वडा अध्यक्षको सक्रियतामा मानव अधिकार निगरानी समूह गठन

  ०७५ चैत २१ गते

अन्नपूर्ण गाउँपालिका–१ मा वडास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्र्तगत इन्सेकले साविकको ढिकुरपोखरी र लुम्ले गाविसमा गाउँ विकास समिति स्तरीय मानव अधिकार निगरानी समूह गठन गरेको थियो ।

हाल निगरानी समूह नभएको वडामा समेत आवश्यकता महसुस गरी गाउँपालिकाका वडाअध्यक्ष कै सक्रियतामा वडास्तरीय निगरानी समूह गठन गरिएका वडा अध्यक्ष भरतजंग कुँवरले बताए ।

यसअघि चैत ८ गते ढिकुरपोखरीमा गरिएको मानव अधिकार निगरानी समूहको वैठकमा वडाअध्यक्ष कुँवरले वडास्तरमा पनि निगरानी समूह गठन गर्नुपर्ने र सोको लागि इन्सेकसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।

वडा नम्बर १ मा चैत २० गते गठित समूहको अध्यक्षमा नरबहादुर बिक रहेका छन् । समितिको सचिवमा सन्तोषी सुवेदी, कोषाध्यक्षमा प्रतिक्षा कुँवर, सदस्यहरूमा सुमित्रा परियार, रामबहादुर जिसी, देवु दाहाल, दिलमाया दाहाल, लक्ष्मी सुवेदी र खिम बहादुर नेपाली रहेका छन् । निगरानी समूह गठनपछि स्थानीय सरकारले गर्ने कामहरूमा खबरदारीसँगै सहकार्य हुने अपेक्षा रहेको वडाअध्यक्ष कुवँरले बताए ।


सुशन घिमिरे