वडा अध्यक्षको नेतृत्वमा इट्टाभट्टामा आक्रमण भएको आरोप, सवारीसाधनमा तोडफोड

  ०७६ चैत ४ गते

रौतहटको गरुडा नपा—६ दुधियाभार चौकमा रहेको दाईभाई इट्टा उद्योगमा ०७६ चैत २ गते सो वडाका वडा अध्यक्ष ४० वर्षीय अशोक यादवसहितको समुहले आक्रमण गरेको इट्टा उद्योगका सञ्चालक ३५ वर्षीय रामबाबु चौधरीले आरोप लगाउनु भएको छ । उक्त आक्रमणमा आठ जना घाइते भएका छन् ।

वडा अध्यक्ष यादवको अगुवाईमा सयौंको सङ्ख्यामा गएका मानिसहरूले सो इट्टा उद्योगमा आक्रमण गरेको इट्टा उद्योग सञ्चालक ३५ वर्षीय रामबाबु चौधरीको भनाइ छ । बाँस, लाठी, घरेलु हातहतियार सहित गएका मानिसहरूले आफ्नो इट्टा उद्योगमा आक्रमण गरेका सञ्चालक चौधरीले बताउनु भयो ।

सञ्चालक चौधरीका अनुसार वडा अध्यक्ष यादवले वडा कार्यालयमा रहेको काठ हिनामिना गरेकोबारे आफुले अख्तियारमा मुद्दा गरेको कारण सो कुराको रिसमा यो घटना घटाएको बताउँदै दोषी उपर कडा कारवाहीको माग गर्नु भयो । उहाँले आक्रमणबाट ७० लाख रुपियाँ भन्दा बढिको क्षति भएको दाबी गर्नु भएको छ ।

आक्रमणमा परी चौधरीका भाई मुखेश कुमार चौधरीलाई गरुडामा चैत २ गते सामान्य उपचार पछि थप उपचारको लागि एम्बुलेन्समा सोही दिन काठमाण्डौं पठाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले बताउनुु भयो ।

आक्रमणकारीहरूले इट्टाभट्टामा रहेको एक थान जेसीबि, एक थान टिपर, दुई थान ट्रयाक्टर र तीन थान मोटरसाइकलमा तोडफोड गरेका छन् ।

घटना लगत्तै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले ०७६ चैत १ गते साँझ गरुडा नगरपालिका पोठियाहीमा वडा अध्यक्ष अशोक यादवको समुह र वडाका प्रत्यासी इट्टाभट्टा सञ्चालक रामबाबु चौधरीको समूह बिच भनाभन हुँदा ढुङ्गा मुढा समेत भएको र सो को रिसमा आजको आक्रमण भएको हुनसक्ने बताउनुभयो । एसपी खड्काले हालसम्म कसै विरुद्ध उजुरी नपरेको र प्रहरीले अनुसन्धान सुरु गरेको बताउनु हुँदै थप घटना हुन नदिन आफुहरू सजक रहेको बताउनुभयो ।

यस सन्दर्भमा वडा अध्यक्ष अशोक यादवसँग प्रतिक्रिया लिँदा उहाँले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै चौधरीले चुनावमा आफुसँग पराजित भएको रिस फेर्न आफुलाई फसाउन लागेको आरोप लगाउनुभयो ।


कोपिला तिमल्सिना