‘वादी समुदायको समस्या जाँडरक्सी र दुर्व्यसनी’–स्थानीय सरोकारवाला

  ०७५ फागुन २३ गते

जाँडरक्सी सेवन र दुर्व्यसनीका कारण घरेलु हिंसाको समस्या बढ्दो रहेको एक कार्यक्रमका सहभागीहरूले औल्याएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कर्णाली प्रदेश कार्यालय र वातावरणीय कृषि तथा विकास केन्द्र (केड) को आयोजना तथा विरेन्द्रनगर नगरपालिका, सुर्खेतको समन्वयमा फागुन २३ गते विरेन्द्र नपा–११ झुप्राखोलास्थित वादी समुदायमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो कुरा औल्याएका हुन् ।

१ सय ९ औँ श्रमिक महिला दिवसका अवसरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीय बालकुमारी वादीले समुदायका महिला विगत लामो समयदेखि पाठेघर खस्ने जस्ता समस्याबाट ग्रस्त भएपनि गरिबीका कारण उपचारको पहुँचमा नपुगेको बताइन् ।

आपूm स्वयम् सो समस्याबाट पीडित रहेको बताउँदै बादीले उपचारको पहल गरिदिनका लागि जनप्रतिनिधि समक्ष आग्रह गरिन् ।

स्थानीय पम्फा वादीले समुदायमा रहेका वयस्क पुरूषमा जाँडरक्सी सेवन र युवावर्गमा दुर्व्यसनीको समस्या बढ्दो रहेकोमा नियन्त्रण आवश्यक रहेको बताइन् ।

उनले मादक पदार्थ र लागुपदार्थ सेवन गर्दा घरेलु हिंसा, चोरी जस्ता घटना बढ्दो रूपमा समुदायमा रहेको बताइन् । सचेतनाको अभावका कारण पनि उजुरीको पहुँचसम्म पीडित महिला नपुग्दा सहेर बस्न बाध्य भएको उनको भनाई थियो ।

तारा वादीले श्रमिक महिला दिवसका बारेमा समुदायका महिलालाई जानकारी नभएको भन्दै आगामी दिनमा महिला र पुरूष स्थानीयलाई एकै स्थानमा राखी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेमा घरेलु हिंसा तथा महिला हिंसा जस्ता समस्या न्यूनीकरण हुने बताइन् ।

विरेन्द्रनगर नगरपालिका कार्यपालिका सदस्य विष्णुबहादुर वादीले समुदायमा रहेको बस्ती व्यवस्थापनको समस्या समाधानको लागि आफू प्रयासरत रहेको भनाई राखे ।

जनप्रतिनिधि भएका कारण समुदायका समस्या न्यूनीकरण गर्नु आफ्नो दायित्व भएको बताउँदै वादीले समस्यालाई सम्बन्धित ठाउँमा पुर्‍याउने कार्यमा सदैब भुमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरे ।

सो वडाका सदस्य कृष्णप्रसाद तिवारीले सो वडामा रहेका शिक्षा, स्वास्थ जस्ता सार्वजनिक सरोकारका समस्या समाधानका लागि जनप्रतिनिधि क्रियाशिल रहेको बताए ।

कार्यक्रममा आङ (पाठेघर) खस्ने समस्या र समाधानका बारेमा वृत्तचित्र देखाइनुका साथै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका बारेमा सहजीकरण गरिएको थियो ।


दुर्गा थापा