वडाध्यक्षमाथि हातपात,आरोपित गिरफ्तार

  ०७७ जेठ १६ गते

अमरगढी नगरपालिका – १० का वडाध्यक्ष विष्णु भट्टमाथि जेठ १५ गते राति अमरगढी नगरपालिका–१० बुडाली निवासी घरेलु विकास कार्यालय,डडेल्धुरामा कार्यरत कर्मचारी जोगराज ऐरले हातपात गरेको आरोपमा प्रहरीले जेठ १५ गते राति नै गिरफ्तार गरेको छ ।

भारतबाट फर्किएका स्थानीयहरुलाई क्वारेन्टाइनमा राख्ने ठाउँ नभएकोले उहाँहरुलाई क्वारेन्टाइनमा राख्नका लागि व्यवस्था मिलाइरहेको अवस्थामा ऐरले आफूमाथि हातपात गरेको वडाध्यक्ष भट्टले बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘ भारतबाट फर्किएका ७२ जनाका लागि क्वारेन्टाइनको व्यवस्था गर्नु पर्ने थियो । वडास्थित विद्यालयमा बनाइएको क्वारेन्टाइनमा ७२ जनाको व्यवस्थापन सम्भव नभएपछि रेडक्रसको भवनमा क्वारेन्टाइन व्यवस्थापन गरिरहेको समयमा मदिरा सेवन गरी आएका ऐरले गालीगलौज र हातपात गर्नु भयो । ’

वडाध्यक्ष भट्टमाथि गालिगलौच र हातपात गरिएको जानकारी प्राप्त भएपछि आरोपित ऐरलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।

 


भूपेन्द्र विष्ट