको सहकार्यमा सम्पन्न विकास बहस कार्यक्रममा उपस्थित सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा जिल्लास्थित नापी कार्यालय, नेपाल विद्युत प्राधिकरण, सिंचाइ कार्यालय लगायतले सेवाग्राहीको काम नियम अनुसार नगरी जनतालाई दुःख दिने गरेको भन्दै मालपोत कार्यालयमा रकम नलिइ नागरिकको काम नै नहुने, बीचौलियाले नागरिकलाई कार्यालय भित्र छिर्न समेत नदिने गरी छेक्ने, नागरिक आफैँले काम गर्न समेत नसक्ने अवस्था रहेको सहभागीहरूले गुनासो गरे ।

निलकण्ठ नगरपालिकाले गर्नु पर्ने विकासका कार्यहरू नियमित रूपमा नगरकोे भन्दै धादिङबेसी भ¥याङभुरुङ सडक निर्माणको काममा अति लापरवाही गरिएकाले सडकलागायत नाली समेत गुणस्तारहीन भएकामा नागरिकहरूले आक्रोश व्यक्त गरेका थिए ।

विकास योजनाका कार्यामा नगरिकसँग छलफल नै नगरी कार्य योजना अगाडि बढाउने गरेको सरोकारवालाहरूको आरोप छ ।

खानेपानीको समस्या बढ्दो रूपमा रहेको सदरमुकाममा दिसामा रहने जिवाणु खानेपानीमा समेत भेटिएको, सदरमुकामकै सडक पेटी बनाउन थालिएपनि सडक पेटी बनाउँदा अपाङ्गमैत्री बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान नदिएको लगायतका गुनासो सरोकारवालाहरूले गरेका थिए ।

अपाङ्ग अधिकारका क्षेत्रमा क्रियाशील गुणराज खतिवडा तथा राजु रेग्मीले सरकारले निर्माण गरेको सदरमुकामका भवनहरू अपाङ्गमैत्री नभएको, निःशुल्क शिक्षाको पहुँच नपुगेको र अपाङ्गता भएकाहरूलाई सहायक सामग्री र निःशुल्क औषधिको व्यवस्था नगरिएको गुनासो गर्दै ज्येष्ठ नागरिकहरूलाई सरकारी कार्यालय र यातायतका क्षेत्रमा अवहेलना गरिएको बताए ।

कार्यक्रममा सङ्घीय सांसद खेम लोहनीले स्थानीय सरकारले नागरिकसँग छलफल गरेर योजना बनाउन आग्रह गर्दै सङघीय संसदले नीति बनाउँदै गरेको र आगामी दिन गुठी विधेयकलगायतका अन्य नीतिहरू पारित गर्ने तयारी रहेको बताए ।

प्रदेश सभाका सांसद डाक्टर रामकुमार अधिकारीले स्वास्थ्य क्षेत्रलगायतमा रहेको समस्या समाधानका लागि प्रयास भइरहेको तथा जिल्लामा भएका अनियमिततालाई सुधार गर्दै अनियमितता गर्नेलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भूमिप्रसाद ढुङ्गानाले नागरिकको गुनासो सम्बोधन गर्दै सबैको गुनासो  भएपनि नगरपालिकाले निरन्तर काम गरिरहेको र जिल्लामा रहेका समस्या समाधानमा लागि सधैँ प्रयत्नरत रहेको बताए ।

Photo 2019-9-30 Dhading (1)

Photo 2019-9-30 Dhading (2)

Photo 2019-9-30 Dhading (3)

Photo 2019-9-30 Dhading (4)


सीताराम अधिकारी