लकडाउनको कारण किसान र उपभोक्ता दुबै मारमा

  ०७७ वैशाख ७ गते

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन सरकारले २०७६ चैत ११ गते देखि लकडाउन (बन्दाबन्दी) घोषणा गरेपछि कृषकको उत्पादनले बजार नपाउँदा कृषकहरू मर्कामा परेका छन् । कुनै जिल्लामा उत्पादित तरकारी तथा दुधले बजार नपाउँदा समस्या भएको छ भने कतै कुखुरा बजारमा नपठाउँदा तथा समयमै दाना नभएको कारण कुखुरा तथा गाई भैँसी बचाउनै समस्या परेको छ । बागमती प्रदेशका इन्सेक प्रतिनिधिले पठाएको जिल्लागत विवरण यहाँ उल्लेख गरिएको छ ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार (कोभिड–१९) को सङ्क्रमण रोक्न नेपालमा जारी लकडाउनका कारण पशुपालन किसान पीडामा परेका छन् ।

उपत्यकामा उन्नत जातका व्यवसायीक रुपमा गाई पालक किसानहरू समस्यामा परेका हुन् । पशुलाई खुवाउने दाना तथा अन्य पशुआहारको अभाव र दूध विक्री नहुँदा किसान दोहोरो पीडामा परेका हुन् । चाँगुनारायण नगरपालिका–२ झौखेलमा डेस्टिनेशन एग्रो फार्म सञ्चालक प्रदीपराज पन्तले ठूला व्यावसायीक पशुपालकहरू यतिखेर निकै मर्कामा परेको बताउनु भयो ।

नेपाल डेरी फार्मस एशोसियसनका अध्यक्ष समेत रहनु भएका पन्तको झौखेलस्थित गोठमा ९० ओटा उन्नत जातका गाई छन् ।

लकडाउनका कारण आवश्यक दाना, दाना उत्पादन गर्ने कच्चा पदार्थ र भुसा आयात नभएपछि उपत्यकाका अधिकांश पशुपालक तथा कुखुरा व्यवसायीहरू निकै मर्कामा परेको उहाँको भनाई छ । दैनिक ९ सय लिटर दूध विक्री गर्दै आएका पन्तले लकडाउनपछि साना किसानको दूध लिन छाडेको बताउनु भयो ।

‘गोठमा २ सय ८८ ओटा उन्नतजातका गाई छन्, तर खानेकुरा नहुँदा नून र पानी खुवाएर बचाउनु परेको छ’ अर्का गाई पालक सुन्दरीजलका बाबुराम कार्कीले भन्नु भयो ।

उहाँका अनुसार लकडाउनपछि सर्लाही, बारा, पर्सा, रौतहटबाट आउने भुसा आउन छाडेको छ, दाना उद्योग बन्द छन् । ‘अलिअलि दाना र घाँस पाइए पनि महङ्गो छ, न औषधि छ, न प्राविधिक छन्, उपत्यकामा चरण क्षेत्र छैन । भोकले गाई कराएको सुन्दा मन भारी हुन्छ’ उहाँल भन्नुभयो ।

‘ऋणको साँवा व्याज तिर्नुपर्ने चिन्ता एकातिर छ भने गाईहरू कसरी बचाउने भन्ने चिन्ता अर्कोतिर’ उहाँले भन्नुभयो ।

कतिपय मिठाई पसल र होटलहरू बन्द भएपछि बजारमा दूध खपत हुन छाडेको छ । चाँगुनारायण नपा–९ ताथलीमा ३५ ओटा गाईसहित बाख्रा पालन गर्दै आउनु भएका पशुपालक एशोसिएसनका सचिव भानु पराजुलीको गुनासो पनि उस्तै छ । दैनिक २ सय लिटर दूध उत्पादन गर्दै आएको उहाँ भने उत्पादित दूधलाई घरघरमा विक्री गरिरहेको भए पनि गाईलाई खुवाउने कुरा नहुँदा सास्ती खेप्नु परेको बताउनुहुन्छ । आफ्नो गोठ अलि गाउँमा भएको र थोरै गाई भएकाले चोकर, ढुटो खुवाएर जेनतेन अहिलेसम्म धानेको बताउदै यस्तै अवस्था रहे उपत्यकाबाट व्यवसायीक गाई पाल्नेहरू पलायन हुने बताउनुहुन्छ ।

