लैङ्गिक हिंसा व्यवस्थापन समितिको सदस्यमा इन्सेक प्रतिनिधि चयन

  ०७७ असार २४ गते

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र(ओसिएमसी) को लैङ्गिक हिंसा व्यवस्थापन समितिको सदस्यमा इन्सेक प्रतिनिधि चयन हुनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा असार २४ गते १५ सदस्यीय समिति गठन भएको  छ । जसको सदस्य सचिवमा अस्पतालका मेसु डा. राजेन्द्र खनाल रहनु भएको छ  । लैङ्गिक हिंसा सम्बन्धी काम गर्ने संस्थाका तर्फबाट इन्सेक प्रतिनिधि रीमा बिसीलाई चयन गरिएको हो ।

यसैगरी सदस्यहरूमा जिल्ला समन्वय अधिकारी, स्थानीय तहको महिला बालबालिका महाशाखा प्रमुख, जिल्ला प्रहरी प्रमुख, जिल्ला न्यायाधिवक्ता, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई अधिकारी, मामला व्यवस्थापन समितिका  संयोजक,नेपाल बार एशोसिएशनका जिल्ला अध्यक्ष, जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख सुरक्षित आवास गृहका प्रमुख र सङ्कट व्यवस्थापन केन्द्रका प्रतिनिधिहरू रहेका छन् ।

समितिले केन्द्रलाई मार्गदर्शन गर्ने , समन्वय र सङ्रक्षण गर्ने, सङ्कट व्यवस्थापन केन्द्र र आवास गृहबाट प्रदान हुने सेवाको सुनिश्चितताको लागि थप आर्थिक स्रोतको व्यवस्थापन गर्ने, जिल्ला स्तरमा समाधान हुन नसकेका समस्याहरूलाई प्रदेश सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाउने ।

लैङ्गिक हिंसा पीडित वा प्रभावित व्यक्तिहरूलाई थप सेवा एवं पुनर्स्थापना गर्नुपरेमा आचार संहिता तयार गरी लागु गर्ने लगायतका काम गर्ने रीमा बिसीले बताउनु भयो ।


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज