वडासचिव गाउँमा बस्न नमान्दा बुलिङटार गाउँपालिका सचिवविहीन

  ०७५ माघ १० गते

भौगोलिक विकट भएको भन्दै वडासचिव वडामा बस्न नमानेपछि जिल्लाको बुलिङटार गाउ“पालिका एक वर्षदेखि वडा सचिवविहीन बनेको छ ।

६ ओटा वडा रहेको गाउँपालिकामा विगत एक वर्षदेखि वडा सचिव छैनन् । जसको कारण वडाबाट सम्पादन हुने कामको लागि गाउँपालिकाको कार्यालय पुग्नुपर्ने बाध्यता रहेको सेवाग्राही गुनासो गर्छन् ।

वडा सचिवको अभावमा वडा तहबाट हुने पञ्जीकरण फारम भर्ने लगायत कामका लागि स्वास्थ्यका कर्मचारीसँग सहयोग मागेर काम गर्नु परेको गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीले बताए । ‘केही काम स्वस्थ्यका कर्मचारीको सहयोगमा गर्दै आएका छौँ ।’–अध्यक्ष बस्तोकाटीले भने–‘नियमित रूपमा कार्यालयमा बस्ने वडा सचिव भए जस्तो काम हुँदैन । यसले समस्या सिर्जना भएको छ ।’

वडामा सचिव नहुँदा स्थानीयलाई समस्या भएको आफूले महसुस गरे पनि वडा सचिवको व्यवस्थापन हुन नसक्दा समस्या भइरहने अध्यक्ष बस्ताकोटीले बताए ।

वडा सचिवको व्यवस्थापनका लागि जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत निकायसँग जानकारी गराउनुका साथै पटकपटक आग्रह गर्दा पनि कर्मचारीको व्यवस्थापन हुन नसकेको उनले बताए ।

गाउँपालिका पहाडी क्षेत्रमा भएकाले कर्मचारी कामका लागि आउन नखोज्ने र सम्बन्धित निकायले समेत गम्भिरतापूर्वक नलिँदा ६ ओटै वडा कार्यालयका सेवाग्राहीलाई समस्या सिर्जना भएको अध्यक्ष बस्ताकोटीको भनाई छ ।


तिर्थराज डुम्रे