वडा सचिवलाई कुटपिट, घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ २४ गते

देवघाट गाउँपालिका–२ का वडा सचिव गङ्गाराम मानन्धरलाई कुटपिट गरेको आरोपमा ऋषिङ गाउँपालिका–३ का २६ वर्षीय धनसिंह मगर र सोही ठाउँका २३ वर्षीय असिम थापालाई प्रहरीले ०७७ भदौ २३ गते गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरेर गएका उनीहरुले निवासमै सुतिरहेका वडा सचिव मानन्धरलाई ०७७ भदौ २२ गते राति कुटपिट गरेका थिए ।

आफ्नो कोठा नजिकैको होटलमा राति अबेरसम्म मादक पदार्थ सेवन गरी होहल्ला गर्दै बसेका उनीहरुलाई हल्ला नगर्न भनेर सम्झाएको कारण आफूमाथि कुटपिट गरेको सचिव मानन्धरले बताउनुभयो ।

पीडितले ०७७ भदौ २२ गते रातिनै घटना बारे इलाका प्रहरी कार्यालय देवघाटमा मौखिक उजुरी दिनुभयो । उनले भदौ २३ गते देवघाट गाउँपालिकामा लिखित निवेदन दिनुभएको थियो ।

पीडितको उजुरीपछि खाल्टे प्रहरी चौकीका प्रहरीले कुटपिटमा संलग्न युवाहरुलाई वडा नम्बर २ को ब्यागनबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उज्वलराज चिलुवालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

उहाँले आरोपितहरुलाई गिरफ्तार गरी देवघाट ल्याएर हिरासतमा राख्न साँझ इलाका प्रहरी कार्यालय आबुँखैरेनी पठाइएको बताउनुभयो ।

पीडितको स्वास्थ्य उपचार धर्मार्थ अस्पताल देवघाटमा ०७७ भदौ २२ गते भयो ।


प्रकाशचन्द्र भट्टराई