लकडाउनको प्रभाव : किसानले मल बीउ पाएनन्

  ०७७ वैशाख ८ गते

कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण फैलन नदिन सरकारले चैत ११ गतेबाट घोषणा गरेको लकडाउनको कारण कृषकहरूले समयमा मल बीउ प्राप्त गर्न समस्या भएको छ ।

लकडाउनको कारण कार्यालय, उद्योग, निर्माण,  व्यापार/व्यवसाय बन्दभएपछि घरैमा रहेकाहरूले सामाजिक दुरी कामय राखेर कृषि कार्यलाई निरन्तरता दिन संघीय सरकारले यस अघि नै अनुरोध गरेको छ । तर मल विउको उपलब्धता नहुनु, भएको ठाउँमा पनि ढुवानीको समस्या हुनु लगायतको प्रभाव लकडाउनले पारेको छ ।

यसैबीच बागमती सरकारले पनि स्थानीय तहहरूलाई कृषि कार्यमा जोड दिन आग्रह गरेको छ । मख्य मन्त्री डोरमणि पौडेलले वैशाख ४ गते केही स्थानीय तहका प्रमुखहरूसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्दै लकडाउनको अवधिमा किसानहरूलाई चाहिने मल, बीउबिजनलगायतका कृषि सामग्री उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका छन् ।

मुख्यमन्त्री पौडेलले स्थानीय तहका प्रतिनिधिहरूलाई कृषिमा आत्मनिर्भर बन्नका लागि कृषि कर्ममा जोड दिन पनि आग्रह गर्नु भएको छ । उहँले कोरोना भाइरसको संक्रमणले निम्त्याएको सङ्कट किसानमा नपरोस् भनेर नै कृषकलाई आवश्यक मल, बीउलगायतको राहत उपलब्ध गराउने बताउनु भएको थियो ।

तर, लकडाउन सुरु भएको एक महिना पुग्नलाग्दा पनि कृषकले खेतिका लागि आवश्यक मल, बीउ नपाएको समाचारहरू बाहिर आइरहेका छन् । पाहाडी जिल्ला भएको यस प्रदेशमा यो समय खेतमा चैते धान रोपाइ गर्ने काम सकिएको छ भने बारीमा मकै रोप्ने काम भइरहेको छ । लकडाउको कारण रासायनिक मल र मकैको बीउ स्थानीय तहमा उपलब्ध नभएपछि किसानहरू अन्यौलमा परेका छन् ।

बागमती प्रदेश अन्तर्गतका इन्सेक प्रतिनिधिहरूले जिल्लाबाट पठाएको प्रतिवेदन यहाँ समेटिएको छ ।

इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज घिमिरेका अनुसार किसानहरूले रसायनिक मल र मकैको बीउ नपाउँदा समयमा बालि लगाउन नपाएको तथा लगाएको बालीको उत्पादन पनि नहुने चिन्ता व्यक्त गरेका छन् ।

‘खेतमा लगाएको मकैमा युरिया मलको प्रयोग गर्ने बेला भयो तर, बजार बन्द छ, मल पाइँदैन, मकैमा कस्तो दाना लाग्ला’ स्थानीय कृषक जयबहादुर कार्कीले भन्नुभयो ।

रामेछाप सदरमुकाम मन्थलीमा रासयानिक मल विक्री गर्ने तीन ओटा डिपोहरू रहेका छन् । ती डिपोमा अहिले मल नहुँदा किसानहरूले मकैमा हाल्न मल पाएका छैनन् । बन्द अघि ल्याएको मल सकिएको र बन्दाबन्दि सुरू भएपछि मल ल्याउन नपाउँदा सबै डिपोहरूमा मल सकिएको बिक्रेता पदम तामाङले बताउनु भयो ।

खेतको मकैमा मल हाल्ने बेला ठिक्क भए पनि मल नपाउँदा समस्या परेको स्थानीय कृषक कार्कीले बताउनु भयो । खेतको मकैमा हाल्ने मल मात्र हैन रामेछापमा मकैको बीउको समेत अभाव छ । कृषकहरूको बारीमा मकै छर्ने बेला भए पनि मकैको बीउ नपाउँदा समस्यामा परेका छन् ।

