लुम्बिनी प्रदेशमा सन् २०२० मा १ हजार ३ सय ८२ जना पीडित

  ०७७ फागुन ७ गते

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको  आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण तथा सन्  २०२० को  मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार ३ सय ८२ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको हो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को सार्वजनिकीकरण बाँके जिल्ला अदालत न्यायाधीश मनकुमारी जि एम विकले गर्नु भएको हो । कार्यक्रममा न्यायाधीश मनकुमारी जि एम विकले अहिले पनि धेरै महिलाहरू आफ्नो अधिकारबाट बञ्चित रहेको बताउदै मानव अधिकार वर्ष पुस्तकले समग्र मानव अधिकार अवस्थाको बारेमा अध्ययन गर्न अवसर सृजना गरेको बताउनु भयो । photo2021021905banke इन्सेक लुम्बिनी प्रदेश कार्यालय प्रमुख भोला महतले  प्रदेशको  मानव अधिकारको अवस्था र तथ्याङ्कका साथै प्रदेशका  प्रमुख सरोकारका विषयहरू, कोभिड १९  को सङ्क्रमण र मानव अधिकारको अवस्था, बाल अधिकार, महिला अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार , गिरफ्तारी , कारागारको अवस्था  र नवलपरासी र कपिलवस्तुका उखु किसानका समस्या प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत तथ्याङ्कमा लुम्बिनी प्रदेशमा सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ३ सय ८२ जना पीडित भए । जसमा गिरफ्तारी  घटनामा ९१ जना , महिला अधिकार उल्लङ्घनका घटनामा ८ सय ८४ जना , हत्याका घटना अन्यपक्षबाट ४१ जना र बाल अधिकार उल्लङ्नका घटनामा २ सय ८० जना पीडित भएका छन् । जस मध्ये २ सय ५८ जना बालिका बलात्कार तथा यौन दुव्र्यवहारबाट र १ सय ५७ जना महिला बलात्कार र बलात्कार प्रयासबाट पीडित भएको तथ्याङ्क वर्षपुस्तकमा रहेको छ । राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख झङ्कर बहादुर रावलले इन्सेकले उठान गर्दै आएका विषयहरू महत्वपुर्ण रहेको बताउँदै मानव अधिकार वर्ष पुस्तक आयोगका लागि पनि रिफ्रेन्सको रुपमा रहँदै आएको बताउनु भयो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले मानव अधिकार उल्लङ्घनका कार्य रोक्नको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले वर्ष पुस्तकले सरकारी निकायहरूलाई समेत प्रतिबद्धता स्मरण गराउन भूमिका खेलेको बताउनु भयो । photo2021021904banke नेपाल बारका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले इन्सेकद्वारा प्रकाशित हुदै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकमा समट्ने घटनाहरू हालसम्म अन्य निकायले अभिलेखिकरण नगरेको बताउनु भयो ।    इन्सेेकका सदस्य  गाेपालनाथ योगीले  इन्सेक मानव अधिकारको क्षेत्रमा काम गर्ने अग्रणी संस्था भएको बताउदै यसले गर्ने अभिलेख विभिन्न संघ संस्था व्यक्तिहरूले सन्दर्भ सामग्रीका रुपमा प्रयोग गर्ने गरेको बताउनु भयो । सार्वजनिकीकरण कार्यक्रममा २०२० को उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनालाई प्रमुख अतिथि बाँके जिल्ला अदालतका न्यायाधीश मनकुमारी जि एम विकले ७ हजार नगद, ट्रफी, सम्मान पत्र प्रदान गर्दै  दोसल्ला  ओढाएर सम्मान गर्नु भयो ।


स्मृति देवकोटा