वडा सचिव नहुँदा सेवाग्राही समस्यामा

  ०७७ पुस २८ गते

परशुराम नगरपालिकाका १२ ओटा वडाहरुमा सचिव नहुँदा आफूहरुले समस्या भोग्नु परेको सेवाग्रहीहरुले गुनासो गरेका छन् ।

वडा कार्यालयमा सचिव नहुँदा जन्मदर्ता, नागरिकता तथा अन्य सिफारीसका लागि समस्या भएको स्थानीय राजेन्द्र धामीले गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो – ‘अति आवश्यक सिफारिसका लागि पनि अध्यक्ष तथा सचिवहरुलाई फोनमार्फत खोज्नु पर्ने वाध्यता रहेको छ ।’

सिंहदरबारको अधिकार गाउँगाउँमा आएको भनिएता पनि वडा सचिवको अभावमा सहज रुपमा सार्वजनिक सेवा पाउन नसकेको परशुराम नगरपालिका– ७ का स्थानीय रमेश भण्डारीले गुनासो गर्नु भयो ।

स्थानीय सरकार आएपनि स्थानीय तहमा वडासचिव नहुँदा विकास निर्माणका काम पनि प्रभावित हुनुका साथै कर्मचारी अभावका कारण अस्पतालका कर्मचारीहरुलाई सचिवको जिम्मेवारी सम्हाल्नु पर्ने बाध्यता रहेको भण्डारीले बताउनु भयो ।

कर्मचारीले ग्रामीण क्षेत्रमा जान नमान्ने तर सुगम क्षेत्रका स्थानीय तहमा जान हानथाप गर्ने प्रवृतिका कारण वडासचिवको अभाव देखिएको परशुराम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशब बोहराले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘ वडा कार्यालयमा वडा सचिव नहुँदा सेवाग्रहीहरुले एउटै कामका लागि २/३ दिन कुर्नु पर्ने अवस्था छ । वडामा सचिव नहुँदा स्वास्थ्यचौकीका अहेबलाई सचिवको जिम्मेवारी दिइएको छ । सचिवले बिरामी हेर्नै कि सिफारिस बनाउने समस्या भएको छ ।’

सेवाग्राहीलाई समस्या नहोस भन्नका लागि स्वास्थ्य चौकीका कर्मचारीहरुलाई खटाएर काम गरिरहेको परशुराम नगरपालिकाका प्रमुख भिमबहादुर साउदले बताउनु भयो ।

उहाँले भन्नु भयो– वडा कार्यालयमा सचिव पदपुर्तिका लागि प्रदेश र केन्द्र सरकारलाई आग्रह गरिएको छ । आशा छ केही दिनमा नै समस्या सामाधान हुनेछ ।


भूपेन्द्र बिष्ट