लैङ्गिक न्याय र मानव अधिकारमा जोड

  ०७६ भदौ २५ गते

मानव अधिकारको संरक्षण र विकासका लागि लैङ्गिक न्याय र मानव अधिकारको संरक्षण हुनु पर्नेमा ललितपुरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २४ गते आयोजना गरेको लैङ्गिक न्याय र मानव अधिकारसम्बन्धी छलफल कार्यक्रममा उपस्थित सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् ।

Photo20190911Lalitpur (1)

कार्यक्रममा लैङ्गिक विज्ञ कमला भासिनले समाजमा जाति, वर्ग, राष्ट्रियता र भाषा भएकोले लैङ्गिक न्याय भएको समाज निर्माण गर्नुपर्नेमा जोड दिँदै राजनीतिक अधिकारका साथसाथै आर्थिक अधिकारले सम्पन्न नभएसम्म लैङ्गिक न्यायमुलक समाज निर्माण हुन कठिन हुने बताइन् ।

उनले निजी सम्पत्तिसँग सम्बन्ध जोडिएका कारण समाजमा वर्ग निर्माण भएको भन्दै धेरैभन्दा धेरै जमीनमाथिको स्वामित्व स्थापित गर्ने परम्पराबाट नै पितृसत्ताको सुरूवात भएको तर्क गर्दै महिला आन्दोलनले पितृसत्तात्मक ढाँचालाई भत्काउन नसकेता पनि नेपाली महिलाहरू महत्वपूर्ण जिम्मेवारीमा आउने क्रम बढेकोमा खुशी व्यक्त गरिन् ।

Photo20190911Lalitpur (2)

नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, न्यायाधीश, सांसदलगायतका पदमा महिला सहभागिता भएपनि दलीय हृवीपका कारण महिलाहरूले स्वविवेक प्रयोग गर्न भने नसकेको समाजशास्त्री भासिनको आरोप छ ।

Photo20190911Lalitpur (3)

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १, २ र ७ मा भेदभावको अन्त्यको सिद्धान्तलाई अङ्गीकार गर्दै सबै व्यक्तिलाई लैङ्गिक समानता रहेको भन्दै कानुनले नै महिलालाई पुरुष भन्दा बढी अधिकार दिई लैङ्गिक न्याय एवम् मानव अधिकारको सुनिश्चितता गरेको बताए ।


दीपकप्रसाद घिमिरे