विकट गाउँका गर्भवती घरमै हुन्छन् सुत्केरी !

  ०७६ माघ १३ गते

नेपाल सरकारले ‘नो मोर होम डेलिभरी’ अर्थात घरमा हुने सुत्केरी शुल्य अभियान सञ्चालन गरिरहेको बेला जिल्लाका विकट गाउँका गर्भवती महिलाहरू अझै घरमै सुत्केरी हुन बाध्य छन् ।

गर्भवती महिलाहरू घरमै सुत्केरी हुँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने भएता पनि भौगोलिक विकटता र जनचेतनाको अभाव विकट गाउँका गर्भवती महिलाहरू घरमै असुरक्षित रूपमा बच्चा जन्माउन बाध्य छन् ।

पाटन नगरपालिकामा पनि पाँच प्रतिशत महिलाहरू अझै घरमै सुत्केरी हुने गरेको तथ्याङ्क छ ।

जिल्ला सदरमुकाम खलंगामै रहेको सबैभन्दा पुरानो दशरथचन्द नगरपालिकामा मात्रै पनि आर्थीक वर्ष २०७४/७५ मा ३५ जना र आर्थीक वर्ष २०७५/७६ मा ४० जना महिला घरमै सुत्केरी भएको तथ्याङ्क छ ।

चालु आर्थिक वर्षको अहिलेसम्म १३ जना भन्दा बढीले घरमै बच्चा जन्माएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रमानन्द भट्टले बताउनु भयो । वडा नम्बर १ र ३ मा बढी गर्भवती घरमै सुत्केरी हुने गरेको पाइएको उहाँले बताउनु भयो  ।

सुर्नया गाउँपालिकामा तीन वर्षको अवधीका ४१ जनाले घरमै बच्चा जन्माएको स्वास्थ्य संयोजक रामसिंह महराले बताउनु भयो ।

उहाँले भन्नु भयो –‘भौगोलिक विकटताको कारणले गर्भवतीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन सक्ने अवस्था नभएकोले पालिकामा अझै पनि घरमै सुत्केरी हुनेको संख्यामा कमी आएको छैन् । पालिकाका आठ ओटै वडामा स्वास्थ्य संस्था स्थापना भएका छन् । अब यो संख्यामा कमि आउँछ ।’

सवारी साधनको अभाव, नियमीत सवारी साधन सञ्चालन नहुने, सबै सवारी साधनहरूले गर्भवती आमालाई बोक्न नमान्ने लगायतका समस्याले गर्भवती महिलाहरूको स्वास्थ्य संस्थामा पहुँच नभएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य संयोजक परमानन्द भट्टले बताउनु भयो ।

 

उहाँले भन्नु भयो –'जनचेतनाको कमी र पालिकामा जनशक्तीको अभाव रहेकोले पनि समस्या भएको छ । कर्मचारी समायोजनले पनि धेरै स्वास्थ्य चौकीमा सुत्केरी गराउने दक्ष महिला स्वास्थ्यमकर्मीको पनि  अभाव छ । सुत्केरी गराउनको लागि लिनै पर्ने एसबीआइ तालिम लिएका महिला स्वास्थ्यकर्मीको पनि कमी छ ।’

परिवारका सदस्य र स्वयम महिलाहरूमा पनि सुत्केरी सेवा स्वास्थ्य संस्थाबाट लिन अनिवार्य छ भन्ने सचेतना नहुँदा घरमै सुत्केरी हुने संख्यामा कमी नआएको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन महराले बताउनु भयो ।

उहाँले भन्नु भयो –‘ गाउँबस्ती नजिकै स्वास्थ्य संस्था नभएका कारण  महिलाहरू सुत्केरी व्यथा लाग्ना साथ स्वास्थ्य संस्थामा पुग्न सक्दैनन् । सबैको पुहँचमा हुने गरी स्वास्थ्य चौकी निर्माण गरिनु पर्छ ।’

सुत्केरी प्रोत्साहन भत्ता समयमै उपलब्ध गराउन नसकिएको कारण पनि परिवारका सदस्यहरूले गर्भवती महिलालाई  स्वास्थ्य संस्था लैजान सक्रियता नदेखाएको शर्माली स्वास्थ्य चौकीका अनमी कृष्णा चौधरीले बताइन् ।

महिलाहरू अझै पनि घरमै सुत्केरी हुनुले आमा र बच्चाको ज्यान नै जोखिममा पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल अधिकृत डाक्टर वसन्तराज जोशीले बताउनु भयो ।

शिवनाथ गाउँपालिकामा –  १ की गर्भवती महिला गौमती चाँडलाई सुत्केरी व्याथा लागेको समयमै स्वास्थ्य चौकी नलगेका कारण ०७६ भदौ ३१ गते मृत्यु भएको थियो ।

 

 

 


नरी बडु