वडा कार्यालयद्वारा प्रदान गरिने सेवा बन्द हुँदा सेवाग्राही समस्यमा

  ०७६ असार २ गते

उपभोक्ता समिति गठनमा विवाद हुँदा तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित वडा कार्यालयद्वारा प्रदान गरिने सेवाबाट  स्थानीय वञ्चित भएका छन् ।

आठ दिनदेखि वाडा कार्यालयबाट पाउने सेवा सुविधा नपाएपछि स्थानीयहरू समस्यामा परेका हुन् । वडा समिति र गाउँपालिका उपाध्यक्ष अमृता बुढाबीच उपभोक्ता समिति गठन गर्ने सम्बन्धमा विवाद हुँदा वडा तहबाट प्रदान गरिने सबै सेवाहरू पूर्णरूपमा बन्द भएको वडा अध्यक्ष पदम बिसीले बताए ।

वडाबाट सम्पन्न हुने काम नहुन थालेपछि विभिन्न सिफारिस, पञ्जिकरणका काम, योजनाका सिफारिस लगायतका कामहरू रोकिएको र आर्थिक वर्षको अन्तिम महिनामा सम्पन्न गर्नु पर्ने योजनामा समेत समस्या उत्पन्न भएको स्थानीय डम्बर बिसीले बताए ।

सानो चिउरीखाँद सडकमर्मत उपभोक्ता समितिमा विवाद हुँदा जेठ २६ गते वडाको काम गर्न छाडेका वडाध्यक्ष सहित सदस्यले वडाको जिम्मा गाउँपालिका उपाध्यक्षलाई दिएपछि समस्या उत्पन्न भएको बताइएको छ ।

जेठ २१ मा वडामा गठन भएको उपभोक्ता समिति अस्विकार गरेर उपाध्यक्ष बुढाले जेठ २५ मा अर्को उपभोक्ता समिति गठन गरेका कारण यस्तो समस्या उत्पन्न भएको स्थानीइको भनाई छ ।

‘जनताको काम रोकिएको छ । छलफल हुनुपर्ने हो । अहिलेसम्म केही कुरा भएको छैन ।’–वडा अध्यक्ष बिसीले भने ।  वडाकै कारण योजनामा राजनीतिकरण तथा लेनदेन हुन गएकोले आफूले हस्तक्षप गर्नु परेको उपाध्यक्ष बुढाको भनाई छ ।


शिवराज ढुङ्गाना