वडा कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा सेवाग्राही प्रभावित

  ०७६ साउन २८ गते

खत्याड गाउँपालिका-३ मा रहेको वडा कार्यालय स्थापना गर्ने विषयमा भएको विवादपछि गरिएको तालाबन्दी एक महिनासम्म नखुल्दा सेवाग्राहीलाई वडा कार्यालयबाट प्राप्त हुने सेवा लिन समस्या भएको छ ।

वडा कार्यालय कायम गर्ने विषयमा असार २८ गतेको गाउँपालिकाको पाँचौ गाउँपरिषद्को बहुमतको निर्णयले हाल सञ्चालनमा रहेको रानाकोट स्थानलाई कायम गर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले असार २९ गतेबाट तालाबन्दी गरेका थिए ।

खत्याड गाउँपालिकाको पाँचौ गाउँसभाको बहुमतको निर्णयले हाल सञ्चालनमा रहेको रानाकोट भन्ने स्थानमा वडा केन्द्र कायम गर्ने निर्णय गरेको थियो ।

वडा सतितिले भने सोही वडाको रोलगाउँमा रहेको भाडटुकुरी भन्ने स्थानमा वडा कार्यालय राख्ने निर्णय खत्याड गाउँपालिकाको पाचौँ गाउँ परिषद्लाई सिफारिस गरेको थियो ।

गाउँपालिकाले वडा समितिको निर्णयलाई उल्ट्याइ हाल सञ्चालनमा रहेको स्थानलाई कायम गरेको भन्दै वडा नम्बर ३ रोलगाउँका स्थानीयले सोको गर्दा गाउँपालिकाको परिषद् भइरहेकै स्थानमा दुई पक्ष बिच झडप समेत भएको थियो ।

झडपमा खत्याड गाउँपालिका-७ बस्ने गाउँ कार्यपालिका सदस्य ३२ वर्षीया उम्मकला भियाल र सोही गाउँपालिका-४ बस्ने कार्यालय सहयोगी २८ वर्षीय गणेश थापा घाइते भएका थिए ।

वडा समितिको बहुमतको निर्णयलाई गाउँ परिषद्ले उल्ट्याएको भन्दै असार २९ गतेबाट वडा अध्यक्ष सुकेन्द्र बानियाँ तथा सदस्यहरू गोकर्ण शाही, मोती रोकाय र दलित महिला सदस्य बाँचु कामीको नेतृत्वमा रोलगाउँका केही युवाले वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

तालाबन्दी गरेको गाउँमा रहेका महिला वडा सदस्यलाई आफ्नो जिम्मेवारी नदिई अध्यक्षलगायत अन्य दुई सदस्य गोकर्ण शाही, मोति रोकाया काठमाडौँ गएकाले अध्यक्षको अनुपस्थितमा वडा कार्यालयबाट सञ्चालन गरिनुपर्ने सेवा प्रभावित भएपछि साउन १५ गतेबाट खर्क, बरातु गाउँका स्थानियबासीले पनि तालाबन्दी गरेको स्थानीय डिलबहादुर बानियाँले बताए ।

वडा अध्यक्ष सुकेन्द्र बानियाँले भने गाउँपालिकाको हस्तक्षेपका विरूद्ध कानुनी परामर्शका लागि आफुहरू काठमाडौँ गएको प्रतिक्रिया दिएका छन् ।

आफूले कार्यवाहक जिम्मेवारी नदिई जाँदा सेवाग्राही मर्कामा परेको स्वीकार्दै बानियाँले दुईतीन दिनभित्रै वडा सदस्य बाँचु कामीलाई कार्यवाहकको जिम्मेवारी दिने जानकारी दिए ।

गाउँपरिषदको बहमुतको निर्णयले वडा नम्बर ३ का सबै बासिन्दालाई पायक पर्ने स्थानमा वडा कार्यालय कायम गरेको तर वडा अध्यक्षको गैरजिम्मेवारीले गर्दा एक महिनासम्म वडा कार्यालय बन्द भएको खत्याड गाउँपालिकाकी उपाध्यक्ष जयनन्दा रावलले बताइन् ।

दुवै पक्षलाई सहमतिमा आएर वडा कार्यालयमा लगाएको तालाबन्दी खुलाएर दैनिक कार्य सञ्चालन गर्न अनुरोध गरेको उपाध्यक्ष रावलले जानकारी दिइन् ।


जीवन सेजुवाल