वडाअध्यक्षको शङ्कास्पद मृत्यु, छानविन गर्न माग

  ०७६ मङ्सिर ७ गते

पञ्चेश्वर गाउँपालिका–४ का वडा अध्यक्ष राजबहादुर चन्दको मृत्यु शङ्कास्पद भएको भन्दै नेपाली कांगे्रस जिल्ला कार्यसमिति बैतडीले घटना छानबिनको माग गरेको छ । मङ्सिर ५ गते एक विज्ञप्ति जारी गर्दै कांग्रेसले छानविनको माग गरेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित चन्दको शव मङ्सिर ४ गते फेला परेको थियो । ५८ वर्षीय चन्द घर नजिकै कँडेधार भन्ने ठाउँमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

चन्दको टाउकोमा निल डाम र घाउ रहेको प्रहरीले जनाएको छ । मङ्सिर ३ गते स्थानीय कैलपाल मन्दिर धुराजातमा सहभागी हुनुभएका वडा अध्यक्ष चन्दको शव मङ्सिर ४ गते बिहान मृत फेला परेको डिएसपी पाण्डेले बताउनुभयो ।

शव पोष्टमार्टमका लागि मङ्सिर ५ गते जिल्ला अस्पताल बैतडीमा लगिएको छ । मृतक चन्दका आफन्तले उनको हत्या भएको दावी गरेका छन् ।

टाउकोमा निलडाम र घाउ भएकाले चन्दको हत्या भएको अनुमान गर्न सकिने नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य रमेश पाण्डेको दावी छ ।

पाण्डेका अनुसार उक्त घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ गते निवेदन समेत दिइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।


नरी बडु