लामो समयसम्म एम्बुलेन्स मर्मत नहुँदा बिरामीहरू महङ्गो शुल्क तिरेर उपचारमा जान बाध्य

  ०७६ जेठ ७ गते

सुनापती गाउँपालिकामा रहेका तीन ओटै एम्बुलेन्सहरू बिग्रिएपछि ती एम्बुलेन्सहरूको मर्मत नहुँदा स्थानीयलाई बिरामी पर्दा उपचारका लागि अस्पताल सम्म पुर्‍याउन समस्या परेको छ ।

सुनापति गाउँपालिकाको बेथानमा रहेका भ्वाँसा च्यारिटी मेडिकल सेन्टर, गोविन्द खड्का स्मृति प्रतिष्ठान र स्वास्थ्य चौकीको तीनै ओटा एम्बुलेन्स लामो समयदेखि बिग्रिएर थन्किएका छन् ।

यसरी बिग्रिएर थन्किएका एम्बुलेन्सको मर्मत सम्भार नगरिँदा एम्बुलेन्सको अभावमा गम्भीर प्रकृतिका बिरामीहरूलाई उपचारको लागि काठमाडौँ पुर्‍याउन महङ्गो भाडा तिरेर सुमो जिप वा मिनिट्रक रिजर्भ गर्नुपर्ने बाध्यता स्थानीयहरूलाई भएको छ ।

भ्वाँसा च्यारिटी मेडिकल सेन्टरको एम्बुलेन्स दुर्घटना भएपछि मर्मत गरिएको छैन । गोविन्द खड्का स्मृति प्रतिष्ठानको एम्बुलेन्स बिग्रिएर थन्किएको छ । स्वास्थ्य चौकीको एम्बुलेन्स त अझ वर्षौँदेखि बिग्रिएर रहेको स्थानीय थुप्तेन टासी लामाले बताए ।

एम्बुलेन्स थन्किदा बिरामीलाई सास्ती भएको छ । बिरामीको सुविधाको लागि सञ्चालनमा ल्याउन सरकार र दाताले दिएको एम्बुलेन्स मर्मत नगरिँदा यसको असर बिरामीहरूलाई पर्न गएको छ ।

एक वर्षअघि मात्र कांग्रेस नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले गोविन्द खड्का स्मृति प्रतिष्ठानको लागि एम्बुलेन्स प्रदान गरेका थिए । त्यो बिग्रिएर बसेको छ ।

एम्बुलेन्स मर्मत गर्ने मिस्त्री गाउँमा जान नमान्दा एम्बुलेन्स मर्मत गर्न नसकिएको प्रतिष्ठानका अध्यक्ष नारायणबहादुर खड्काले बताए ।

स्वास्थ्य चौकीको एम्बुलेन्स बिग्रिएको वार्षौँसम्म पनि मर्मत नहुँदा अब त्यो मर्मत नै नहुने अवस्थामा पुगेको छ । मेडिकल सेन्टरले चलाएको एम्बुलेन्स पनि मर्मत हुन सकेको छैन ।


नवराज पथिक