लैङ्गिकमैत्री नीति र बजेट निर्माणमा जोड

  ०७५ चैत ४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक नेपाल र नागरिक मिडिया मञ्चको आयोजनामा इनरुवामा चैत ४ गते आयोजित कार्यक्रमका सरोकारवालाहरुले लैङ्गिकमैत्री नीति र बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख कमला मगरले आफ्नो नगरपालिकामा लैङ्गिकमैत्री नीति भएपनि कार्यान्वयमा समस्या रहेकाले त्यसलाई सम्बोधन गर्न अगामी वर्षको बजेटमा २० लाख रुपियाँ विनियोजन गर्ने बताइन् ।

मगरले विभिन्न नीति तथा कानुन निर्माणको क्रममा लैङ्गिकमैत्री नीति, योजना र बजेट निर्माण गरेको बताइन् । उनले नेतृत्व विकास, क्षमता विकास आवश्यक रहेकोमा जोड दिइन् ।

मगरले पुरुष प्रधान समाज भएकाले राष्ट्रिय अन्तराष्ट्रिय सन्धि र कानुनहरुलाई कागजमा सीमित पार्ने काम हुँदै आएकाले आफूहरु जनप्रतिनिधिका रुपमा आएपछि केही साकारात्मक काम भएको दावी गरिन् ।

उनले विभिन्न संघसंस्थाहरुको सहयोगमा एकद्वार प्रणालीबाट लैङ्गिकमैत्री, किशोरीमैत्री, महिलामैत्रीलगायतका कार्यक्रम गर्ने गरी नीति ल्याएको बताइन् ।

कार्यक्रममा कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले विद्यालयहरुमा किशोरी तथा छात्रामैत्री शौचालय नभएको, वडाहरुमा लैङ्गिकमैत्री काम नभएको गुनासो गर्दै त्यसका लागि आफू लागि परेको बताइन् ।

पत्रकार शशी कोइरालाले महिलाहरुको सवालमा महिला जनप्रतिनिधिहरुको सक्रियताको कमी देखिएकाले महिला सक्रियता आवश्यक रहेकोमा जोड दिए ।

ओरेककी शान्ती दनुवारले स्थानीय सरकार जनताको घरघरको सरकार भएपनि लैङ्गिकमैत्री नीति र बजेट निर्माण नभएकाले त्यसको प्रभावकारी नभएको बताइन् ।


जयकृष्ण यादव