उपत्यकामा अहिले कम्तीमा २० व्यवसायीक गाई फार्म र सयौँको घरमा साना किसानले गाई पालिरहेका छन् । दैनिक ३५ हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ भने उत्पादित दूध होटल ,मिसाई पसल, चिया पसल र घरहरूमा खपत हुँदै आएको छ ।

एशोसियसनका अध्यक्ष पन्त कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री, कृषि विभाग, अर्थ मन्त्रालय, योजना आयोगसम्म पुगेर २३ बुँदे माग राख्दा पनि सुनुवाई नभएको बताउनु हुन्छ । एशोसियसनले बैंकहरूबाट लिएको ऋणको ब्याज २, कृषि उपज प्रशोधनमा ५ र विक्री वितरण तर्फ ७ प्रतिशत व्याज कायम हुनुपर्ने, साँवा भुक्तानीको समय पछाडि सार्ने, सहुलीयत ऋण प्रवाह गर्नुपर्ने, कर्जाको सिमा रकम अधिकतम १० करोड पुर्‍याउनु पर्ने, कर्जा भुक्तानी १५ वर्षको हुनुपर्ने माग राखेको छ ।

भक्तपुरका तरकारी व्यवसायी किसानहरूको पनि उस्तै पीडा छ । मध्यपुरथिमि नगरपालिकाका कृषक रामप्रसाद प्रजापतिले हरियो तरकारी विक्री गर्न नपाउँदा समस्या भएको बताउनु भयो । हरेक वर्ष रोयो, चौम्सुर पालुङ्गो, मेथी, धनियाँ, लसुन विक्री गर्दै आउनु भएका उहाँ यस वर्ष कोरोनाका कारण तरकारी खेर गएको बताउनु हुन्छ ।

लकडाउनका कारण खेतमा भएको तरकारी विक्री गर्न लैजान नपाएको सुमन श्रेष्ठले बताउनु भयो । ‘लसुन छिप्पिन थाल्यो अरु हरिया तरकारी खेर जान थालेको छ’ उहाँले भन्नुभयो । किसान आफैलाई स्थानीय बजार खोज्दै जान समस्या भएपछि कतिपय किसानले स्थानीयलाई तरकारी सित्तैमा बाड्न थालेका छन् ।

सरकारले भारतबाट कोरोनोका जोखिम लिएर आयातित तरकारी रोकेर स्थानीय किसानको तरकारी विक्री गर्ने वातावरण बनाउनु पर्ने किसानहरूको माग छ ।

इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार ललितपुर जिल्लाको दूध किसानहरू पनि लकडाउनको कारण मर्कामा परेका छन् । ललितपुर महानगरपालिका–२५ भैसेपाटीका नानिनाथ हुमागार्ईंको गोठमा अहिले १७ ओटा भैँसी र १४ ओटा गाई छन् । उहाँको गोठबाट दैनिक ३ सय ४५ लिटर दूध उत्पादन हुने गरेको थियो । लकडाउनपछि ढुटो, पिठो, चोकर, दाना खुवाउन नपाउँदा दूध उत्पादन आधा घटेको हुमागाईले बताउनु भयो ।

साना दूध डेरी सञ्चालकहरूको सङ्गठन ललितपुर दुग्ध व्यवसायी समितिका अध्यक्ष टिकाप्रसाद घिमिरेका अनुसार ललितपुरको सदरमुकाम आसपास १ सयभन्दा बढि साना डेरी रहेकोमा ८० ओटा डेरी सङ्गठित छन् । ती डेरीहरूमा ४ हजारभन्दा बढि किसानले दैनिक २० देखि २५ हजार लिटर दूध विक्री गर्ने गरेका छन् ।

