लमजुङमा मानव अधिकारको अवस्था विषयमा छलफल

  ०७५ कात्तिक १२ गते

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यलय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलयको आयोजना तथा लमजुङ सामाजिक परिवारको आयोजनामा कात्तिक १२ गते लमजुङ जिल्लाको मानव अधिकारको अवस्था विषयमा छलफल गरिएको छ ।

Photo20181029lamjung

छलफलमा सहभागी स्थानीय अमृता बिकले अझैपनि गाउँघरमा जातीय विभेद रहेको गुनासो गरिन् । आफूले दैनिक मेलापात, धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा विभेदको महसुस गर्ने गरेको बिकले बताइन् ।

कार्यक्रममा अर्की सहभागी श्रद्धा पौडेलले जघन्य घटना पीडित महिलाको गोपनीयतालाई ध्यान नपुर्‍याउँदा महिलाहरू सुरक्षित हुन नसकेको बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यलय, पोखराका निर्देशक दिपकजङ्गध्वज कार्कीले लैङ्गिक समानता नहुँदा मानव अधिकार पूर्णरूपमा उपभोग गर्ने बातावरण सिर्जना हुन नसकेको धारणा राखे । 'राज्य जिम्मेवार र नागरिक समाज सचेत भएमा सबैले मानव अधिकारको पुर्णरूपमा उपभोग गर्न पाउँछन् ।'-कार्कीले भने ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलय, पोखराका संयोजक शिव खकुरेलले राज्यले प्रत्येक घरबाट मानव अधिकारको उपभोग गर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए ।

मानव अधिकारसँग सम्बन्ध राख्ने सरोकारवाला पक्षहरू चनाखो नभएमा मानव अधिकारको नारा नारामा मात्र सीमित रहने उनको भनाइ छ ।

सो कार्यक्रमपछि राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको संयुक्त टोलीले प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकाल र डिएसपी यादव ढकाललाइ भेटी जिल्लाको समग्र मानव अधिकारको बारेमा जानकारी लिनुका साथै समसामयिक विषयमा छलफल गरेको थियो ।


दलबहादुर मजाकोटी