वडाध्यक्ष र व्यवस्थापन समिति अध्यक्षबीचको विवादका कारण शैक्षिक वातावरण धुमिल

   ०७६ फागुन १६

नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था छ । प्रत्येक बालबालिकालाई शिक्षाको पहुँच हुने र शान्त वातावरणमा शिक्षा पाउनु प्रत्येक बालबालिकाको मौलिक हक भनेर ब्याख्या गरिएको छ ।

त्यसैगरी नेपाल सरकारले ०६८ जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्रका रूपमा घोषणा गरेको छ । विद्यालय शान्ति क्षेत्रले मुल रूपमा विद्यालयभित्र हिंसा,द्वन्द्व र राजनीतिक विषयलाई वर्जित गरेको छ ।

त्यस्तै बालबालिका ऐन २०७५ मा प्रत्येक बालबालिकाले उपयुक्त सामाग्री तथा शिक्षण विधि मार्फत शिक्षा पाउने अधिकारलाई उल्लेख छ । तसर्थ बालबालिकाले भयरहित वातावरणमा शिक्षा पाउनु उनीहरू मौलिक अधिकार हो ।

तर दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा नेपाल सरकारले परिकल्पना गरेको जस्तो शैक्षिक वातावरण छैन ।

वडाध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबीच मतभेद चर्किएपछि पठनपाठनमा प्रत्यक्ष प्रभाव परेको छ । वडाध्यक्ष लिला चौहान र व्यवस्थापन समिति अध्यक्ष जयप्रकाश राईबीचको विवादका कारण अभिभावकहरू समेत दुई पक्षमा विभाजित बन्न पुगेपछि विद्यालयको शैक्षिक वातावरण बिग्रिएको छ ।

हाल वडाध्यक्ष चौहान व्यवस्थापन समितिसँग असन्तुष्ट अभिभावकलाई प्रयोग गरेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईलाई पदबाट हटाउने र आफु अनूकुलको व्यवस्थापन समिति बनाउने प्रयासमा लागेको सोही विद्यालयका शिक्षक पेशल राईले बताउनुभयो । शिक्षक राईका अनुसार अझै डेढ वर्ष कार्यअवधि रहेको व्यवस्थापन समितिका अध्यक्ष राई पनि वडाध्यक्षसँग भिडेर आफ्नो कार्यकाल पूर्ण रूपमा बिताउने प्रयासमा देखिएका छन् ।

गत मङ्सिर वडा कार्यालयले व्यवस्थापन समिति खारेजीको माग गर्दै नगरपालिकामा पत्र पठाएपछि विवादले रूप लिएको छ । वडाध्यक्षले व्यवस्थापन समिति खारेजीको माग गर्दै नगरपालिकामा पत्राचार गरेपछि ०७६ पुस ७ गते नगर शिक्षा शाखाको टोली विद्यालयमा पुगेको थियो तर टोलीको प्रतिवेदन फागुनको दोस्रो सातासम्म सार्वजनिक गरिएको छैन ।

०७६ पुस २० गते व्यवस्थापन समितिका अध्यक्षसँग असन्तुष्ट पक्षका अभिभावकहरूले विद्यालयमा ताला लगाएका थिए । पुस २३ गते विद्यालय व्यवस्थापन समिति बैठक बसेर तालाबन्दीको विषयमा आपत्ति जनाउँदै छानबिनका लागि नगरपालिकालाई आग्रह गर्ने निर्णय गरेको व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश राईको भनाइ छ ।

हिउँदे बिदा सुरू भएको दिन लगाइएको तालाका विषयमा वडा कार्यालयले माघ १२ बोलाएको अभिभावक भेलापछि ताला खुलाईएको थियो । सोही भेलामा व्यवस्थापन समितिले ‘अभिभावक भेला बोलाउने, नबोलाए समिति पुर्नगठन गर्ने’ निर्णय गरेको थियो । सोही निर्णयको आधारमा व्यवस्थापन समितिले माघ २३ गते बोलाएको बैठकमा समस्या समाधानका लागि ‘नगरपालिकाको निर्णय पर्खने वा तत्काल व्यवस्थापन समिति पुर्नगठन गर्ने’ प्रस्ताव गरिएकामा नगरपालिकाकै निर्णय अनुसार चल्ने शर्तमा बैठक टुङ्गिएको थियो ।

व्यवस्थापन खारेजीको मागमा विरोध र्याली

३ वर्षे कार्यकाल भएका राई नेतृत्वको व्यवस्थापन समितिको कार्य अवधि अझै ढेड वर्ष बाँकी रहँदै खारेजीको माग राखी विरोध र्याली निकालिएको छ । २०७५ साल भदौमा तेश्रो कार्यकालका लागि अन्नपूर्ण माविको व्यवस्थापन समितिको अध्यक्षमा चुनिएका राई नेतृत्वको व्यवस्थापन समिति खारेजीको माग राख्दै र्याली निकालेका हुन् ।

असन्तुष्ट अभिभावकहरूले दिक्तेलबजारको त्रिवेणी चोक हुँदै नगरपालिकाको कार्यालय अगाडी फागुन ११ गते विरोध र्याली निकालेका थिए । एसइई परीक्षामा विद्यालय निल भएको, परीक्षामा गलत प्रश्नपत्र प्रयोग गरिएको, अभिभावक भेला नबोलाइएको, आर्थिक हिनामिना भएको लगायतका आरोप अध्यक्ष राई विरूद्ध लगाइएको छ । व्यवस्थापन समिति खारेज गरी नयाँ समिति पुर्नगठनको माग गर्दै निकालिएको विरोधपछि नगरपालिका समक्ष उल्लेखित ज्ञापन–पत्र बुझाएका छन् ।

ज्ञापत्र–पत्रमा शिक्षकको तलब बढाएर विद्यालयको आर्थिक अवस्था कमजोर बनाएको, अभिभावकको गुनासोलाई नसुनी अनिर्णयको बन्दी बनाएको, विद्यालयको आर्थिक, भौतिक र शैक्षिक गतिविधिमा ध्यान दिन नसकेको लगायतका बुँदा उल्लेख छ ।

शिक्षक नियुक्तिको विषयमा विवाद

अन्नपूर्ण माविमा ०७६ मङ्सिरदेखि आधारभूत तहको दरबन्दीमा दुई, पुसदेखि आधारभूत तहको गणित विषयको एक र मावि अनुदान कोटा रिक्त छ । बाहिर जे देखिए पनि भित्र भने नयाँ शिक्षक नियुक्तिका विषयमा वडाध्यक्ष चौहान र व्यवस्थापन समितिका अध्यक्ष राईबीचमा विवाद चर्किएको स्थानीय गजेन्द्र राईले बताउनुभयो । उहाँले आफ्नो स्वार्थ पूर्तिका लागि विद्यालय जस्तो क्षेत्रमा राजनीति गर्न नहुने बताउँदै विद्यालयलाई राजनीतिको अखडा हुनबाट बचाउँन अभिभावक लाग्नुपर्ने बताउनुभयो ।


रामधन राई