वडा कार्यालयमा तीन महिनादेखि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

  ०७५ माघ १० गते

दोर्दी गाउँपालिका–९ स्थित वडा कार्यलयमा तीन महिनादेखि सचिव नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालयमा विगत एकवर्ष देखि गोबिन्दबहादुर राउतले काम गर्दै आइरहेकोमा उनको सरूवा भएपछि सो स्थान रिक्त हुँदा समस्या भएको वडा अध्यक्ष खेमबहादुर गुरुङले वताए ।

वडा सचिव राउतले सन्तोषजनक रूपमा काम नगरेको भनी ०७५ साल कात्तिकको पहिलो हप्ता दोर्दी गाउँपालिकाको कार्यालयमा सरूवा गरिएको थियो ।

राउतको सरूवा भएपछि उनको स्थानमा अर्को कर्मचारीको नियुक्ति नहुनाले जन्म, मृत्यु र बसाइसराई जस्ता नियमित कामका लागि आउने सेवाग्राहीको काम प्रभावित भएको छ ।

कार्यालयमा भेटिएका सेवाग्राही कमल गुरुङ आपूm नागरिकतासम्बन्धी काम लिएर आएको भएपनि वडा सचिव नहुँदा काम हुन नसकेको गुनासो गर्छन् ।

राउतले सन्तोषजनक काम नगरेको भन्ने सेवाग्राहीको गुनासोपछि वडामा अर्को कर्मचारी माग गरी राउतलाई सरूवा गरिएको वडाअध्यक्ष गुरुङको भनाई छ ।

राउतको सरूवा भएपछि कार्यलयमा दोर्दी गाउँपालिका–८ का सचिव रुकमान गुरुङलाई गाउँपालिकाले दुवैतर्फको कामकाजका लागि खटाएको थियो ।

गाउँपालिकाले कर्मचारी खटाएपनि पुराना वडा सचिव राउतले आफ्नो कार्यकालको हिसाबकिताब नबुझाएका कारण आपूmले वडा नम्बर ९ को जिम्मेवारी नलिएको रुकमानको भनाई छ ।

अध्यक्ष खेमबहादुर गुरुङका अनुसार दसैँताका सामाजिक सुरक्षा भत्ता र दलित पोषण भत्ता बापतको १९ लाख रुपियाँ मध्ये रकम बाँडेर बाँकी रहेको १ लाख १२ हजारको हिसाब पनि पुराना वडा सचिव गोविन्द बहादुर राउतले हिसाब नबुझाएको हुँदा समस्या भएको छ ।

गाउँपालिकाको अध्यक्ष ओमबहादुर गुरुङले सामाजिक सुरक्षा भत्ताको रकममा अनियमितता भएको भन्ने जानकारी आएकोमा छानबिन गरी कारबाही गरिने प्रतिबद्धता ब्यक्त गरे ।

छानबिनपछि केही समयका लागि वडा नम्बर ८ का वडा सचिव रुकमान गुरुङले ८ र ९ नम्बर दुवै वडाको कामकाज हेर्ने र छिटै नयाँ वडा सचिवको व्यवस्था गरिने गाउँपालिका अध्यक्ष गुरुङले बताए ।


दलबहादुर मजाकोटी