गतसाल राम्रो वर्षा नहुँदा बारीबाट राम्रो उत्पादन हुन सकेन । त्यसमा पनि फौजी किराको आक्रमणको कारण मकै बिग्रियो । त्यसैले कतिपय किसानले मकैको बीउको जोहो समेत गर्न सकेनन् । जसले गर्दा मकैको बीउको माग उच्च रहेको मन्थली स्थिति भानु एण्ड निसा सप्लायर्सका सञ्चालन टंक श्रेष्ठले बताउनु भयो । बन्दको कारण मकैको बीउसँगैलगायत तरकारीको बीउ ल्याउन नपाएकोले किसानले व्यवसायिक तरकारी खेती पनि गर्न पाएका छैनन् । मकैको बीउको माग अधिक भए पनि बीउ ल्यान नपाएको कारण दिन नसकिएको उहाँले बताउनु भयो ।

इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार जिल्लामा आवश्यकताको एक चौथाई पनि मल, बीउ उपलब्ध भएको छैन । धादिङको राजमार्ग क्षेत्र तरकारी पकेट क्षेत्रको रुपमा रहेकोले पटक पटक रासायनिक मल प्रयोग गर्नु पर्ने हुन्छ, धानको ब्याड राख्नु पर्ने तथा चैते धानमा मल हाल्नु पर्ने बेला भए पनि मल पाइएको छैन ।

विशालटारका तरकारी कृषक राजकुमार बिसुरालले मलका लागि धेरै तिर भौतारिनु परेको गुनासो गर्नुभयो । स्थानीय तथा उन्नत जातको धानको बीउ, मल केही पाइएको छैन, बीउ अर्डर गरे पनि बन्दको कारण पसलेले बीउ दिन प्रतिवद्धता गर्न नसकेको उहाँले बताउनु भयो ।

देशकै ठूलो र किसानहरू प्रत्यक्ष सहभागी भएको बेनिघाट रोराङको कृषक सुधार फलफूल तथा तरकारी सहकारीका अध्यक्ष हेमनाथ थपलियाले किसानका लागि अत्यावश्यक बीउविजन र मल लकडाउनका कारण पाउन नसकेको र उपलब्ध गराउन सहकारी लागि रहे पनि समस्या आएको बताउनु भएको छ ।

जिल्ला सदरमुकाममा मल बीउ विक्री गर्ने निलकण्ठ बहुद्देसिय सहकारी संस्थाले आफ्नो गोदाममा १ सय बोरा युरिया र ७० बोरा डीएपी मल रहेको जनाकारी दिनुभयो । सहकारीका व्यवस्थापक हरि रिजालले वैशाखदेखि असारसम्म २ सय १० मेट्रिकटन रासायनिक मल चाहिने भए पनि उपलब्ध हुन नसक्दा किसानहरूको माग थेग्न समस्या परिरहेको बताउनु भयो ।

धादिङ जिल्लामा वर्षेनी ३ हजार ९ सय मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गर्छ । वैशाखदेखि असारसम्म १ हजार ९ सय मेट्रिक टन मल किसानहरूको माग रहेको कृषि सामाग्री संस्थान गजुरीका कार्यालय प्रमुख शर्मिला घिमिरेले जानाकारी दिनुभयो ।

कृषि सामाग्री संस्थान गजुरीमा हाल ४ सय ५ टन रासायनिक मल मौज्दात छ । जिल्लामा १ सय ३५ सहकारीलाई अनुमति दिइएको छ । यसमध्ये ५५ सहकारी संस्थाहरूले मात्र मल लान सक्ने गरी नविकरण गरेको घिमिरेले बताउनु भयो ।

इन्सेक काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङका अनुसार काभ्रेमा रसायनिक मल ढुवानी समस्या भएको छ । लकडाउले गर्दा कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेलको गोदाममा रहेको करिब २ हजार टन रसायनिक मल ढुवानी गर्न समस्या भएको कम्पनीका शाखा अधिकृत बासुदेव शर्माले बताउनु भयो ।

शर्माका अनुसार काभ्रे र सिन्धुपाल्चोक जिल्ला बाहेक दोलखा र रामेछाप जिल्लाका केही भागलाई समेत कम्पनीले मल उपलब्ध गराउँदै आएको छ । गोदाममा चैत मसान्तसम्मको मौज्दात अनुसार ९ सय ९२ टन युरिया, ८ सय ३ टन डिएपी र ६४ टन पोटास मल रहेको छ भने १ सय टन मल वैशाख १ गतेदेखि आयात भएको छ ।

