वडा अध्यक्षद्वारा सव इञ्जिनियरमाथि कुटपिट

  ०७६ असार १० गते

वझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ घर भएका सुनापती गाउँपालिका–२ का सवओभरसियर २६ वर्षीय हिमाल खड्कालाई असार ८ गते सोही वडाका वडा अध्यक्ष कमल केसीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई भवन तर्फका असिष्टेण्ट सवइञ्जिनियरको रूपमा विगत तीन वर्षदेखि काम गर्दै आएका खड्कामाथि वडा अध्यक्ष केसीले असार ८ गते साँझ होटलमा खाना खाइरहेको बेला वडा कार्यालयको लेटरप्याडको दुरूपयोग गरी पुनर्निर्माणको सूचना जारी गरेको भन्दै कुटपिट गरेका हुन् ।

घटनापछि राष्ट्रिय पुननिर्माण प्राधिकरण प्रविधिक सञ्जाल रामेछापद्वारा असार ८ गते रामेछापका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पत्र बुझाउँदै दोषीमाथि कानुनी कारवाहीको मागसहित विज्ञप्ति जारी गरिएको छ ।

सञ्जालका संयोजक अरविन्दकुमार महतोद्वारा जारी विज्ञप्तिमा प्रशासनले दोषीलाई सात दिनभित्र कारवाही नगरे रामेछाप जिल्लाका सबै स्थानीय निकायको पुनर्निर्माणका कामाकाज ठप्प पार्ने चेतावनी उल्लेख गरिएको छ ।

कुटपिटबाट दुवै गालामा निलडाम भइ घाइते भएका खड्काकोे उपचार असार ९ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा उपचार गरिएको स्वास्थ्य केन्द्रले जनायो ।


नवराज पथिक