लमजुङ कारागारका कैदीबन्दीका गुनासैगुनासा !

  ०७४ जेठ ९ गते

जिल्ला कारागारका कैदी/बन्दीहरूले उत्पादन गरेका जुत्ताको विक्री वितरणमा समस्या रहेको गुनासो गरेका छन् ।

इन्सेककर्मीहरूको अनुगमन टोलीसँग लमजुङ कारागारका कैदीबन्दीले आफूहरूले उत्पादन गरेको मुडाको विक्री वितरणमा समस्या नभएपनि जुत्ता बेच्न धौधौ परेको बताएका थिए ।

बन्दी जीवन बिताइरहेका ३२ वर्षीय राजु परियारले कारागार भित्रै जुत्ता बनाउने गरेको भएपनि उत्पादित जुत्ता बजारमा बेच्न समस्या भएको बताए । उत्पादित सामग्री नबिक्दा काम गर्न जाँगर मर्ने र आर्थिक अभाव हुने गरेको परियारको भनाइ छ ।

जिल्ला करागारका जेलर काजीमान सुनारले कारागारलाई व्यवस्थित बनाउन र कैदी/बन्दीबाट उत्पादित सामाग्री विक्री वितरणको व्यवस्था मिलाउन सबै पक्षलाई सहयोगको लागि अनुरोध गरिएको भएपनि प्रभावकारी नभएको बताए ।

३५ वर्षीया दिप्ती गुरुङले कारागारमा समय कटाउन कुनै किसिमको खेल वा मनोरञ्जनको लागि कुनै साधन नभएको बताइन् । दिनभरी कुराकानी गरेर समय बिताउनु भन्दा कुनै सीपमुलक तालिम लिएर अथवा खेल खेलेर समय कटाउन सहज हुने दिप्तीको भनाइ छ ।

कारागारका बन्दी २५ वर्षीय आशिष रानाका अनुसार पानी आयो भने सुत्ने ओछ्यानमा पानी चुहिएर सुत्न नसकिने बताए । सरकारले दिने गरेको ४५ रुपियाँ र ७ सय ग्राम चामलले दैनिक गुजारा चलाउन हम्मेहम्मे परेको कारागारका बन्दीहरूले गुनासो गरेका छन् ।

अनुगमन टोलीले जिल्लास्थित राजनीतिक दल, प्रशासन, प्रहरी र नागरिक समाजका प्रतिनिधिसँग जिल्लाको मानव अधिकार अवस्था र नेपाल मानव अधिकार वर्षपुस्तकको प्रभावका बारेमा छलफलसमेत गरेको थियो ।


दलबहादुर मजाकोटी