वडामा स्वास्थ्य चौकी नहुँदा आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित

  ०७६ साउन ७ गते

जिल्लाभरका ७२ ओटा वडा मध्ये २२ ओटा वडामा स्वास्थ्य चौकी नहुँदा वडाबासीहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।

स्वास्थ्य चौकी नहुँदा २२ ओटा वडाका नागरिकहरू आधारभूत स्वास्थ्य सेवा लिनका लागि घण्टौँ हिँडेर अर्को ठाँउमा सेवा लिन बाध्य छन् ।

सङ्घीयता कार्यान्वयनमा आएपछि घर–आँगनमै शिक्षा, स्वास्थ्यलगायतका सेवा उपलब्ध हुने भनिए पनि जिल्लाका ती वडाका नागरिक आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित हुँदै आएका छन् ।

राज्य पुनर्संरचना गर्दा साविकका ४९ गाविस र नगरपालिकालाई समायोजन गरेर ७२ वडा कायम गरिएको थियो ।

स्थानीय तह कार्यान्वयनमा आए पनि साविक ४९ गाविसमा मात्रै स्वास्थ्य संस्था कायम छन् । वडामा स्वास्थ्य चौकी नहुँदा सामान्य प्राथमिक स्वास्थ्य सेवाका लागि पनि ५ घण्टा हिँडेर होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा जानुपर्ने बाध्यता रहेको रून्टीगढी गाउँपालिका–१ ओबाङका ४३ वर्षीय बुद्धिलाल वलीले  गुनासो गरे ।

एउटा मात्र वडाका समस्या नभएर २२ ओटा वडाका सेवाग्राहीहरू २ देखि ५ घण्टासम्म हिँडेर सेवा लिन अर्को ठाँउमा जानु पर्ने अवस्था रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका मेडिकल सुपरिटेण्डेण्ट डा. सुशील आचार्यले कायम भएका नयाँ २२ वडामा स्वास्थ्यचौकी सञ्चालन हुन नसकेको बताए ।

‘स्थानीय सरकारको इच्छा शक्ति भए स्वास्थ्य संस्था नभएका सबै वडामा तत्कालका लागि सामुदायिक स्वास्थ्य क्लिनिक स्थापना गरेरै भए पनि सेवा दिन सकिन्छ ।’–डा. आचार्यले भने ।


माधवकुमार ओली