लिमीवासी आयोडिन नुनबाट बञ्चित

  ०७७असार १६ गते 

नाम्खा गाउँपालिका–६ लिमीका तील, हल्जी र जाङ्ग गाउँका स्थानीयवासी आयोडिन नुन खानबाट बञ्चित भएका छन् । उक्त स्थानमा करिब एक हजार व्यक्ति बसोवास गर्दै आएका छन् ।

नेपाल सरकारले १५ वर्षदेखि हुम्लामा आयोडिन नुन पठाइरहेको भएपनि लिमीमा वर्षौंदेखि चीनको पुराङबाट ढिके नुन ल्याएर प्रयोग गर्ने गरेको हल्जीका स्थानीय खेनराव लामाले बताउनुुभयो । आयोडिन युक्त नुनको विषयमा आफूहरूलाई जानकारी नभएको लामाको भनाइ छ ।

सिमकोटबाट चार दिनमा हिडेर पुगिने लिमीमा आवश्यक सम्पूर्ण सामान चीनको ताक्लाकोटबाट आपूर्ति गरिने नाम्खा गाउँपालिका–६ का अध्यक्ष पाल्जोर लामाले बताउनुभयो । हाल कोरोनाको कारण ताक्लाकोट बन्द भएकाले लिमीमा केही दिनमा खाद्यान्न संकट हुने अध्यक्ष लामाको भनाइ छ ।

यस विषयमा साल्ट ट्रेडिङ्ग हुम्लाका प्रमुख राजबहादुर लामाले सिमकोट भन्दा ५२ कोष टाढा रहेको लिमीमा सडक सञ्जालले नछोएको कारण नुन पुर्‍याउन नसकिएको बताउनुभयो । वर्षातको समयमा खराव बाटोमा खच्चड जान नसक्ने र अरु समयमा हिउँ पर्ने भएकोले नुन पठाउन कठिन भएको लामाले इन्सेकलाई बताउनुभयो ।

आयोडिनयुक्त नुनको अभावमा मानिसमा थाइराइड, गलगाँड र शारीरिक तथा मानसिक समस्या हुन सक्ने जिल्ला स्वास्थ्य सेवा कार्यालय, हुम्लाका डाक्टर टसिआङ्जुक लामाले जानकारी दिनुभयो ।


नन्द सिंह