वास्तविक गरिब परिवारले परिचय–पत्र नपाएको भन्दै जिल्ला प्रशासनमा उजुरी

  ०७५ साउन १० गते

वास्तविक गरिब परिवारले परिचय–पत्र नपाएको भन्दै साउन १० गते जिल्ला प्रशासन कार्यालय हुम्लामा उजुरी दिएका छन् ।

नेपाल सरकार गरिबी तथा सहकारी विकास मन्त्रालयद्वारा वितरण गरिएको गरिब घर परिवार छनौट प्रक्रियामा हुम्लाका गरिब घरधुरी सर्वेक्षणका क्रममा वास्तविक गरिब छुटेको गरिब परिवारले जनाएका छन् । नाम छुटेको विषयमा एक हप्ता सूचना जारी पश्चात फारम भरेको भए पनि नाम समावेश नगरेको भन्दै स्थानीयबासीले जिल्ला प्रशासन कार्यालयमा साउन १० गते उजुरी दिएका हुन् ।

०७० सालमा सङ्कलन गरेको विवरणका आधारमा हुम्लामा गरिब परिचय–पत्र वितरण भएपछि वास्तविक गरिबहरू छुटेको भन्दै उजुरी गर्न बाध्य भएका हुन् ।

जिल्लाका वास्तविक गरिब नपरेर धनी परेको देखिएपछि स्थानीयबासी मर्कामा परेको सिमकोट गाउँपालिका–२ का वडा सदस्य गोरासिहं बोहराले बताए । उनले भने–‘०७० सालमा जिविसबाट विवरण सङ्कलन गर्दा सामाजिक परिचालकको कमजोरीले हुम्लाका करिव १ हजार ५ सय गरिब घर परिवार परिचय–पत्र पाउनबाट वञ्चित भएका छन् ।’

सामाजिक परिचालकको कमजोरीले साउन १० गते जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न बाध्य भएको सिमकोट गाउँपालिका–७ का स्थानीयबासी कालीबहादुर सिंहले बताए ।

‘गरिब घरपरिवारको विवरण सङ्कलन गर्दा सामाजिक परिचालकले गोप्य रूपमा आ–आफ्ना नजिकका नातेदार व्यक्तिहरूको मात्र विवरण टिपेर लगेपछि धनि घरपरिवारले परिचय–पत्र पाएका हुन् ।’–खार्पुनाथ गाउँपालिका–४ लेखगाउँका स्थानीयबासी नरबहादुर जेठाराले गुनासो गरे ।

मनोमानी ढङ्गले नाम जिल्लाबाट सिफारिस गरी परिचय–पत्र वितरण गरेको पाइएकाले उक्त छनौट प्रक्रियामा स्थानीयबासीको विरोध रहेको छ । उक्त घटनाको छानबिन गरी वास्तविक गरिबको पहिचान गरी नाम समावेश गर्न स्थानीय प्रशासनलाई पीडित पक्षले अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गागानाका अनुसार उजुरी दिनेमा कम्तीमा २ सय घरधुरीको विवरण आएको छ । उनले भने–‘विगतका कुरालाई लिएर यतिखेर माग नगर्दा पनि हुन्छ ।’ यदि नेपाल सरकारले मान्छ भने आफूले केन्द्रमा पहल गर्ने उनले बताए ।

जिल्लाका सात स्थानीय तहमा ४ हजार ५ सय ६० घरपरिवार गरिब रहेको पाइएको छ । गरिब घरपरिवार पहिचान तथा परिचय–पत्र वितरण बोर्डले सङ्कलन गरेको तथ्याङ्क अनुसार अति गरिबमा २ हजार ९, मध्यम गरिबमा १ हजार ५ सय २० र सामान्य गरिबमा १ हजार ३१ घरपरिवार रहेको जिल्ला समन्वय समितिको कार्यालय हुम्लाले जनाएको छ ।

यसैगरी सिमकोट गाउँपालिकामा ३ सय ५२ अति गरिब, २ सय ८९ मध्यम र १ सय ९३ घरपरिवार सामान्य गरिब रहेका छन् । खार्पुनाथ गाउँपालिकामा २ सय २ अति गरिब, १ सय १६ मध्यम र १ सय ३१ सामान्य गरिब घरपरिवार छन् भने नाम्खा गाउँपालिकामा १ सय ४३ अति गरिब १ सय १२ मध्यम र १ सय १२ घरपरिवार सामान्य गरिबको सूचीमा रहेका छन् ।

अदानचुली गाउँपालिकामा ३ सय ४६ अति गरिब, २ सय १२ मध्यम र १ सय २९ सामान्य, सर्केगाड गाउँपालिकामा २ सय ७० अति गरिब, ४ सय २० मध्यम र १ सय ९३ सामान्य गरिब परिवार रहेका छन् । यस्तै चङ्खेली गाउँपालिकामा २ सय ३९ अति गरिब, १ सय ६९ मध्यम र १ सय ३८ सामान्य गरिबी रहेको पाइएको छ । ताँजाकोट गाउँपालिकामा ४ सय १७ अति गरिब, २ सय ११ मध्यम र १ सय ३५ सामान्य गरिब परिवार रहेको तथ्याङ्क छ ।

यतिखेर गरिब घर परिवारको रातो, पहँेलो र निलो परिचय–पत्र वितरणका लागि जिल्लाका सात वटै स्थानीय तहमा वितरण कार्य भई रहेको जिल्ला समन्वय समितिका सूचना प्रविधि अधिकृत जमनी शाहीले जानकारी दिइन् ।

सूचना प्रविधि अधिकृत शाहीले भने–‘यो गरिब पहिचान परिचय–पत्रको लागि पुनः दुःख नगर्दा हुन्छ सामाजिक परिचालकले सङ्कलन गरेको आधारमा नाम लिष्टमा आउने हो । कसैले पक्षपात गरेको छैन ।’

उनले थपिन्–‘विवरण सङ्कलनका क्रममा टाठो बाठोले एउटा पनि घरेडी छैन भने तर साधारण जनाताले जति छ त्यतिनै भनेपछि धनि धनि नै भए गरिब गरिब नै हुन पुगे ।’ तर, यथार्थ भन्ने हो भने साँचिकै हुम्लाको सो विवरण नमिलेकै देखिएको बताइन् ।

०६८ को जनगणना अनुसार हुम्लाको जनसङ्ख्या ५० हजार ८ सय ५८ रहेको छ । राज्यले समयमै ख्याल गर्नुपर्ने सिमकोट गाउँपालिका–२ का वडा सदस्य गोरा सिंह बोहोराको भनाई छ ।


नन्द सिंह