लकडाउनको कारण प्रभावित स्वास्थ्य सेवा सुरु

  ०७७ वैशाख २० गते

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ गतेबाट लकडाउन लागु गरेको छ । यो बीचमा एक महिनादेखि लगभग बन्द रहेका नियमति खोप सेवाहरू अब सुरु गर्न थालिएको छ ।

तर लकडाउनलाई अवसरको रूपमा लिएर औषधिमा कालोबजारीदेखि बिरामी माथि दुव्र्यवहार समेत भएको पाइएको छ । स्वास्थ्य कार्यालयहरूमा औषधि प्रयाप्त मौज्दात हुँदाहुदै पनि स्थानीय तहसम्म पुर्‍याउन ढुवानिको समस्या रहेको छ त कतै औषधि नै उपलब्ध छैन ।

सामाजिक विकास मन्त्रालयले खोप लगायतका दैनिक उपलब्ध हुने सबै सेवा सुचारु गर्न जिल्लाहरूलाई र जिल्ला स्वास्थ्यले स्थानीय पालिकाहरूलाई नियमित गर्न आग्रह गरेपछि स्वास्थ्य संस्थाले कार्यातालिका नै बनाएर सेवा उपलब्ध गराउन थालिका छन् ।

स्वास्थ्य सेवाको प्रभावकारीता तथा समस्याबारे इन्सेक बागमती प्रदेश अन्तरगतका जिल्ला प्रतिनिधिहरूले पठाउनुभएको प्रतिवेदन यहाँ प्रस्तुत गरिएको छ ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार अनुगमन नहुँदा भक्तपुरमा औषधिमा कालोबजारी हुन थालेको छ । एकातिर औषधि व्यवसायिले कालोबजारी गर्ने र अर्कोतर्फ वडा वडामा रहेका स्वास्थ्य चौकीहरूले सामान्य स्वास्थ्य सेवा समेत नदिई अभद्र व्यवहार गर्ने गरेको पाइएको छ ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोल स्वाथ्य चौकीले स्थानीयवासीलाई सेवा नै नदिई अभद्र व्यवहार गरेको घटना सार्वजनिक भएको छ । स्वास्थ्य चौकीमा उच्च रक्तचाप मापनका लागि जानुभएका स्थानीय मुरारी नगरकोटीलाई स्वास्थ्यकर्मीले गेटबाटै फर्काइ दिएका छन् ।

ढोका बन्द गरेर भित्र बसेका स्वास्थ्यकर्मीले बिरामी हेर्दै नहेरी फर्काउने गरेको गुनासो गर्दै उहाँले भन्नुभयो–“टाउको निकै दुखेर रक्तचाप परीक्षण गर्न गए, सबै स्वास्थ्यकर्मी ढोका बन्द गरेर बसेका छन्, रक्तचाप परीक्षण गर्न मिल्दैन, भित्र आउन पनि मिल्दैन भनेर बाहिरैबाट फर्काइदिए ।”

ज्वरो आएको मापन गर्दै औषधि लिन सोही स्वास्थ्य चौकी गएका स्थानीय लक्ष्मीभक्त खाताखोले स्वास्थ्यकर्मीले अभद्र व्यवहार गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “ज्वरो आयो अनि चेक गरेर औषधि ल्याउनु प¥यो भनेर स्वास्थ्य चौकी गए, ढोका बन्द थियो, भित्र स्वास्थ्यकर्मी आफै थर्मल गनले ज्वरो नापेर जिस्किएर बसेका थिए, मैले ज्वरो नाप्नु पर्‍यो, औषधि लानु पर्‍यो भन्दा सिटामोल भित्रबाट बाहिर फ्याकिदिए, ज्वरो नापेनन् ।”

