वाम गठबन्धन र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच झडप

  ०७४ मङ्सिर ४ गते

वाम गठबन्धन र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच मङ्सिर ३ गते राति शैल्यशिखर नगरपालिका-६ पनेबाजमा झडप भएको छ ।

चुनावी प्रचार प्रसारमा रहेका वाम गठबन्धनका कार्यकताहरू पनेबाजमा खाना खाइरहेको बेला काङ्ग्रेस कार्यकर्ताले जिप लगेर ठोक्न खोजेपछि झडप भएको आरोप छ ।

काङ्ग्रेस कार्यकर्ता चढेको से १ ज १५१ नम्बरको जिप चालक किशनसिंह धामीले गठबन्धनका कार्यकर्ता खाना खाइरहेको होटलमा लगेर झगडा गर्न खोजको वाम गठबन्धन नेता मोहनसिंह धामीले आरोप लगाए ।

झडपमा परी काङ्ग्रेस कार्यकर्ता मालिकार्जुन-४ ऐरीछानाका २४ वर्षीय जिप चालक किशनसिंह धामी र जुम्ला जिल्ला सिञ्जा गाउँपालिका-१ का १६ वर्षीय बालक विकाश खत्री घाइते भएका प्रहरीले जनाएको छ ।

घट्नामा संग्लन रहेको आरोपमा प्रहरीले वाम गठबन्धनका १० जना कार्यकर्तालाई मङ्सिर ३ गते नै गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा शैल्यशिखर नगरपालिका-५ बरमुडेका २१ वर्षीय हरकसिंह रावल, वडा नम्बर-६ ग्वानीका ४५ वर्षीय धनबहादुर धामी, वडा नम्बर-६ पनेवाजका ३२ वर्षीय केशवसिंह धामी, वडा नम्बर-८ बोहरीगाउँका १९ वर्षीय खेमराज जोशी, वडा नम्बर-५ ग्वानी बगौराका ३३ वर्षीय मदन डागा रहेका छन् ।

यस्तै मार्मा गाउँपालिका-४ पडपडाका २२ वर्षीय वसन्तसिंह धामी, मार्मा-२ सिमारका १७ वर्षीय दमनसिंह धामी, १९ वर्षीय रविन्द्रसिंह धामी र १८ वर्षीय गजेन्द्रसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।


नरेन्द्रसिंह कार्की