वडाध्यक्षको नेतृत्वमा अस्थायी प्रहरी चौकी तोडफोड

  जेठ २१ गते

मुसीकोट नगरपालिका १३ का वडाध्यक्ष ३९ वर्षीय दीपक केसी नेतृत्वको समुहले मुसीकोट नगरपालिका १४ छिवाङमा रहेको अस्थायी प्रहरी चौकी तोडफोड गरेको छ । चेकजाँचका लागि सडकमा राखिएको ढाँठ हटाउन ढिला गरेको भन्दै मोटरसाइकलमा सवार वडाध्यक्ष केसीले जेठ २० गते साँझ साढे ८ बजे प्रहरीसँग झगडा शुरु गरेपछि स्थानीय २०/२५ जना युवाले प्रहरी चौकीमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

बिना कुनै कारण वडाअध्यक्षकै नेतृत्वमा रहेको समूहले चौकीमा तोडफोड गरी क्षति पुर्‍याएको अस्थायी प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले बताउनुभयो । प्रहरीका अनुसार आक्रमणबाट चेकजाँचका लागि सडकमा राखिएका काठको बार, कुर्सी लगायतका सामग्रीमा क्षति पुगेको उहाँले बताउनुभयो । घटना भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी सोलबाङ र प्रहरी चौकी सिम्लीको टोली घटनास्थल पुगेको थियो ।

घटनाका आरोपित वडाध्यक्ष केसी, मुनपा १४ का २७ वर्षीय राजन केसी र सोहि ठाउँका २५ वर्षीय खिलराज गिरीलाई जेठ २१ गते पक्राउ गरेको र अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएसपी ठकबहादुर केसीले जानकारी दिनुभयो । नागरिकको जीउधनको सुरक्षाका लागि खटिएको प्रहरीमाथि नै आक्रमण गर्ने कुरा सामान्य नरहेको उहाँले बताउनुभयो ।


मनिषा केसी