वडा कार्यालयद्वारा बहुविवाहलाई विवाह–दर्ता !

  ०७६ मङ्सिर २६ गते

घरदैलोमा सेवा प्रभावकारिता बढाउन स्थानीय सरकार रहेपनि कार्यान्वयन गर्ने निकायको लापरवाहीले कतिपय अवस्थामा सेवाग्राहीले सास्ती पाइरहेका छन् ।

महाबु गाउँपालिका–५ काँशीकाँधकी २४ वर्षीया भावना थापामगरले पनि सास्ती भोग्नुपरेको बताउनुभएको छ ।

०६९ असोज ९ गते महेन्द्रबहादुर बुढासँग प्रेमविवाह गर्नुभएकी भावनाले ०७० मङ्सिर ४ गते छोरी वर्षा बुढाले जन्म दिनुभयो ।

छोरी जन्मेको सात महिनामा पति महेन्द्र मलेसिया जानुभएको भावनाको भनाइ छ । मलेसिया बसुञ्जेल पतिसँग राम्रै कुराकानी हुने गरेको भएपनि ०७३ असारदेखि पतिसँग कुराकानी हुन छाडेको भावनाले बताउनुभयो ।

भावनाका अनुसार कुराकानी हुन छाडेपछि पति महेन्द्र तीन महिनापछि काठमाडौँ आएर उतै रोकिनुभएको थियो ।

महेन्द्रकै सल्लाहमा घरमा सासू दुर्गा बुढा र ससुरा मयालाल बुढाले बस्न नदिएपछि छोरी सहित महाबु गाउँपालिका–६ एकपाटेस्थित माइतीमा बस्दै आएको भावनाको भनाइ छ ।

पति काठमाडौँमा बसिरहेको थाहा पाएपछि मोबाइल नम्बर पत्ता लगाएर ‘नबरालिनुस्, घरमा आउनुस्, विवाहदर्ता गराउनुप¥यो अनि यतै पनि व्यापार व्यवसाय गरौँला’ भनेर आग्रह गर्दा पनि पति नआएको भावनाले बताउनुभयो ।
पति घर नआएपछि भावनाले ससुराको सहयोगमा ०७१ चैत २४ गते छोरीको जन्मदर्ता गराएको बताउनुभयो ।

जन्मदर्ता भएपनि वडा कार्यालयमा पति नगएका कारण विवाह दर्ता नभएको जानकारी वडा कार्यालयले भावनालाई दिएको थियो ।

पटकपटक धाउँदा पनि वडा कार्यालयले ‘पति–पत्नीसँगै आए मात्र बन्छ’ भनेर फर्काए पनि महाबु गाउँपालिका–५ को वडा कार्यालयले महेन्द्रले दोस्रो विवाह गरेको विवाह–दर्ता चाँहि सजिलै गरिदिएको अहिले खुलेको छ ।

महेन्द्रले दोश्रो विवाह गरेको र विवाह–दर्ता समेत गराएको भन्ने गाउँघरबाटै हालसालै जानकारी पाएपछि वडा कार्यालयको पञ्जिकरण अभिलेख हेर्दा पुष्टी भएको भावनाले बताउनुभयो ।

सिन्धुलीको कमलामाई नपा–१२ की २६ वर्षीया इन्द्रकुमारी बस्नेतसँग विसं ०७४ जेठ २० गते विवाह गरेको भन्दै पति महेन्द्रले ०७५ पुस ३० गते दर्ता नम्बर १३ मा विवाह–दर्ता गरेको पाइएको भावनाको भनाइ छ ।

महाबु गाउँपालिकाका पञ्जिकाधिकारी गोविन्दबहादुर थापाले जेठी पत्नी छिन् भन्ने थाहा पाउँदा पाउँदै कान्छीको विवाह–दर्ता गराउनु गलत कार्य भएको र दोषीले कानुन बमोजिम सजाय पाउनुपर्ने बताउनुभयो ।

मुलुकी अपराध संहिता २०७४ को दफा १७५ ले विवाहित पुरूषले अर्को विवाह गर्न नपाइने उल्लेख गर्दै र कुनै विवाहित पुरूषसँग बहुविवाह गरेमा दोश्रो पत्नी हुन आउने महिला समेत दुवै जनालाई बहुविवाह कसूरमा एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपियाँसम्म जरिवाना हुने र उनीहरूको विवाहले मान्यता नपाउने कानुनी व्यवस्था छ ।

कानुनको यो जानकारी हुँदाहुँदै वडा कार्यालयले बहुविवाह गरेका जोडीको विवाहदर्ता गरिदिँदा आफू अन्यायमा परेको पीडित भावनाले गुनासो गर्नुभयो ।


अमर सुनार