वडासचिव नहुँदा सेवाग्राहीलाई सास्ती

  ०७६ साउन २८ गते

त्रिपुरासुन्दरी नपा–६ की लक्ष्मीकुमारी झाँक्री साउन २७ गते ४ घण्टाको पैदल हिँडेर नागरिकता बनाउनका लागि सिफारिस लिन नगरको केन्द्र त्रिपुराकोटमा पुगिन् तर वडा सचिवलाई कार्यालयमा भेटिनन् ।

गाउँ नजिकै श्रीविण्डेमा रहेको वडा कार्यालयमा सचिव नहुने गरेकाले उनी नागरिकता बनाउनको लागि सिफारिस लिन नगर केन्द्रमा पुगेकी थिइन् । नगर केन्द्रमा पनि सचिव नभेटेपछि सिफारिस नलिई घर फर्कनु परेको उनले बताइन् ।

लक्ष्मीकुमारी झाँक्री जस्ता धेरै सेवाग्राहीले वडासचिव नहुँदा समयमा सेवा पाउन सकेको छैनन् । ११ ओटा वडा रहेको यस नगरपालिकामा अहिले वडा नम्बर १, त्रिपुराकोटमा मात्र वडा सचिव कार्यरत छन् ।

त्रिपुराकोटस्थित वडा नम्बर १ मा रहेको कार्यालयका सचिव दिलिप चन्द पनि सरूवा भएर रुकुम पश्चिममा गएकाले समस्या हुने गरेको वडाअध्यक्ष कर्मसिंह थापाले बताए ।

सचिव सरूवा नहुन्जेल सबै वडाको कामकाज उनैले चलाउने भए पनि साउनको दोस्रो हप्ता सरूवा भएर रुकुम पश्चिमतर्फ लागेकाले समस्या परेको थापाले बताए ।

वडा सचिवहरूको पदस्थापना नहुँदा नगरपालिकाबाट सर्वसाधारणलाई प्रदान गरिने सेवा पाँच महिनादेखि प्रभावित भएको छ ।

सरकारले कर्मचारी समायोजन गरेसँगै कर्मचारीहरू पनि आफूले रोजेको स्थानमा गएको र नयाँ कर्मचारी नआइसकेकोले काममा बाधा परिरहेको त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत हिराचन्द्र धरलाले बताए ।

वडासचिव नहुँदा नागरिकता सिफारिस, जग्गा कित्ताकाटको सिफारिस, योजना लगायतका विविध कामको सिफारिसमा समस्या आउने गरेको सेवाग्राही बताउँछन् ।

नगरपालिकाको कार्यालयमा कार्यरत नायब सुब्बा चन्द्रप्रसाद बुडथापा र पशु ज्ञान केन्द्र अन्र्तगतका धनबहादुर महत पनि साउनको २६ गतेबाट सरूवा भई गएकाले कार्यालयमा आफूले नै सबै काम गर्दै आएको निमित्त कार्यकारी धरलाले बताए ।

कार्यालयमा भएको कर्मचारी अभाव र जनतालाई परेको असुविधाका बारेमा प्रदेश तथा सङ्घीय सरकारलाई परिपत्र गरिसकेको भएपनि नयाँ कर्मचारी नआएको धरलाको भनाई छ ।


विष्णुप्रसाद देवकोटा