वडा अध्यक्ष पदका लागि तीन राजनितिक दलको मनोनयन

  ०७६ कात्तिक २७ गते

स्थानीय तहका रिक्त पदमा मङ्सिर १४ गते हुने उपनिर्वाचनको लागि कात्तिक २७ गते मनोनयन दर्ता भएको छ ।

बडिगाड गाउँपालिका–२ को वडा अध्यक्ष पदको लागि तीन राजनितिक दलले मनोनयन दर्ता गराएका हुन् ।

नेकपाको तर्फबाट ढालप्रसाद शेरचन, नेपाली कांग्रेसको तर्फबाट डिलबहादुर राना र समाजवादी पार्टीको तर्फबाट हरिलाल रानाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत धु्रब ढकालले जानकारी दिए ।

बागलुङ क्षेत्र नम्बर २(ख) मा प्रदेशसभा सदस्यको लागि राष्ट्रिय जनमोर्चालाई समर्थन गरेको नेकपालाई वडा अध्यक्ष पदको लागि जनमोर्चाको समर्थन रहेको जनाइएको छ ।

मनोनयन दर्ताको लागि र्‍याली सहित निर्वाचन अधिकृतको कार्यालय पुगेका दलका नेता कार्यकर्ताले उम्मेदवारी दर्ता गराएका हुन् ।

बडिगाड गाउँपालिका–२ मा निर्वाचित अध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि खाली भएको वडा अध्यक्ष पदको लागि हुन लागेको उपनिर्वाचनमा वडाका ७ हजार ४२ जना मतदाता मतदानमा सहभागि हुने निर्वाचन अधिकृत ढकालले जानकारी दिए ।


सिर्जना पन्त