वडा कार्यालय पर्याप्त नहुँदा सेवाग्राही समस्यामा

  ०७५ वैशाख १३ गते

दार्चुलाका अधिकांश वडा कार्यालयहरूको व्यवस्थापन हुन नसक्दा प्रभावकारी सेवा प्रवाहमा समस्या भइरहेको सचिवहरूले गुनासो गरेका छन् । नयाँ संरचना लागु भएसँगै साविकको एउटा गाविसलाई दुई वटा वडामा विभाजन गरेपछि भवन अभाव भएको छ ।

एउटा गाविसलाई २ वटा वडा कायम गरिएका वडाहरूको आफ्नै वडा कार्यालय नहुँदा समस्या हुने गरेको वडा कर्मचारीहरूको गुनासो छ ।

नयाँ संरचना लागु भएसँगै दार्चुला जिल्लामा पुरानो संरचना परिवर्तन भएर नौ स्थानीय तह र ६१ वडा कार्यालय निर्धारण गरिएको छ । परिवर्तित संरचना अनुसार भौतिक व्यवस्थापन गर्न नसकिँदा वडा कार्यालयको दैनिक कामकाज प्रभावित हुने गरेको महाकाली नगरपालिका वडा नम्बर ६ का वडासचिव लालबहादुर धामीले बताए ।

पुरानो संरचनालाई परिवर्तन गर्न जतिको सजिलो थियो उतिक्कै गाह्रो वडा कार्यालय व्यवस्थापन गर्न देखिएको धामीले बताए । विभिन्न आवश्यक पुराना प्रमाणपत्र नयाँ वडा कार्यलयमा नहुँदा समस्या हुने गरेको सचिव धामीले गुनासो गरे ।

दार्चुला जिल्लाका ४१ वटा गाविसहरूलाई दुई नगरपालिका र सात गाँउपालिकामा तथा ६१ वडामा विभाजन गरिएको छ । वडा कार्यालय व्यवस्थापनमा प्रभावकारी हुन नसक्दा सोचे जस्तै सेवा प्रवाह गर्न नसकिएको वडा नं. ७ का अध्यक्ष चन्द्रसिंह विष्टको भनाई छ । महाकाली नगरपालिकामा सात वटा वडाहरूको आफ्नै भवन नभएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै शैल्यशिखर नगरपालिकामा पाँच वटा, मालिकार्जुन गाउँपालिकामा तीन, अपिहिमाल गाउँपालिकामा चार, मार्मा गाउँपालिकामा तीन र दुहुँ गाउँपालिकामा दुई वडा कार्यालयहरूको आफ्नो भवन नहुँदा समस्या भएको वडाध्यक्षहरूले बताएका छन् ।

त्यसैगरी व्याँस गाउँपालिकामा दुई वटा, लेकम गाँउपालिकामा तीन र नौगाड गाँउपालिकामा तीन वटा वडा कार्यलयहरूको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हने गरेको वडा सचिवहरूको गुनासो छ । दार्चुला जिल्ला भरिका ६१ वडाहरू मध्ये ३२ वडा कार्यालयहरूको आफ्नै वडा कार्यालय भवन नहुँदा दैनिक सेवा प्रवाहमा समस्या हुने गरेको छ ।

यसैगरी जिल्लाका एक दर्जन वडाहरूमा वडा सचिवविहीन छन् । वडा सचिव नहुँदा एक जनाले दुई वडाको जिम्मेवारी सम्हाल्नु परेको अपिहिमाल गाउँपालिका-३ का सचिव लक्ष्मणसिंह धामीले बताए ।

दोहोरो जिम्मेवारी हुँदा पूरै काम गर्न समस्या भएको छ । अहिले पनि सेवाग्राहीलाई नियमित सेवा दिन समस्या हुने गरेको उनले बताए । पछिल्लो समय प्राविधिक सहायकलाई समेत सचिवको जिम्मेवारी दिइएपनि वडाहरूमा सचिव पर्याप्त हुन नसकेको धामीको भनाई छ ।

अहिले पनि स्थानीय तहहरूमा सचिव र कार्यकारी अधिकृत नहुँदा सामान्य प्रशासनिक कामको लागि सदरमुकाम खलङ्गा धाउनु परेको अपिहिमाल गाउँपालिका-२ का स्थानीय डब्बलसिंह कार्कीले बताए ।

'वडाहरूमा सचिव हुँदैनन्, कार्यकारी जिल्लामै हुन्छन् ।'-उनले भने सिंहदरबारको अधिकार गाउँमा भनिएपनि कर्मचारी भवन नहुँदा सेवा पाउन नसकिएको उनले बताए ।


नरेन्द्रसिंह कार्की