कतिपय अस्पतालमा सञ्चालित फार्मेसीदेखि, औषधि पसल र क्लिनिकहरूले औषधिको मनोमानी मूल्य लिएको गुनासो व्यापक आए पनि अनुगमन नहुँदा उपभोक्ता मारमा परेका छन् । बढी मूल्यमा सर्जिकल मास्क विक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गर्‍यो ।

अनुगनमका क्रममा बढी मूल्य लिई मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई गत वैशाख ५ गते विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल २ लाख रुपियाँ जरिवाना गरिएको थियो ।

यस्ता धेरै फार्मेसीहरूले लकडाउनलाई अवसर मानेर औषधिमा कालोबजारी गरेपनि सम्बन्धित निकायले चासो नदिएको उपभोक्ताहरूको गुनासो छ ।

‘लोकन्थलीको समिट अस्पताल अवैध रूपमा सञ्चालनमा छ, त्यहाँ धेरै प्रक्रिया पुगेका छैनन् उपचार पनि हुँदैन, बोर्ड मात्रै राखेर किन अस्पताल चलाउँछन् अनुगमन गर्नुपर्‍यो भनेर जिल्ला स्वास्थ्य कार्यालयको प्रमुखलाई पटक–पटक भन्यौ तर चासो दिनुभएन’ मध्यपुरथिमि–१ लोकन्थलीका समिर भट्टले भन्नुभयो ।

समिट अस्पतालको बारेमा अख्तियारदेखि सर्वोच्चसम्ममा उजुरी पर्दा पनि जिल्लाको अनुगमन गर्ने निकाय भने नदेखे झै गरेर बसेको लोकन्थलीका श्यामसुन्दर कार्कीले बताउनु भयो ।

भक्तपुरका अधिकांश औषधि पसलहरूमा अहिले बालबालिकाको दमको लागि प्रयोग हुने औषधि, क्यान्सर, मुटु रोगी, मृगौलाका बिरामीले प्रयोग गर्ने औषधिहरू बजारमा अभाव सृजना गरेको उपभोक्ताको गुनासो छ ।

इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार सरकारले निःशुल्क दिने औषधि अभाव भए पनि ललितपुरका बजारमा भने पर्‍याप्त मौज्दात रहेको छ ।

कोरोना भाइरस (कोभिन–१९) को महामारी विश्वभर फैलिएपछि दीर्घरोगीहरू मुटु, क्यान्सर, सुगर, प्रेसरलगायतका बिरामीहरूले नियमित खाने औषधि बजारबाट दुई/तीन महिनाका लागि खरिद गरेको औषधि व्यवसायी कमल केसीले बताउनु भयो ।

बजारमा औषधि विक्रेताहरूलाई बन्दको कारण समस्या नभएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख एवम् एसएसपी टेकप्रसाद राईले बताउनु भयो ।

बज्रबाराही चापागाउँ अस्पतालका व्यवस्थापक मधुराम केसी.का अनुसार नेपाल सरकारले निःशुल्क उपलब्ध गराउनु पर्ने ५७ प्रकारका औषधि मध्ये ३५ प्रकारका औषधि मात्र अस्पतालसँग मौज्दात छन् । ती औषधिहरू खरिदका लागि प्रक्रिया अघि बढाई सकिए पनि औषधि आउन बाँकी रहेको व्यवस्थापक के.सी.ले जानकारी दिनु भयो ।

महाँकाल गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दका अनुसार महाँकाल गाउँपालिकाभित्र रहेका ६ ओटा स्वास्थ्य चौकीहरूमा ३५/३५ किसिमका निःशुल्क वितरण गर्नु पर्ने औषधि हुनु पर्नेमा २७ प्रकारका मात्र औषधि उपलब्ध छन् ।

गाउँपालिकाको स्टारमा सकिएका औषधि मध्ये भिटामिन बि कम्प्लेक्स, सिप्रो र बर्थिङ सेन्टरका लागि चाहिने औषधि रहेका छन् । उहाँका अनुसार औषधि खरिदको प्रक्रिया अघि बढे पनि लकडाउनका कारण केही ढिलो भएको हो ।