चार ओटा जिल्लाका लागि १८ हजार टन रसायनिक मल आवश्यकता पर्ने भए पनि अहिले गोदाममा युरिया, पोटास र डीएपी गरी १९ सय ९५ मेक्ट्रिटन मात्रै मल रहेको कम्पनीका शाखा अधिकृत बासुदेव शर्माले बताउनुभयो ।

‘काभ्रे जिल्लामा मात्रै ७ हजार टन डीएपी र ६ हजार टन युरिया मल खपत हुन्छ, शाखा अधिकृत शार्माले भन्नुभयो, लकडाउनका कारण अहिले गोदाममा भएका मल सहकारी मार्फत गाउँ पठाउन समस्या भएको छ, वीरगञ्ज गोदामबाट यता ल्याउन पनि उस्तै समस्या छ ।’

लकडाउनले गर्दा जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाहरू २ घण्टा मात्रै खुल्ने भएकाले पनि मल खरिदका लागि आर्थिक कारोबार गर्न समस्या भएको तेमाल गाउँपालिका–२ का अध्यक्ष तिमाल सिं तामाङले बताउनुभयो ।

तेमाल बेशीबाट मल खरिद गर्न धुलिखेल आईपुग्नुभएका चुखाबेशी साना किसान कृषि सहकारी लिमिटेडका अध्यक्ष पञ्च लाल श्रेष्ठले मल खरिद गरे पनि गाउँसम्म ढुवानी गर्न गाडीको समस्या भएको बताउनु भयो ।

‘गाउँ घरमा मकै र धान खेतीको सिजन शुरु भईसक्यो तर लकडाउनले गर्दा मल गाउँमा पु¥याउन नसक्दा किसानहरू चिन्तित बन्न थालिसकेका छन्, श्रेष्ठले भन्नुभयो ।’

इन्सेक सिन्धुली जिल्ल प्रतिनिधि बिमला पाण्डेका अनुसार सिन्धुली जिल्लामा भने मल बीउको अभाव छैन तर ढुवानिमा समस्या रहेको छ । तत्कालको आवश्यकता पूर्तिका लागि ४१ सय बोरा रासायनिक मल ल्याईसकिएकाले तत्कालका लागि मलको अभाव नभएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनु भयो ।

लकडाउनको कारण उक्त मल वितरण गर्न भने समस्या भएको छ । मल वितरण गर्दा स्थानीय सरकारसँगको समन्वयमा सहकारी मार्फत गर्न जिल्लास्तरको मल व्यवस्थापन समितिले कृषि सामग्री केन्द्र सिन्धुलीलाई अनुरोध पनि गरेको छ ।

विरगञ्जमा कोरोना संक्रमित भेटिएपछि पर्साको लकडाउनमा कडाई भएकाले थप मल ल्याउन सकिएको छैन । कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख भरतप्रसाद विडारीले मल र बीउको कुनै गुनासो नआएको बताउनु भयो । बीउ वितरणको जिम्मा स्थानीय तह अन्तर्गतका कृषि शाखाको भएको र किसानलाई आवश्यक विउ नपाएको गुनासो कतैबाट नसुनिएको विडारीले बताउनु भयो ।

यता कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुलीले रामेछाप र दोलखालाई भने मल दिन नसकेको जनाएको छ ।

इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार ललितपुर जिल्लामा पनि मल, बीउ नपाउँदा किसान समस्या परेका छन् ।

तरकारी, मकै र धानको बीउ किनेर बाली लगाउने समयमा लकडाउन हुँदा किसानहरू मर्कामा परेका हुन् । रासायनिक मल खरिद गरेर ल्याउन पासको व्यवस्था गर्दा सजिलो भए पनि बीउविजनका बारेमा सुरक्षा निकायलाई असजिलो भएको पाएको कृषि ज्ञान केन्द्रका योजना अधिकृत दिनेश जमरकटेलले बताउनु भयो ।

जिल्लामा ८ हजार ४ सय ९ हेक्टर जमिनमा २५ हजार २ सय २७ मेट्रिक टन मकै उत्पादन हुनु पर्नेमा यस वर्ष कृषक र सरकारी निकायबीच समयमै उचित समन्वय हुन नसक्दा केही प्रभाव पर्ने कृषि ज्ञान केन्द्रका प्रमुख निर्मल गदालले बताउनु भयो ।

