लैङ्गिक विभेद कायमैः छोराको मोहमा सात छोरी !

  ०७६ जेठ २५ गते

कर्णाली समाजमा लैङ्गिक विभेद कायमै छ । छोरी जन्मँदा उत्सव वा खुशियाली मनाउने गरिँदैन । अस्पतालमा होस या घरमा होस छोरा जन्मिए सिन्दुर जात्रा गर्ने र एक आपसमा खुसियाली साट्ने चलन छ । भिडियो एक्सारे गरी भ्रुण पहिचान गरी छोरी भएमा गर्भमै हत्या गर्ने चलन बढ्दो रहेको स्वास्थ्यकर्मीहरूले बताउने गरेका छन् । छोरा जन्मँदा न्वारानदेखि रोपाईसँगै चोपाई गर्ने चलन छ तर छोरी जन्मँदा सुत्केरी आमालाई सन्चोबिसन्चो समेत सोध्ने गरिँदैन ।

छोराको आशमा धेरै छोरी जन्माउँदा राम्रो शिक्षादिक्षा देखि स्वास्थ्य सेवा पनि पाउने गदैनन् । पोषणयुक्त खाना नपाउदा कुपोषित हुने गर्दछन् । राम्रो शिक्षा नपाउदा छोरीले सानै उमेरमा विवाह गरी अर्काको घरमा जाने र कार्यबोझ धेरै हुने गर्दा कलिलै उमेरमा मृत्युवरण गर्नुपर्ने बाध्यता रहेको छ ।

यस्तै कालिकोट तिलागुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पाँच वर्षीय छोरा विशाल बोगटीको उपचारमा छन् ।

घरनजिकैको स्कुल जाँदै गर्दा बाटोमा जङ्गली फल मच्छाइनो खाँदा बिरामी भएका छोराको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएपछि उनी कर्णाली अस्पताल जुम्ला आइपुगे ।

अस्पतालमा उनले भने–‘यो मेरो एक्लो छोरा हो । जसरी पनि बचाइदिन डाक्टर अनुरोध गरे । यो छोरो रहेन भने म पनि रहनेछैन । छोरा जन्माउनकै लागि सात छोरी जन्माउनुपर्‍यो ।’

उनले छोराको आशमा सातओटी छोरी जन्माएको कथा सुनाउँदा उपचारमा संलग्न चिकित्सक दङ्ग परे । चिकित्सकले उपचार सुरू गरे । चिकित्सकको उपचारपछि उनका छोराको स्वास्थ्य अवस्था सुध्रँदै आयो ।

‘अहिले खेल्न र बोल्नसक्ने भएको छ ।’–बोगटीले भने–‘कर्णालीमा अस्पताल हुँदैनथ्यो त छोरो हुँदैनथ्यो । छोरो नहुँदा म पनि यो संसारमा हुन्नथेँ होला । छोरो बाँचेकोमा धेरै खुसी छु ।’

उनका छोराको आइसियूमा उपचार भइरहेको छ । उनका अनुसार ६ जना छोरी जन्मिसकेपछि सातौँ सन्तानका रूपमा छोरा जन्मिएको हो ।

छोराभन्दा पछाडि एउटी छोरी जन्मिएकी छन् । उनले भने–‘यो समाज छोरा जन्मेकोमा उत्सव मनाउँछ । छोरी जन्मेकोमा घृणा गर्छ । समाजकै लागि भए पनि छोरा खोजेको हुँ । छोराकै आशमा सातओटी छोरी भए । बीचमा भाग्यवश जन्मेको यो छोरा बचाउन खुब प्रयत्न गरिरहेको छु ।’

अहिले उनका ६ जना छोरी विवाह गरेर गइसकेका छन् । कान्छी छोरी, एक छोरा र पत्नी मात्र साथमा रहेको उनले बताए ।

उनले भने–‘समयमै छोरा जन्मिएको भए लालनपालनमा राहत मिल्थ्यो होला । छोरी भए, अर्काको घर गए, एक्लो बनाए । अहिले सहाराविहीन झैँ छु ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भने–‘जङ्गली फल खाँदा त्यसको असरले दिमागमा परेको देखियो । छोरो छटपटाउन थाल्यो । बाबु उपचारका लागि रोइकराई गर्न थाले । बिहानै निको भएर छोरो बोल्न थालेपछि मुहारमा खुसी देखियो ।’

