लोकतन्त्रमा जनताले निशर्त मतदान गर्न पाउनुपर्छः अध्यक्ष प्याकुरेल

  ०७४ असार २ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले लोकतन्त्रमा जनताले निशर्त मतदान गर्न पाउनुपर्ने बताएका छन् ।

Photo20170616Sunsari

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले असार २ गते सुनसरीको इटहरीमा आयोजना गरेको मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रियामा अध्यक्ष प्याकुरेलले मत माग्नका लागि जनतालाई थर्काउन, धम्क्याउन र शर्त राख्न नपाइने बताए ।

मतदानका लागि जनतालाई कुनै पनि किसिमले प्रभाव पार्नु अपराध भएको उनको भनाइ छ । चुनावले मात्र विकास र उन्नती हुने भन्दै आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्ने अध्यक्ष प्याकुरेलले बताए ।

Photo20170616Sunsari1

निर्वाचन भएमात्र लोकतन्त्र बलियो हुने र जनताले अधिकार पाउने भएकाले निर्वाचन निष्पक्ष, भयरहित बनाउनका लागि अभियान नै चलाइएको अध्यक्ष प्याकुरेलले बताए ।

कार्यक्रममा मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले निर्वाचनमा पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने भन्दै अझ स्थानीय पर्यवेक्षकको भूमिका तटस्थ हुनुपर्ने बताए ।

उनले पर्यवेक्षकले सरकारका निकायलाई सजग गराउने भएकाले स्थानीय पर्यवेक्षकलाई सचेत भएर जिम्मेवारी वहन गर्न आग्रह गरे ।

मधेस मामिलाका विज्ञ राजनीतिक विश्लेषक डा. राजेश अहिराजले राजनीतिक दलका कार्यकर्ताहरूले एकतिर मात्र हेरर टिप्पणी गर्दा समस्या आएको बताए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगर, झापा मोरङ र सुनसरीका अधिकारकर्मी, नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मीलगायत विभिन्न पेशा व्यवसायका प्रतिनिधिको सहभागिता थियो ।


शेखर ढकाल