गोदावरी नगरपालिकाका सामाजिक विकास समिति संयोजक भाष्कर थापाका अनुसार सहकारी संस्थाहरूले मल माग गरे अनुरुप विक्री भएको समेत प्रमाणित गर्नु पर्ने नीति अनुरुप सेवा सञ्चालनमा केही अप्ठेरो भएको सहकारीकर्मीहरूको गुनासो छ ।

कृषि ज्ञान केन्द्रले बीउको नमूना परिक्षण गरेपछि मात्र मकैको बीउ विक्री गर्ने गरेकोमा यस वर्ष लक डाउनका कारण त्यसो गर्न नपाएकाले बीउका लागि छुट्याएको एक टन मकै विक्री गर्न नपाएको उन्नत बाली कृषक समूह, छम्पीका अध्यक्ष कृष्णबहादुर घिमिरेले बताउनु भयो ।

समूहले बिगत वर्षहरूमा १३ टन धान, ३ टन मकै र १० टन गहुँको बीउ विक्री गर्दै आएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला कृषि सहकारी संघ ललितपुरका सचिव पुरुषोतम हुमागाईका अनुसार ललितपुरमा रहेका १ सय ४० मध्ये ५० ओट संस्थाहरूले कृषकहरूलाई सुलभ कर्जाको व्यवस्था, कृषिकर्मी रोजगार कार्यक्रम ल्याएर कृषकसँगै अभियानमा लाग्ने गरेको बताउनु भयो ।

सरकारी नीति अनुसार रासायनिक मल विक्री गर्न निश्चित मापदण्ड रहेको र त्यस अनुसार स्थानीय सरकारको सिफारिस लिइ जिल्ला स्थित कृषि ज्ञान केन्द्रबाट अर्को सिफारिस लिनु पर्ने र साल्ट ट्रेडिङ लिमिटेड वा कृषि सामग्री संस्थानमा गएर रासायनिक मल खरिद गर्न पाउने व्यवस्था रहेकोले सहकारीहरूले समयमै काम गर्न कठिन भएको बताउनु भयो ।

कृषि ज्ञान केन्द्रको कारण मात्र नभइ कृषि बीउ र मलको वितरण बारे सङ्घीय सरकारले स्पष्ट सूचना जारी नगरेसम्म कृषकहरू मर्कामा पर्ने केन्द्रका प्रमुख निर्मल गदालले बताउनु भयो ।

इन्सेक रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार रसुवा जिल्लामा धानको बीउ, किटनाशक विषादी तथा मलको अभाव भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामको लागि गरिएको लकडाउनको कारण रासायनिक मल र बीउ बजारमा अभाव हुन थालेको कालिका गाउँपालिका –५ का किसान भवनाथ पौडेल बताउनुभयो ।

उत्तरगया क्षेत्रमा मल भने सहकारीमार्फत ल्याउने तयारी गरिएको छ । बजारमा युरिया मल तथा धान, मौसमी, बेमौसमी तरकारीको बीउ अभाव भएको बीउ विक्रेता उत्तरगया गाउँपालिका–५ का बालकृष्ण घिमिरेले बताउनु भयो । अहिले धानको बीउको चाहिने मौसम हो । तरकारीका बीउ अभाव भएपनि जिवजिवे क्षेत्रमा भने मल अभाव नभएको मल विक्रेता सागर पौडेलले बताउनु भयो ।

इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबाबु धितालका अनुसार खेतमा चैते धान रोपाइ गर्ने र बारीमा मकै रोप्ने सिजन सुरू भए पनि लकडाउको कारण रासायनीक मल र मकैको बीउ उपलब्ध नभएपछि किसानहरूमा चिन्ता थपिएको छ ।

रासायनिक मल वितरण गर्ने कृषि सामग्री संस्थानको कार्यालय लकडाउका कारण बन्द भएकाले मल खरिद गरी किसानलाई विक्री गर्न नपाएको चौतारा सागाँचोकगढी नगरपालिका–७ स्थित मल विक्रेता रबिन गौतमले बताउनु भयो । “रासायनीक मल खेतमा हाल्न पाइएन, यस वर्ष उत्पादन घट्ने पक्का छ” किसान दुर्गाबहादुर श्रेष्ठले भन्नुभयो ।

