वडा अध्यक्ष कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७७ साउन १४ गते

हरिपुर्वा नगरपालिका–३ स्थित धनकौल पुर्वीका वडाध्यक्ष ३६ वर्षीय धर्मराज सिंह कुशवाहामाथि साउन ९ गते कुटपिट गरेको आरोपमा हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४६ वर्षीय सकलदेव राय सहित ४३ वर्षीय कपिलदेव राय, ३८ वर्षीय लालबाबु राय यादव र २८ वर्षीय शैलेन्द्र राय यादवलाई जिल्ला प्रहरी कार्यलय सर्लाहीले साउन १२ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारले साउन १२ गते प्रमुख प्रशासकीय अधिकृत यादवसहित अन्य तीन जना विरूद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने धम्कि दिएको र कुटपिट गरेको आरोपमा उजुरी दिएपछि आरोपितहरूलाई सोही गिरफ्तार गरेर सर्लाही जिल्ला अदालत मलंगवाबाट सात दिनको म्याद थप गराएको जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाका डिएसपी मदन कुवँरले बताउनु भएको छ ।

घटनामा संलग्न प्रमुख प्रशासकीय अधिकृत यादवका भतिजा २८ वर्षीय शैलेन्द्र राय यादव फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट वडाअध्यक्ष महतोको हात र छाती लगायत शरीरका विभिन्न भागमा चोट लागेको वडाध्यक्ष महतोका भाई २६ वर्षीय बिरबहादुर महतोले बताउनु भयो ।

कुटपिटमा संलग्न कपिलदेव र लालबाबु रायलाई घटना कै दिनमा गिरफ्तार गरेको र प्रमुख प्रशासकीय अधिकृत यादवलाई साउन १२ गते गिरफ्तार गरेर मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो ।

केही दिन पहिले गाउँमा लागेको धार्मिक मेला घुम्ने क्रममा वडाध्यक्ष महतोको नजिककी एक नातेदार युवतीलाई प्रमुख प्रशासकीय अधिकृत राय नजिकका केही युवाहरूले जिस्काएको निहुँमा उनीहरू बीच विवाद हुँदै आएको हरिपुर्वा नपा–३ धनकौलका स्थानीय ४३ वर्षीय रामकिशोर राय यादवले बताउनु भयो ।

कुटपिट घटनाका आरोपित प्रशासकीय अधिकृत रायलाई कानुन अनुसार हदैसम्मको कारवाही नभए जिल्लामा आन्दोलन गर्ने चेतावनी दिँदै घटनाको घोर भत्सर्ना गरेको नेकपाका जिल्ला कमिटी सदस्य जितेन्द्र कुशवाहाले बताउनु भयो ।

वडाध्यक्ष महतोको उपचार जिल्ला अस्पताल मलंगवामा साउन ९ गते गरी थप उपचारका लागि सोही दिन ललितपुरको धापाखेलस्थित सुमेरू अस्पतालमा लगिएको वडाध्यक्ष महतोका भाई बिरबहादुरले बताउनु भयो ।


बुधन साह