लापरवाहीले बालकको मृत्यु भएको आरोप, घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन

  ०७४ साउन ७ गते

धनुषाको मिथिला बिहारी गाउँपालिका-१० ठेराका कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको जनकपुर अञ्चल अस्पताल र स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छ ।

बालकलाई एक्कासी ज्वरो आएपछि साउन ४ गते बिहान ९ बजे जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि लगिएकोमा चेकजाँच गरी डाक्टरले भर्नाको लागि बेड खाली नभएको भन्दै फर्काएका थिए । बालकको स्वास्थ्य अवस्था खराब भएपछि सोही दिन बेलुका ६ बजे पुनः जनकपुर अञ्चल अस्पतालकै अकास्मिक कक्षमा भर्ना गराएपछि केहीबेरपछि वार्डको बेडमा पठाएर उपचार सुरु गरिएको थियो ।

राति ९ बजे बालकको स्वास्थ्य अवस्था झनै खराब हुन थालेपछि नर्स नैनतारा साह र कविता चौधरीलाई बालकका बुवा कैलासले पटकपटक छोरालाई हेरदिन गुहारे पनि हप्काएर फर्काएको प्रत्यक्षदर्शी बिरामी कुरुवा जुमेदा खातुनले आरोप लगाइन् । सो समयमा 'ड्यूटी'मा रहेका डा.वैद्यनाथ ठाकुर निवासमा आराम गर्न गएको नर्सले बताएकी थिइन् ।

कैलाशका अनुसार राति १२ बजे बालकको अवस्था चिन्ताजनक भएपछि 'ड्यूटी'मा रहेकी नर्स नैनतारा साहले सुई लगाएकोमा साउन ५ गते बिहान ३ बजे बालकको मृत्यु भएको पीडित परिवारले जनाएको छ ।

छोराको मृत्यु भएपछि आक्रोशित भएका कैलाशले नर्सलाई ताकेर लट्ठी प्रहार गरेको भन्दै प्रहरीले गिरफ्तार गरी दुई घण्टापछि रिहा गरेको थियो । अस्पताल प्रशासनले भने आफूहरूको लगातारको प्रयासका बाबजुद पनि बालकको ज्यान गएको प्रतिक्रिया दिएको छ ।

घटनाको छानबिन गर्न समिति गठन

यसैबिच बालकको मृत्यु भएको घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । घटनापछि पीडित र अस्पताल व्यवस्थापन पक्षबिच भएको छलफलपछि अस्पताल विकास समितिका सदस्य रामप्रबोध महतोको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए ।

अस्पतालका डाक्टर रामनरेश पण्डित, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, मृतकको पक्षबाट लेखापढी व्यवसायी सङ्घका पूर्व अध्यक्ष रामनारायण पुर्वे र राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दीप यादव छानबिन समितिका सदस्य छन् । उक्त समितिले १५ दिनभित्र घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने सिफारिस सहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्ने जनाइएको छ ।


अजयकुमार साह