ललितपुरमा मानव अधिकार महाभेला सुरू

  ०७५ मङ्सिर २३ गते

दशौँ राष्ट्रिय मानव अधिकार महाभेला मङ्सिर २२ गते ललितपुरको जावलाखेलमा एक कार्यक्रमको आयोजना गरी सुरू गरिएको छ ।

७० औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा एक सातासम्म विविध कार्यक्रम गरी मानव अधिकार महाभला मनाइने आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्मला पन्तका हत्यारा पत्ता लागिसकेको बताए । उनले भने–‘हत्यारालाई प्रहरीले नियन्त्रण गरिसकेको छ । हामी चाँडै नै सार्वजनिक गर्छौँ । तर राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने हो कि भन्ने डर छ ।’

निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउने काम गरिएको भन्दै उनले निर्मलाका हत्यारालाई सार्वजनिक गर्दै गर्दा राजनीतिक रूपमा कसैले पनि छाता ओढाउन नआउन आग्रह गरे ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सधैँभर मानव अधिकारको सङ्घर्षका पक्षमा साथ दिने बताए ।

नेपाली काङ्ग्रेसका नेतृ पुष्पा भुषालले जतिसक्दो चाँडो निर्मलाका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने माग गरिन् ।

यही मङ्सिर २८ गतेसम्म चल्ने महाभेला अवधिभरि शान्ति, लोकतन्त्र र मानव अधिकारका विषयमा सघन सम्वाद हुने महाभेलाका संयोजक नरेन्द्र खतिवडाले जानकारी दिए ।

मानव अधिकार, शान्ति र लोकतन्त्रको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको सो महाभेलाको नारा ‘दिगो विकास र मानव अधिकारः नेपालीको मूल सरोकार’ भन्ने रहेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य र युथ एड्भोकेशी नेपालको संयोजन रहेको सो भेलामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत मानव अधिकारसँग सम्बन्धित १ सयभन्दा बढी सङ्घसंस्था आयोजक रहेका छन् । भेलाको सहसंयोजन फतिमा फाउण्डेशन र पौरखी नेपालले गरेका छन् ।

सन् १९४८ मा मानव अधिकार विश्वाव्यापी घोषणापत्र जारी भएपछि विश्वभरि डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन थालिएको हो ।

सोही दिवसका सन्दर्भमा नेपालमा २०६६ सालदेखि राष्ट्रिय मानव अधिकार महाभेलाको आयोजना गरिँदै आएको छ ।


अनलाइन डेस्क