लाउडस्पिकरबाट माइकिङ्ग गर्दै गराजपा-फोरम गठबन्धन

  ०७४ मङ्सिर ८ गते

राजविराजसहित निर्वाचन क्षेत्र नम्बर २ मा सङ्घीय समाजवादी फोरम, नेपाल र राजपा गठबन्धनले मङ्सिर ७ र ८ गते चुनाव चिन्ह र उम्म्मेदवारको पक्षमा मत माग्दै पिकअप गाडीबाट माइकिङ् गरेको छ ।

Photo20171124Saptari

आचारसंहिता विपरीत ठूलो व्यानर राखिएको को १ च ८०२३ नम्बरको पिकअप गाडीमा माइकिङ गर्दै मत मागिरहेकोमा अन्य राजनीतिक दलका प्रतिनिधिहरूले मङ्सिर ८ गते राजविराजमा आयोजित नागरिक सम्वाद कार्यक्रममा तीव्र आलोचना गरे ।

कार्यक्रममा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी नरबहादुर खडका र जिल्ला निर्वाचन अधिकारी दिलिपकुमार यादवले आचारसंहिता पालनाको विषय नैतिकताको विषय भएको भन्दै उल्लङ्घन भएकोमा मुख्य निर्वाचन अधिकृत कार्यालयमा लिखित उजुरी दिन आग्रह गरे ।

निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद ५ को क (४) मा उम्मेदवार वा राजनीतिक दलले अधिकार प्राप्त अधिकारीबाट अनुमति लिई प्रयोग गरेको सवारी साधनमा ३ फिट × ५ फिट भन्दा ठूलो आकारको ब्यानर वा झण्डा प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ भने परिच्छेद ५ को (क) १२ मा आमसभा गरेको स्थल र समयमा बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने उल्लेख छ ।


मनोहरकुमार पोखरेल