वडा कार्यालयहरूमा सचिव नहुँदा सेवाग्राही मर्कामा

  ०७६ वैशाख २७ गते

काठेखोला गाउँपालिका–५ स्थित वडा कार्यालय सचिवविहीन भएको १४ महिना भयो । कर्मचारी समायोजनका कारण वडा सचिवविहीन हुँदा सचिवले गर्ने काम वडा अध्यक्षले नै गर्नुपरेको वडा अध्यक्ष शिव कँडेलले बताए ।
एक्लैले कार्यालयमा सबै काम सम्हाल्दा दैनिक सेवा प्रवाहमा निकै अप्ठेरो भएको वडा अध्यक्ष कँडेलको भनाई छ  ।
आठ ओटा वडा रहेको सो गाउँपालिकाका सात ओटा वडामा सचिव नहुँदा सेवाग्राही मर्कामा परेको वडाअध्यक्षहरूको भनाई छ ।
वडामा सचिव नहुँदा धेरै दुख पाइयो ।’–काठेखोला गाउँपालिका–५ लामखुङका भुभिश्वर कँडेलले भने–‘एकैछिनमा हुने विवाह दर्ता गराउनको लागि मैले तीनदिनसम्म वडा कार्यालय धाउनु प¥यो ।’
वडा नम्बर ६ की सोविता कँडेलले आफ्ना छोरा र छोरीको जन्म दर्ता गराउनको लागि निकै सास्ती खेप्नुपरेको गुनासो गरिन् ।
गाउँपालिकाको वडा नम्बर ३ को कार्यालयमा मात्र हाल वडा सचिव कार्यरत रहेको काठेखोला गाउँपालिकाले जनाएको छ ।
एकैदिनमा काम हुन्छ भनेर सदरमुकामबाट छोराछोरीको जन्मदर्ता गराउन वडा कार्यालय पुगेकी सोवितालाई वडामा सचिव नभएको कारणले जन्म दर्ता गराउनको लागि वडा कार्यालयले गाउँपालिकाको कार्यालय पठायो ।
कक्षा ८ मा अध्यायन गर्ने छोरा र छोरीको भर्नाको लागि जन्मदर्ता अनिवार्य भएपछि वडा कार्यालय पुगेकी सोविताले तीन दिनपछि वैशाख २७ गते गाउँपालिकाको कार्यालयबाट छोराछोरीको जन्मदर्ता गराएको बताइन् ।
सोविता जस्तै छोराको जन्मतर्दा गराउनको लागि वडा नम्बर १ पालाबाट वडा कार्यालय पुगेका भरत कुँवर र कल्पना कुँवरले सचिव नहुँदा दुई दिनपछि मात्रै वैशाख २६ गते गाउँपालिकाको कार्यालयबाट छोरा अनमोल कुँवरको जन्मदर्ता गराएको बताए ।
वैशाख ११ गते विवाह गरेका काठेखोला गाउँपलिका–८ लेखानीका बालकृष्ण पुन र पुष्पा राई विवाह दर्ताको लागि वैशाख १५ गते वडा कार्यालय पुगेका थिए ।
वडामा सचिव नभएकै कारण उनीहरूले वैशाख १७ गते गाउँपालिकाको कार्यालयबाट विवाह दर्ता गराएको बताए ।
वडामा सचिव नभएकै कारण जन्म, मृत्यु, बसाईसराइ जस्ता काम गर्नुपर्ने सेवाग्राहीहरूले निकै सास्ती खेप्नुपरेको छ ।
गाउँपालिकाको वडा नम्बर ३ को कार्यालयमा मात्र हाल वडा सचिव कार्यरत रहेको काठेखोला गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको ७ नम्बर वडामा हालसम्म वडा सचिव भएपनि समायोजनमा सरूवा भइ जाने तरखरमा भएको गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले बताए ।
वडा सचिवहरू कर्मचारी समायोजन अन्तर्गत सरूवा भएर गएको तर गाउँपालिकामा नयाँ वडा सचिवहरू नआएको गाउँपालिकाका अध्यक्ष थापाको भनाई छ ।
वडा कार्यालयमा सचिव नहुँदा समान्य सिफारिस लगायतका कामकाज गर्न समेत निकै असहज भएको अध्यक्ष थापा बताउँछन् ।
गाउँपालिकाको वडा कार्यालयद्वारा हुने पञ्जीकरण, जन्म, मृत्यु, बसाईसराई, विवाह जस्ता व्यक्तिगत घटना दर्ता लगायतका काम गर्न निकै असहज भएको वडा नम्बर ५ का अध्यक्ष कँडेल बताउँछन् ।
‘गाउँगाउँमा स्थानीय तहले जनताको सेवा दिनुपर्ने भएपनि आवश्यक कर्मचारीको अभावमा सेवा दिन सकिएको छैन ।’–कँडेलले भने–‘जानेको काम आफैँ गरेका छौँ । नजानेको काम गाउँपालिकामा सिफारिस गर्दै आएका छौँ ।’
गाउँपालिकाको वडा कार्यालयद्वारा हुने पञ्जीकरण, जन्म, मृत्यु, बसाईसराई, विवाह जस्ता व्यक्तिगत घटना दर्ता लगायतका काम गर्न निकै असहज भएको वडा नम्बर ५ का अध्यक्ष कँडेल बताउँछन् ।
वडा सचिवविहीन जस्तै बनेको गाउँपालिकामा योजनाका काम समेत प्रभावित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्कर्माले बताए ।
समायोजनपछि गाउँपालिकामा आउनुपर्ने कर्मचारीहरू आउन ढिलाई गरेका कारण थप समस्या भएको बताए ।
‘असारे विकासलाई निरूत्साहित गर्नका लागि अगाडि बढेका छौँ । वडा सचिव नहुँदा सबै जिम्मेवारी वडा अध्यक्षलाई थपिएको छ ।’–विश्वकर्माले भने–‘जनतालाई वडा कार्यालयमा सम्भव नभएको सेवा गाउँपालिकाबाटै भएपनि प्रदान गरिरहेका छौँ ।’
वडा सचिव ल्याउन गाउँपालिकाले पटकपटक प्रयास गरेपनि हाल सम्म सुनुवाइ नभएको अध्यक्ष थापाले बताए ।
गाउँपलिकामा कर्मचारी अभाव भएको कारणले कार्यसम्पादनमा असहज भएको भन्दै सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको र फोनबाट समेत पटक पटक जानकारी गराएको भएपनि हालसम्म सुनुवाई नभएको गाउँपालिका अध्यक्ष थापाले बताए ।
वडा सचिव नभएको समयमा नयाँ सेवाग्राही नआएको र पुराना सेवाग्राहीहरूको भत्ता बैंकमार्फत् भत्ता वितरण हुने हुँदा समस्या नभएको गाउँपालिकाले जनाएको छ ।


सिर्जना पन्त