वडा सचिवको भरमा गाउँपालिकाः नागरिकलाई सास्ती

  ०७६ असोज ७ गते

लिखु तामाकोशी गाउँपालिकामा कर्मचारी नहुँदा सर्वसाधारणले सेवा लिन हैरान खेप्नु परेको छ । अहिले सो गाउँपालिका एकजना वडा सचिवका भरमा सञ्चालनमा छ । वडा सचिव केहरमान तामाङले वडा कार्यालय र गाउँपालिकाको काम समेत धानिरहेका छन् ।

गाउँपालिकाको वडा नं ६ खिम्तिका सचिव केहरमान तामाङ एक्लैले डेढ महिनादेखि वडा र गाउँपालिका समेतको काम गरेका हुन् ।

कार्यपालिका बैठकमा गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले हातपातको प्रयास गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राई ०७६ साउन १६ गते कार्यालय छाडेर हिँडेका थिए ।

उनी आफू असुरक्षित भएको भन्दै त्यसपछि कार्यालय फर्किएका छैनन् । प्रमुख प्रशासकीय अधिकृत हिँडेपछि गाउँपालिकाको एक मात्र स्थायी कर्मचारीको रूपमा रहेका तामङले गाउँपालिकाको काम समेत गरिरहेका छन् ।

आफूले हप्तामा तीन दिन गाउँपालिकामा र तीन दिन वडा कार्यालयमा बसेर काम गर्ने गरेको तामाङले बताए ।

आइतबारदेखि मङ्गलबारसम्म वडामा र बुधबारदेखि शुक्रबारसम्म गाउँपालिकामा बसेर काम गर्ने गरेको उनले बताए । वडा कार्यालय र गाउँपालिका दुई घण्टाको दुरीमा पर्छन् । आफू वडामा हुँदा पनि कतिपय अत्यावश्यक कागजहरू लिएर स्थानीय सेवाग्राही आउने गरेको उनले बताए ।

गाउँपालिको सेवा नियमित नहुँदा सर्वसाधारणले सास्ति भोग्नु परेको लिखु तामाकमोशी गाउँपालिका-२ का हेमन्त पौडेलले बताए ।

आपसी विवादका कारण गाउँपालिका उपाध्यक्ष समेत डेढ महिनादेखि कार्यलयमा आएकी छैनन् । गाउँपालिका अध्यक्ष पनि कार्यालयमा नियमित छैनन् । यसले गर्दा नागरिकलाई सेवा लिन अझ कठिन भएको पौडेलले बताए ।


नवराज पथिक