पहिले भारतीय कम्पनीहरूले नेपालमै ल्याएर औषधि उपलब्ध गराउने गरेकोमा अहिले यातायात असुविधा देखाएर कम्पनीहरूले भारतमै आउन आग्रह गर्ने गरेको औषधि व्यवसायी राजु पन्थीले बताउनु भयो ।

चिकित्सकले तोकेकै कम्पनीको औषधि नपाइए पनि त्यही कम्पोजिसनको अरु कम्पनीका औषधि भने अभैm एक महिना लकडाउन भए पनि अभाव नहुने औषधि व्यवसायी सङ्घका सदस्य पन्थीले बताउनु भयो ।

औषधि व्यवसायी सङ्घ ललितपुरका अध्यक्ष इन्द्रवीर महर्जनका अनुसार भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले ०७६ फागुन २० गते १३ थरीका कच्चा पदार्थ र तिनै कच्चा पदार्थबाट बन्ने १३ थरीका औषधिको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्रतिबन्ध लगाएका औषधिमा पारासिटामोल, ट्रिनिड्याजोल, मेट्रोनिडाजोल, एसाइक्लोभियरलगायतका थिए ।

औषधिमा नेपाल ७५ प्रतिशत आत्मनिर्भर रहेको भन्दै अभाव नहुने अध्यक्ष महर्जनको दावी छ । औषधि उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीका अनुसार भारतले प्रतिबन्ध लगाउँदा नेपाली बजारमा तत्काल असर पर्दैन ।

नेपाली औषधि व्यवसायीहरूसँग अझै दुईदेखि तीन महिनालाई पुग्ने औषधि र औषधि उत्पादन गर्ने कच्चा पदार्थ मौज्दात छ । कच्चा पदार्थ र बजारमा भएका औषधि हिसाब गर्दा अझै ६ महिनासम्म नेपालमा औषधि अभाव हुदैन ।

उहाँका अनुसार पारासिटामोल औषधि बनाउन चाहिने कच्चा पदार्थ जनवरीमा ३८ मेट्रिक टन र फेब्रुअरीमा पनि त्यति नै आयात गरिएको छ । अन्य औषधिको कच्चा पदार्थको पनि अभाव छैन ।

नेपालमा कूल वार्षिक खपतमध्ये ४८ प्रतिशत तयारी औषधि भारतबाट आउँछ भने ५२ प्रतिशत नेपाली कम्पनीले नै उत्पादन गर्छन् । यस्तै नेपालमा उत्पादन हुने औषधिका लागि ८० प्रतिशत कच्चा पदार्थ भारत र २० प्रतिशत चीनबाट आयात हुने गरेको छ ।

सरकारी तथ्याङ्कअनुसार नेपालमा एलोपेथिक औषधिका ६२ ओटा उद्योग छन् । उनीहरूले उत्पादन गरेका औषधिले आधाभन्दा बढी माग धान्ने गरेको छ ।

इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज घिमिरेका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलने डरले रामेछापमा नियमित खोप सेवा समेत प्रभावित भएको छ ।

अहिले जिल्लाका सबै खोप केन्द्रहरूमा जन्मिएदेखि ९ महिनासम्मका बालबालिकालाई लगाउने सबै खोप सेवा बन्दा रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिनु भयो ।

जिल्लाका सबै स्वास्थ्य संस्थाहरूले एक महिनादेखि खोप सेवा सञ्चालन गरेका छैनन् । जसले गर्दा यो एक महिनाको बीचमा खोप लगाउने बाबिालकाहरूको खोप छुटेको छ ।

बालबालिकालाई लगाउने खोप सेवा प्रभावित भएपछि ०७७ वैशाख ९ गते मात्र खोप सेवा नियमित रूपमा सञ्चालन गर्न केन्द्रबाट पत्र आएको स्वास्थ्य प्रमुख कर्णले बताउनु भयो । आवश्यक व्यवस्थापन गरी सेवा सञ्चालनमा ल्याउने कर्णले बताउनुभयो ।

‘केही स्थानीय तहहरूमा समेत औषधि ढुवानीमा समस्या छ भन्ने आइरहेको छ, अब सबै कुराको व्यवस्थापन गरि दुरी कायम गरेर सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ’, कर्णले भन्नु भयो ।

इन्सेक रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार रसुवा जिल्लामा औषधिको उपलब्धता राम्रो छ । निःशुल्क उपलब्ध गराउनुपर्ने औषधि अभाव छैन । गाउँपालिकाले औषधि आपूर्ति गरिरहेको छ । नियमित खोप तथा दीर्घरोगीहरूलाई आवश्यक औषधि सेवामा समस्या नरहेको बताइएको छ ।

इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार केही स्वास्थ्य संस्थाहरूमा नियमित औषधिको अभाव हुन थालेको छ ।

केही स्वास्थ्य संस्थाहरूले बिरामीको जाँच नगर्ने लगायतका समस्या आउने गरे पनि सिन्धुलीका स्वास्थ्य संस्थाहरूले आपतकालिन स्वास्थ्य सेवा सुचारु राखेका छन् । विशेष गरि प्रसुति सेवा र अन्य इमर्जेन्सी सेवा सञ्चालनमा रहेको पाइएको छ ।

दीर्घरोगीहरूले खाने केहि औषधि उपलब्धतामा कतैकतै मात्रै समस्या भएको पाइएको छ । जिल्लाका स्थानीय तहले आफू मातहतमा रहेका सबै स्वास्थ्य संस्थाहरूमा नियमित स्वास्थ्य जाँचलाई प्राथमिकता दिएका छन् भने औषधि आपूर्तिको व्यवस्था मिलाइरहेका छन् ।

जिल्लाभर ज्वरो जाँचका लागि १६ ओटा हेल्थ डेक्सहरू सञ्चालनमा रहेका छन् । उनीहरूले जिल्लाका विभिन्न नाकामा ज्वरो जाँच गरिरहेका छन् ।

सिन्धुली अस्पतालले ज्वरो आएका बिरामीका लागि २४ दिनदेखि फिवर इमर्जेन्सी सञ्चालनमा ल्याएको छ भने अन्य आपतकालिन सेवा दिनुपर्ने बिरामीका लागि नियमित इमर्जेन्सी सेवा दिइरहेको छ ।

जिल्लाको एकमात्र अप्रेशन सहितको प्रसुति सेवा दिने सरकारी अस्पताल समेत भएकाले यो सेवालाई निरन्तरता दिइरहेको छ । अस्पतालले लकडाउनको अवधिमा ६७ जना महिलाको नर्मल डेलिभरी र १४ जना महिलाको अप्रेसन सहितको डेलिभरी गराएको जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. लक्ष्मण खड्काका अनुसार अस्पतालले प्रसुति सेवा बाहेक दैनिक सरदर २५ देखि ३० जना बिरामीलाई आपतकालिन सेवा दिईरहेको छ । आपतकालिन अवस्थामा दिइने सेवामा कुनै कमी नगरिएको उहाँले बताउनु भयो ।

जिल्लाका सबै स्वास्थ्य संस्थाले ओपिडी सेवा भने दिएका छैनन् तर, ज्वरो आएका बिरामीको जाँचमा पनि कमी गरेका छैनन् ।

यस्तै अस्पतालले बीमामा समावेश रहेका र नियमित औषधि सेवन गर्ने बिरामीका लागि सहज वातावरण बनाएकोे छ । वैशाख ८ गते देखि २ घण्टाको समय उनीहरूलाई अस्पतालको फार्मेसीबाट औषधि लिन सक्ने व्यवस्था गरेको छ ।

नियमित औषधि खानेलाई एक पटकमा एक महिनाका लागि औषधि दिने व्यवस्था गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताउनु भयो ।

उहाँका अनुसार सिन्धुली अस्पतालमा केहि दीर्घ बिरामीले खाने औषधिको कमी हुन थालेको छ । विशेष गरि सुगरका बिरामीको इन्सुलिन, थाइराईडका बिरामीले खाने औषधि लगायतका केहि औषधि कमी हुँदै गएको छ ।

कमलामाई नगरपालिका मातहतका १५ ओटा स्वास्थ्य संस्थामा नियमित बिरामी जाँच गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । करिब एक सातादेखि नगरपालिकाले बिरामी जाँचको दैनिक प्रतिवेदन समेत सार्वजनिक गर्ने गरेको छ । नगरपालिकाले दैनिक १ सय ५० जनाभन्दा बढी बिरामीको जाँच गरिरहेको जनाएको छ ।

कोरोनाको सङ्क्रमणमा नगरबासीलाई स्वास्थ्य सेवामा समस्या नहोस भनेर नगरपालिकाले दैनिक प्रतिवेदन समेत माग गरी सार्वजनिक गरिरहेको छ ।

सबै स्वास्थ्य संस्थालाई ज्वरो, रुघाखोकीका बिरामीको जाँच गर्नका लागि पीपीई समेत उपलब्ध गराई स्वास्थ्य सेवालाई निरन्तरता दिईएको र सबै खाले बिरामीको जाँच गर्ने प्रबन्ध मिलाइएको स्वास्थ्य शाखाका प्रमुख केम थापाले बताउनु भयो ।

तिनपाटन गाउँपालिकाका दुई ओटा प्राथमिक स्वास्थ्य केन्द्र सहित ११ ओटा स्वास्थ्य संस्थाहरूले आपतकालिन सेवालाई निरन्तरता दिएका छन् । यस्तै दुई ओटा प्राथमिक स्वास्थ्य केन्द्रले नियमित प्रसुति सेवा चलाईरहेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाले बताउनु भयो ।

गाउँपालिकामा गाउँपालिकाले खरिद गरेको औषधि र जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको औषधि दुई महिनालाई पुग्ने स्टक रहेको थापाले बताउनु भयो । उहाँका अनुसार दीर्घरोगीहरूलाई भने औषधि खरिद गरेर खान समेत गाह्रो परेको छ ।

फिक्कल गाउँपालिकाले नियमित स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थाहरूलाई परिचालन गरेको छ । सिमित श्रोतका बाबजुद स्वास्थ्य संस्थाहरूलाई नियमित स्वास्थ्य जाँच गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताउनु भयो ।

मरिण गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा औषधि तथा नियमित चेकजाँचको व्यवस्था गरिएको छ । गाउँपालिकाले आफै औषधि खरिद गरेर तथा स्वास्थ्य कार्यालय सिन्धुलीको समन्वयमा औषधि सबै स्वास्थ्य संस्थामा पु¥याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यो वर्ष करिब १९ लाखको औषधि खरिद गरेकाले हालसम्म औषधिको समस्या छैन । फेरी १० लाखको औषधि खरिद गर्ने तयारी गरिरहेको छ । स्वास्थ्य कार्यालय सिन्धुलीबाट प्राप्त औषधि र हाल भएको औषधिले तीन महिनाका लागि समस्या नहुने देखिएको छ ।

हरिहरपुरगढी गाउँपालिकाको पाँच ओटा स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच भइरहेको छ । नियमित खोपको काम पनि सुरु गरिएको छ ।

गाउँपालिकाले करिब ४ लाख रुपियाँको औषधि खरिद गरेको छ र स्वास्थ्य कार्यालयबाट आएको औषधि सहित करिब दुई महिनालाई पुग्ने औषधि स्टक रहेको गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले बताउनु भयो ।

दुधौली नगरपालिकामा एम्बुलेन्स चालकलाई बीमा गरिएको छ । नगरपालिकाले सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्र दुधौली स्वास्थ्य चौकी लगायतका स्वास्थ्य संस्थामा दैनिक रूपमा स्वास्थ्य जाँचलाई निरन्तरता दिएको छ ।

नगरपालिकाले तथा स्वास्थ्य कार्यालयको सहयोगमा प्राप्त औषधिहरू समेत हुँदा औषधिमा त्यति धेरै समस्या छैन । नगरपालिकाले नियमित ज्वरो जाँचका लागि पालिका प्रवेश गर्ने स्थानमा हेल्थ डेक्स सञ्चालन गरेको छ । होम क्वारेन्टाईनमा राखिएका नागरिकको नियमित स्वास्थ्य जाँच पनि गरिरहेको जनाएको छ । एम्बुलेन्स चालक, नगरप्रहरी र नगरपालिकाका सवारी चालकको १० लाख बराबरेको स्वास्थ्य बीमा गराएको छ ।  सुनकोशी गाउँपालिका, सामुदायिक अस्पतालमा नियमित आपतकालिन सेवा उपलब्ध छ । सात ओटा एम्बुलेन्स चालकको ५ लाख रुपियाँ बराबरको दुर्घटना बीमा गरिदिएको छ । उनीहरूलाई प्रोत्साहन गर्न स्वास्थ्य सुरक्षाका सामग्री दिइएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुलीले एक महिना रोकिएको नियमित खोप सञ्चालन गर्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ । जिल्लामा २०७७ वैशाख ११ गतेदेखि सबै स्वास्थ्य संस्थामा नियमित खोप सञ्चालन हुन थालेको छ । त्यसका लागि नौ ओटै स्थानीय तह भ्याक्सिन लिन स्वास्थ्य कार्यालय सिन्धुलीमा आएका छन् ।

इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विमला पौडेलका अनुसार बालकालिकाहरूलाई लगाइने नियमति खोप सेवा सुरु गरिएको छ । वैशाख ९ गते देखि सबै स्वास्थ्य संस्थाहरूमा नियमित रूपमा खोप सञ्चालनमा आएको हो ।

बालबालिका खोपबाट बञ्चित भए बाल मृत्युदर बढ्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनु भएको छ ।

‘वर्तमान समयमा बाल मृत्युदर घट्दै गएको स्थिति हो,’ उहाँले भन्नुभयो, ‘तर बालबालिकालाई नियमित रूपमा दिइने खोप कार्यक्रम समयमा सञ्चालन भएन भने मृत्युदर बढ्न सक्छ ।’

बालबालिकालाई बीसीजी, पोलियो, दादुरालगायतका खोप कार्यक्रम समयमा सञ्चालन गर्न नसकेमा नियन्त्रणमा आएका रोग पनि नेपालमा भविष्यमा फेरि देखिन सक्ने खतरा छ ।

त्यसैले ‘बालबालिकालाई नियमित रूपमा लगाउने खोप नलगाएर नतिजा प्रतिकूल बन्न पुगेको अवस्थामा अवस्था डोनरहरूले सहयोग नगर्ने अवस्थासम्म सृजना हुन सक्ने’ उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार ‘अहिले प्रति १ हजार जन्मिएका नवजात शिशुमध्ये २८ दिनसम्मका नवजात शिशुको मृत्युदर ६० प्रतिशत घटेको अवस्था छ ।’ बच्चा जन्मिएको १५ महिनाभित्र १२ प्रकारका खोप दिनुपर्छ ।

‘लकडाउनकै समयमा खोप कार्यक्रम सञ्चालन गर्नका लागि तयारी गरि अघि बढेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बतानुभयो । ‘भविष्यमा हुन सक्ने जोखिमलाई ख्याल गर्दै नियमित खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

‘प्रदेश तथा स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालयसँग संमन्वय गरेर खोप कार्यक्रम अगाडि बढाइएको डाक्टर गौतमले बताउनुभयो । उहाँका अनुसार दादुरा, रुबेलासम्बन्धी कार्यक्रम लकडाउन खुलेपछि सञ्चालन हुनेछ । एकाध स्थानमा बाहेक नेपालभरको अधिकांश स्थानहरूमा खोप कार्यक्रम संञ्चालनमा आएको उहाँले बताउनुभयो । नेपालमा प्रत्येक साल करिब ६ लाख २० हजार बालबालिकाले निःशुल्क रूपमा खोप लगाउँदै आएका छन् ।

इन्सेक दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार लकडाउन सुरु भएपछि स्वास्थ्य संस्थाले बन्द गरेका नियमित सेवा सूचारु भएका छन् । नवजात शिशुका लागि दिइने खोप, दीर्घरोगीहरुका लागि औषधी घरघर पुगेरै वितरण सुरु गर्न स्थानीय तहलाई निर्देशन दिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

मेलुङ गाउँपालिकाले त लकडाउन सुरु भएयता ३३ जना बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा सेमेत उपलब्ध गराएको छ ।

लकडाउन अवधिभर स्वास्थ्य संस्थामा पुगेका बिरामीको उपचार सम्भव नभएर रिफर गरिएकाहरूलाई राजधानी काठमाडाँैसम्मका सबै दुरीमा निशुल्क सेवा उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार केन्द्रीय अस्पतालको रूपमा रहेको भरतपुरमा अस्पतालमा लकडाउन हुनु अघि दैनिक १ हजार ५ सय जनासम्मले सेवा लिने गरेका थिए । तर अहिले यो सङ्ख्या जम्मा ३ सय जनामा झरेको छ । अस्पतालमा हाल अत्यावश्यक सेवा लिनपर्ने खालका बिरामी मात्र आउने गरेकाले कम सङ्ख्या देखिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनुभयो ।

कुनै पनि सेवा प्रभावित छैन, उहाँले भन्नु भयो ‘सुत्केरी, बालबच्चा, हाडजोर्नी, वृद्धवृद्धा, सबै वार्डमा बिरामी छन् ।’ बिरामी आएको खण्डमा उपचार नपाएर कोही पनि फर्कनु नपर्ने गरि अस्पतालले सेवा दिइरहेको उहाँले बताउनुभयो । डाक्टर, नर्स र नन्पारामेडिकल जनशक्ति सबै सेवामा निरन्तर रहेकाले कुनै समस्या नभएको अस्पतालले जनाएको छ ।

त्यस्तै भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा वैशाख १६ गतेबाट ओपीडी सेवा पुनः सुरु गरिएको छ ।

देशमा लकडाउन लागु भएको ०७६ चैत ११ गतेदेखि रोकिएको सेवा वैशाख १६ गतेबाट पुनः सुरु गरिएको र अस्पतालमा सबै खाले सेवा सुचारु रहेको अस्पतालका सूचना अधिकारी गृहनारायण महतोले बताउनुभयो । यसै गरि चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा सबै सेवाहरू सूचारु छन् ।

त्यस्तै विमा र गैरविमा दुबैै सेवा क्षेत्रका विरामीहरूको चाप ह्वात्तै घटेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलको भनाइ छ ।

अस्पताल परिसरमा रहेको फार्मेसीमा कुनै पनि औषधि अभाव नभएको भरतपुर अस्पतालका फार्मेसी इन्चार्ज रामहरि ढकालले बताउनुभयो ।

त्यस्तै जिल्लाको अरु सरकारी अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र निजी अस्पतालहरूले पनि सेवा दिइरहेको जिल्ला जनस्वास्थ्य चितवनका प्रमुख दिपकबाबु तिवारीले बताउनुभयो ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा