लाप्राकका ४९ घरधुरी भूकम्प पीडितले घर बनाउन पाएनन्

  ०७६ असार २० गते

धार्चे गाउँपालिका–४ लाप्राकका ५ सय ७३ घर धुरीलाई गुब्सीपाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बनाएका घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तर, सोही ठाउँका ४९ घरधुरी भूकम्प पीडितले भने चार वर्षसम्म घर बनाउने बारे अन्यौल भएको गुनासो गरेका छन् ।

लाप्राकका ४९ मध्ये २९ घरधुरी भूकम्प पीडित लाभाग्राही सूचीमा समावेश भएका छन् भने २० घरधुरीले गुनासो फर्म भरेका छन् ।

उनीहरूले असार १९ गते सदरमुकाम आएर पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालय, जिल्ला प्रशासनलगायतका सरोकार राख्ने कार्यालयमा पुगेर गुब्सीपाखामा नै घर निर्माणको व्यवस्था मिलाइदिन माग गर्दै सामूहिक निवेदन दिए ।

‘छिमेकीको घर निर्माण अन्तिम चरणमा छ । हाम्रो घर बन्ने नबन्ने अन्यौलमा पर्‍यौँ ।’–स्थानीय सुकबहादुर गुरुङले भने–‘पुरानै घरको काठपात प्रयोग गरेर बनाएको अस्थायी टहरोमा बसेका छौँ । हामीलाई पनि एनआरएनएले बनाएको ठाउँमा घर बनाइदिनुपर्‍यो भन्दै माग गरेका हौँ ।’

भूकम्पले भत्काएको घर बस्न नहुने हुँदा पनि अहिलेसम्म लाभग्राही सूचीमा नपरेको स्थानीय कमानसिंह गुरुङले बताए । ‘निवेदन दिएको छु । नाम पर्दैन ।’–उनले भने–‘छिमेकीको घर बनिसक्यो आफ्नो कहिले बन्ने हो ? केही पत्तो छैन ।’

एनआरएनएले ६ सय घर बनाइदिने भनेर आवश्वासन दिएपनि पछिल्लो समय ५ सय ७३ भन्दा बढी बनाउन नसक्ने बताएपछि सरोकार राख्ने कार्यालयमा समस्या सुनाएको वडा अध्यक्ष राज गुरुङले बताए ।

लाप्राकको पुरानो बस्ती जोखिम भए नभएको बुझ्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समिति सदस्य धुव्र शर्मा नेतृत्वको टोली असार १९ गते लाप्राक गएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयका प्रमुख रामशरण आचार्यले बताए ।

‘विज्ञले पुरानो बस्ती जोखिममा रहे नरहेको रिपोर्ट दिएपछि बाँकी घर बनाउन एनआरएनलाई भन्ने कि घडेरी खरिदका रकम दिने टुङ्गो लाग्छ ।’–उनले भने ।


हरिराम उप्रेती