वडाध्यक्षद्वारा पत्रकारमाथि आक्रमणको धम्की

  ०७६ कात्तिक ९ गते

रेखदेख साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ रुकुमका कोषाध्यक्ष ३० वर्षीय प्रवीर ददेललाई मुसिकोट नगरपालिका–१३ का वडाध्यक्ष ३७ वर्षीय दिपक केसीले कात्तिक ८ गते साँझ आक्रमणको धम्की दिएको पीडित पत्रकारले आरोप लगाएका छन् ।
समाचारको विषयमा विवाद भएपछि वडाध्यक्ष केसीले पत्रकार ददेलमाथि हातपात गर्न खोजेको पीडित पत्रकारले आरोप लगाए ।
गत वर्ष रेखदेख साप्ताहिकमा जनप्रतिनिधिहरूले भ्रष्टाचार गरेको भन्दै समाचार प्रकाशित गरेको र त्यसमा वडाध्यक्ष केसीको समेत नाम जोडिएपछि त्यतिबेला पनि वडाध्यक्ष केसीले फोनमा धम्की दिएको पत्रकार ददेलको आरोप छ ।
त्यहि विषयमा कात्तिक ८ गते खलङ्गाको शिशिर होटेलमा आफूले खाना खाइरहेको बेलामा समाचार लेख्ने हात काट्ने र जहाँ भेट्यो त्यहीँ ठीक पार्ने भन्दै आक्रमणको धम्की दिएको उनले बताए ।
वडाध्यक्षले धम्की दिएपछि आफूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको उनको भनाई छ ।
घटनापछि नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले घटनाको भत्र्सना गर्दै वडाध्यक्ष केसीलाई कारवाहीको माग गरेका छन् । पत्रकारले भयरहित वातावरणमा काम गर्ने अवस्था हुनुपर्ने सिवाकोटीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


मनिषा केसी