सात छोरीको बीचमा जन्मिएको छोरो बिरामी हुँदा घरपरिवारमा निकै रुवाबासी चलेको र निको हुँदै आएपछि खुसियाली छाएको काफ्लेले बताए ।

छोराको मोहले एकै घरमा ११ छोरीको जन्म
तिला गाउँपालिका–३ फुयालवाडाका पुसे नेपाली अहिले ६५ वषर्का भए । पुसे नेपालीले १४ वर्षको कलिलै उमेरमा रिठु नेपालीसँग विवाह गरे ।

बिहे भएको वर्षदिन नबित्दै पहिलो सन्तानका रूपमा छोरी कमला जन्मिएको रिठु नेपालीले बताइन् । समय बित्दै जाँदा दोस्रो पटक पनि छोरी नै जन्मिइन् ।

छोरा नभए समाजले हेप्ने, मर्दा पनि दाहासंस्कार गर्ने मान्छे नहुने र सम्पतिको हकदार छोरा हुनुपर्ने पुरातन सोचका कारण छोरा जन्माउनै पर्ने निष्र्कषमा नेपाली परिवार पुग्यो ।

छोरा जन्माउने आशले पुसे नेपाली दम्पतिले अहिले ११ छोरी जन्माए । पुसेलाई अहिले लालनपालनमा निकै कष्ट भइरहेको छ । सबै छोरीलाई उपयुक्त शिक्षादीक्षा दिन उनको पारिवारिक अवस्थाले पनि पुगेन ।

पारिवारिक अवस्था निकै कमजोर भएका यो परिवारले छोरा पाउने आशैआशमा ११ छोरी जन्मेपछि कसैलाई पनि उपर्युक्त लालनपालन गर्न सकेन ।

उनका ११ छोरीमध्ये पालनपोषणकै अभावमा तीन छोरीको ज्यान गयो । त्यसपछिका आठ जना छोरीमध्ये चार जनाको सानै उमेरमा विवाह  (बालविवाह) भयो । अहिले चार छोरी र पतिपत्नी घरमा छन् ।

छोरीको पहिचान गरी भ्रुण हत्या !
समाजमा छोरीको भन्दा छोराको महत्व धेरै हुन्छ भन्ने मान्यता बोक्दै अशिक्षित देखि शिक्षित व्यक्तिहरूले भिडियो एक्सरेमार्फत छोरीको पहिचान भएपछि भु्रण हत्या गर्ने गरेको पाइएको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया बुढाले बताइन् ।

उनले भनिन्–‘शिक्षित व्यक्तिहरूले नै यस्ता किसिमका काम गर्दै आएका छन् । पहिलो सन्तान छोरी जन्मने बित्तिकै दोस्रो पटक सन्तान जन्माउने अधिकांश व्यक्तिले भिडियो एक्सरेमार्फत लिङ्ग पहिचान गर्ने र छोरी भएमा भ्रुण हत्या गर्ने गरेका छन् ।’

गैरकानुनी रूपमा हुने यस्ता घटना समाजमा यत्रतत्र सुनिने भएपनि खासै यसमाथि कानुनी कारवाही भने भएको पाइँदैन ।

छोराको मोहले बहुविवाह
जुम्लामा छोराकै मोहले बहुविवाह हुने गरेको छ । अन्य कारण भन्दा जेठी पत्नीबाट छोरा नजन्मेको खण्डमा बहुविवहा गर्ने परिपाटी निकै पाइन्छ । छोरा जन्माउनु जुम्लामा पारिवारिक तथा सामाजिक दबाब जस्तो ‘थिति’ बसेको छ ।

बहुविवाह गर्नुको औपचारिक कारण नखुले पनि अरूभन्दा जेठी पत्नीबाट छोरा नजन्मेकै कारण बहुविवाह हुने गरेको अधिकारकर्मी भगवती श्रेष्ठले बताइन् ।

पछिल्लो समय छोराछोरी बराबर हुन् भन्दै बहुविवाह रोक्न विभिन्न कार्यक्रम हुने गरेपनि घटना न्यूनीकरण नभएको उनले बताइन् ।


मानदत्त रावल