वडा कार्यालयमा नखुल्दा सेवाग्राही मर्कामा

  ०७७ असोज ३० गते

वडा कार्यालयमा ६ दिनदेखि लागेको तालाबन्दी नखुल्दा तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका सर्वसाधारण सेवाग्राही नागरिक मारमा परेका छन् ।

उपभोक्ता समिति गठन गर्दा अध्यक्ष पद नमिलेको भन्दै स्थानीय नेपाली काङ्ग्रेसले ०७७ असोज २५ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरी निरन्तर अवरोध सिर्जना गरेपछि वडाद्वारा प्रदान हुने सपूर्ण सेवाहरू ठप्प भएका छन् ।

वडा मार्फत प्रवाह हुन नागरिकता लगायतका अन्य सिफारिसहरू, सामाजिक सुरक्षा भत्ता वितरण, उपभोक्ता समिति गठन र सम्झौताका लागि गरिने सिफारिस लगायत कार्यहरू बन्द भएपछि सेवाग्राहीहरू मारमा परेका हुन् ।

दशैं, तिहार लगायतका चाडबाडका बेला एकल महिला, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।

आफू एक हप्तादेखि वडा कार्यालय धाए पनि नागरिकताको सिफारिस प्राप्त गर्न नसकेको स्थानीय हेम श्रेष्ठले गुनासो गर्नु भयो ।

यसैगरी सामाजिक सुरक्षा भत्ता लिनका लागि पटक÷पटक वडा कार्यालय धाए पनि कार्यालयमा अवरोध कायम रहेकोले भत्ता पाउन नसकेको स्थानीय मेघराज पोखरेलले बताएउनु भयो ।

गाउँपालिका मार्फत चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबाट वडा मार्फत सञ्चालन हुने विकास निर्माणका आयोजना कार्यन्वयनका लागि वडा अध्यक्षले आफू अनुकूल समिति गठन गरेको र सर्वदलीय ढङ्गले समिति गठन नगरेको भन्दै स्थानीय नेपाली काङ्ग्रेसले वडा कार्यालयमा अवरोध गर्दै आएको छ ।

समस्या समाधानका लागि आफूले प्रयास जारी रोखेको बताउनु हुँदै दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले दुवै पक्षलाई राखेर वार्तामार्फत् समस्या समाधानको प्रयास भइरहेको बताउनु भयो ।


उद्धव पोखरेल