इन्सेक दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार लकडाउनका कारण दोलखा जिल्लामा पनि मल र बीउको चरम अभाव देखिएको छ । लकडाउन कारण दोलखामा एक महिनादेखि ढुवानी हुन नसक्दा दोलखाका किसान मल र बीउ नपाएर समस्यामा परेका हुन् । मकै, गहुँ र तरकारी खेती गर्ने मौसममा मल र बीउ अभाव हुँदा कृषक समस्यामा परेको मेलुङ गाउँपालिका–१, पवटीका किसान देवीबहादुर पाण्डेले बताउनु भयो ।

मल, बीउ कारोबार गर्ने सीमित एग्रोभेटले पनि ती सामग्री ढुवानी गर्न नपाउँदा पहाडी जिल्लाको मुख्य खेती गर्ने मौसममा समयमै मल, बीउ अभावले कृषकहरू समस्यामा परेका छन् । मकै गोड्ने बेलामा र गहुँको उत्पादन बढाउन युरिया मल हाल्न नपाएपछि उत्पादन घट्ने पाण्डेले चिन्ता व्यक्त गनु भयो ।

जिल्लामा इजाजत प्राप्त निजी डिपो र सहकारीमार्फत रासायनिक मलको आपूर्ति तथा विक्री हुने गरेकोमा उनीहरूले पनि करिब एक महिनादेखि ढुवानी गर्न नपाएको ओली एग्रोभेट चरिकोटका प्रोप्राइटर शान्तिप्रसाद ओलीले बताउनु भयो ।

तत्कालीन कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा युरिया, डीएपी र पोटास जस्ता रासायनिक मल करिब ३ हजार टन खपत हुने गरेको थियो ।

जिल्लाको लागि आवश्यक धानको बीउको मौज्दात शून्य जस्तै रहेको विभिन्न स्थानीय तहहरूले जनाएको छन् । २ हजार १ सय ९१ वर्ग किलोमिटर क्षेत्रफल रहेको दोलखाको २६ दशमलब ४५ प्रतिशत क्षेत्रफलमा कृषि खेती हुने गरेको तथ्याङ्क रहेको छ ।

इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार मकवानपुरमा रसायनिक मलको अभाव छैन तर किसानले मकैको बीउ पाउन सकेका छैनन्  । मकवानपुर गढी ६ डुम्रेकुनाका कृषक रामप्रसाद तिमल्सिनाले आफ्नो खेतमा लगाउन चाहेको हाइबे्रड प्रजातिको मकैको बीउ नपाएको गुनासो गर्नुभयो । मकै लगाउन आफ्नो दश कठ्ठा जग्गा जोतेर बीउ लिन हेटौंडा बजारसम्म हिँडेर पुग्नुभएका तिमल्सिना मकैको बीउ नपाएपछि रित्तो हात फर्कनुभयो ।

नेपाल बीउबीजन व्यवसायी सङ्घ बागमती प्रदेश अध्यक्ष विश्वराज बानिँयाका अनुसार लकडाउनको कारण भारतबाट आउने हाइबे्रड जातका मकैको बीउ नआएको कारण अभाव सिर्जना भएको हो । गत भदौको लागि ल्याइएको र विक्रीपछि मौज्दात रहेको मकैको बीउ हालसम्म बिक्री भएपनि नयाँ बीउ नआएपछि जिल्लामा बीउको अभाव भएको बानिँयाले बताउनु भयो । यस्तै स्थानीय जातका मकैका बीउ पनि अभाव हुँदै गएको उहाँले बताउनुभयो ।

कृषि सामग्री संस्थान लिमिटेड हेटाैँडाले मकवानपुरमा रसायनिक मलको अभाव नरहेको बताएको छ । संस्थानले चैत र वैशाख ७ गतेसम्म ५ सय ८८ टन युरिया सहकारी संस्थामार्फत विक्री गरेको जनाएको छ । हेटौंडा स्थित संस्थानका कार्यालय प्रमुख लक्ष्मण यादवका अनुसार चैत महिनामा ३ सय ७१ टन युरिया विक्री गरेको छ । भने वैशाखको ८ गतेसम्म २ सय १७ टन युरिया विक्री गरिएको बताउनु भयो । चैत र वैशाखमा चैते धान र मकैमा युरिया प्रयोग हुने भएकोले यस अवधिमा युरिया मल धेरै विक्री भएको प्रमुख यादवले बताउनु भयो । संस्थानको गोदाममा अझै १० टनभन्दा बढि युरिया, २५ टन पोटास र करीब ४ सय टन डीएपी मल मौज्दात रहेको उहाँले बताउनु भयो ।

 


इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडा