लोपोन्मुख माझी समुदाय व्यवसायबाट वञ्चित

  ०७६ मङ्सिर २० गते

लामो समयदेखिको जग्गा विवादका कारण पर्वतको मालढुङ्गामा बसोबास गर्दै आएका २४ माझी समुदाय व्यवसायबाट वञ्चित भएका छन् ।

वर्षौँदेखि कालीगण्डकी नदी किनारमा बस्दै आएका लोपोन्मुख समुदाय अन्तर्गतका माझी परिवारहरू जग्गा विवादका कारण व्यवसाय सञ्चालन गर्नबाट वञ्चित बनेका हुन् ।

करिब ६० वर्ष अघिदेखि सुकुमवासीका रूपमा कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गास्थित कालीगण्डकी नदी किनारमा बालुवा चालेर जीविकोपार्जन गर्दै आएका माझी परिवारहरू पछिल्लो समयमा व्यवसायिक बन्ने प्रयास गरेपनि व्यवसाय गर्ने अनुमति नपाउँदा समस्यामा परेका हुन् ।

मालढुङ्गामा बस्दै आएका २४ घरपरिवारमध्ये कसैको पनि आफ्नै नाममा जग्गाधनी पुर्जा छैन । जग्गा धनी पुर्जा नभएकै कारण कुश्मा नगरपालिकाले उनीहरूलाई व्यवसाय दर्ता गर्न अनुमति नदिएको हो ।

मङ्सिर १९ गते व्यवसाय दर्ता गर्नको लागि कुश्माबजार स्थित नगरपालिका कार्यलयमा आउनुभएका बलबहादुर माझीले नगरपालिकाले व्यवसाय दर्ता नगराएको गुनासो गर्नुभयो ।

उहाँ भन्छन्-‘होटल सञ्चालन गरौँ भन्ने सोच राखेर दर्ता गर्न आएको दर्ता गर्न मिल्दैन भन्नुभयो । केही गरेर खाऊँ भने पनि वातावरण नै छैन’ ।

उहाँले नगरपालिकाले व्यवसाय दर्ता गर्न नमान्दा आफू जस्ता अन्य व्यवसाय गर्न चहाने माझी परिवारहरूलाई पनि समस्या आइपरेको बताउनुभयो ।

यता कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले लामो समयदेखि उक्त जग्गामा विवाद रहेको र विभिन्न अदालती प्रक्रियाबाट पनि मुद्दा चलिरहेकाले उक्त जग्गामा व्यवसाय दर्ता गर्न असमर्थ रहेको बताउनुभयो ।

उहाँका अनुसार केही व्यक्तिहरूले माझी समुदाय बसिरहेको स्थानमा आफ्नो जग्गा भएको भन्दै मुद्दामामिला गरेपछि मुद्दा सर्वोच्च अदालतसम्म पुगेको उहाँले बताउनुभयो ।

माझी समुदायलाई व्यवस्थापन गर्न र गुनासो सुन्नकै लागि कुश्मा नगरपालिका–१ का वडा अध्यक्ष देवेन्द्र सुवेदीको संयोजकत्वमा विवाद समाधान समिति समेत बनाइएको र काम अघि बढिरहेको उहाँले बताउनुभयो ।

आधिकारिक रूपमा व्यवसाय दर्ता गरेर सञ्चालन गर्न नपाउँदा माझी समुदायका व्यक्तिहरू पुनः कालीगण्डकी किनारमा नै बालुवा चालेर जीविकोपार्जन गर्नुपर्ने अवस्था आएको गणेश माझीले गुनासो गर्नुभयो ।

जग्गाधनी पुर्जा नभएपनि नगरपालिकाले व्यवसाय गर्न पाउने अधिकारलाई स्थापित गराउनुपर्ने उहाँको भनाइ छ ।

photo20191206parbat1

photo20191206parbat2


सन्तोष थापा