वडा सचिव नहुँदा सेवाग्राही समस्यामा

  ०७७ असोज २ गते

जिल्लाका ८४ वडा मध्ये अधिकाङ्स  वडाहरुमा सचिव नहुँदा आफूहरुले समस्या भोग्नु परेको स्थानीयहरुले गुनासो गरेका छन् ।

नागरिकताको सिफारिसका लागि वडा कार्यालयमा जाँदा सचिव नभेटिने भएपछि वडाध्यक्षलाई फोन गर्दै खोज्नु पर्ने बाध्येता रहेको  सुर्नया गाउँपालिका–४ का स्थानीय नरेन्द्र बिष्टले दुखेसो पोख्नु भयो ।

वडा सचिव नहुँदा सामान्य सिफारिसका लागि समेत प्राविधिक भएकै ठाउँमा वा वडाध्यक्षलाई खोज्दै जानु पर्ने बाध्यता रहेको दशरथचन्द नगरपालिका–७ का स्थानीय मोहनप्रसाद बडुले दुखेसो पोख्नु भयो  ।

अपाङ्गता परिचय–पत्रको सिफारिसका लागि वडामा जाँदा सचिव नभएपछि दास्रो दिन अध्यक्षलाई भेटेर उहाँबाट नै लेख्न लगाई अर्को ठाउँमा रहेका प्राविधिकबाट सिफारिस बनाउनु परेको डिलाशैनी गाउँपालिका–४ का इश्वर बोहराले गुनासो गर्नु भयो ।

वडामा सचिव नहुँदा स्थानीय सेवाग्राही समस्यामा परेको सुर्नयाँ गाउँपालिका–४ का वडाध्यक्ष दिनेश भट्टले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘जन्मदर्ता, नागरिकता लगायतका सिफारिस गर्न समस्या भएको छ । सचिव नहुँदा विभिन्न प्रकारका सिफारिसहरु गर्न समस्या छ । सचिवको काम पनि म आफैले गर्नु पर्ने बाध्यता छ ।’

सचिव नभएका वडाहरुमा सेवाग्राहीहरुलाई समस्या नहोस भन्नका लागि प्राविधिक सहायक खटाएर काम चलाउनु परेको सुर्नया गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँपालिकाका आठ वडामध्ये पाँच ओटा वडामा सचिव छैनन् ।  वडामा प्राविधिक सहायकहरुले सचिवको काम गरिरहेका छन् ।’

पाटन नगरपालिकाका १० ओटै वडामा दरबन्दी अनुसारका सचिव नभएका कारण प्राविधिक सहायकहरुले नै सचिवको काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताउनु भयो ।

पुर्चौंडी नगरपालिकाका १० वडामध्ये नौ ओटा वडामा सचिव छैनन् । ती वडाहरुमा प्राविधिक सहायकहरुले नै सचिवको काम गरिरहेको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले बताउनु भयो ।

सिगास गाउँपालिकाको वडा नम्बर ४,७ र ९ गरी तीन वडामा प्राविधिक सहायकहरुले सचिवको काम गरिरहेको सिगाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकासिंह धामीले बताउनु भयो

यसैगरी सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको ७ नम्बर वडा, पञ्चेश्वर गाउँपालिकाका ६ वडामध्ये वडा नम्बर २,४ र ५, शिवनाथ गाउँपालिकाको वडा नम्बर ४ र मेलौली नगरपालिकाका नौ वडामध्ये वडा नम्बर १,५ र ९ मा सचिव छैनन् ।

वडा कार्यालयहरुमा सचिव नहुँदा प्राविधिक सहायकहरुले सचिवको पनि काम गर्नु परेकोले सेवाग्राहीहरुलाई समयमै छिटोछरितो रुपमा सेवा प्रवाह गर्न नसकिएको मेलौली नगरपालिकाका सूचना अधिकारी कालीप्रसाद भट्टले बताउनु भयो ।


नरी बडु