दक्षिण ललितपुरका कालेश्वर, ठुलादुर्लुङ, गिम्दी, आश्राङलगायतका वडाहरूबाट खुवा विक्री नहुँदा किसान मर्कामा परेको कालेश्वरवासी किसान निर्मला गौतमले बताउनु भयो । मिठाइ पसलेहरूले खुवा खरिद नगरिदिँदा अहिले किसानले उत्पादन गरेको खुवाको व्यवस्थापन गर्न गाह्रो भएको खुवा सङ्लक व्यवसायी हरि सञ्जेलले बताउनु भयो ।

ललितपुरबाट दैनिक १ सय २० देखि १ सय ६५ किलोसम्म खुवा सङ्कलन गर्ने व्यवसायीहरू ११ जना भन्दा बढि रहेको व्यवसायी कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा मात्र दैनिक ३ लाख देखि ४ लाख लिटर दूध खपत हुने गरेको दुग्ध विकास वोर्ड बागमती प्रदेशका निर्देशक एवम् भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र लगनखेलका प्रमुख डा. नारायणबहादुर श्रेष्ठले बताउनु भयो ।

श्रेष्ठले पशुपंक्षीलाई आहारामा राहात र पशुपंक्षी धनमा अनुदानको व्यवस्था गर्नु पर्ने माग रहेको बताउनु भयो । उहाँका अनुसार ललितपुरमा ८ हजार सङ्गठित र त्यसको झण्डै तेब्बर सङ्ख्यामा असङ्गठित गाईभैँसी पालक किसान रहेका छन् ।

जिल्लामा १ लाख गाई, ७० हजार भैँसी, २ लाख बाख्रा पालक किसानका साथै करिब ५ सय किसानले ५० हजार बंगुर, ७ सय किसानले ८ लाख कुखुरा पालन गर्दै आएका छन् ।

काभ्रे जिल्लामा ताजा तरकारी ढुवानीमा समस्या भएको इन्सेक काभ्रे  जिल्ला प्रतिनिधि हिरामान तामाङले बताउनु भयो । पनौती नगरपालिका–१० खोपासीका रन्जना खड्काले फलाएको काउली बजार नलगे कुहिने अवस्थामा पुगेसकेको छ । मासिक ६० हजारसम्म ताजा तरकारी बेचेर आफ्नो घर खर्च टार्ने खड्का लकडाउन यता भने खेतमै तरकारी कुहिने चिन्तामा हुनुहुन्छ ।

‘२५ ओटा टनेलमा लटरम्म तरकारी फलेका छन् । तर बजार लैजान पाएको छैन’ उहाँले भन्नुभयो । खड्का जस्तै जिल्लाका किसानले यो सिजनमा ५ हजार १ सय २० हेक्टर क्षेत्रफल जमिनमा तरकारी लगाएका छन् । दैनिक १ करोडभन्दा बढीको तरकारी बिक्रीका लागि बजार आउने गरेको थियो । तर अहिले बजारमा पुर्‍याउनै मुस्किल भएको छ ।

जिल्लाकै धेरै तरकारी निर्यात हुने पाँचखाल नगरपालिका किसान पनि ढुवानी समस्यामा छन् । पाँचखाल नगरपालिका–३ का लक्ष्मी गिरीको खेतमा अहिले गोलभेडा, फर्सि, काक्रो, प्याज, धनिया जस्ता तरकारी बजार लैजाने बेला भइसकेको छ । तर सहज रुपमा बजार लैजान नसकिएको यहाँले बताउनु भयो ।

तरकारी जस्तै जिल्लामा उत्पादन हुने दूध पनि बजार पुर्‍याउन निकै समस्या भइरहेको किसानहरूले बताएका छन् । काभ्रे जिल्लामा दैनिक ३ लाख लिटर दुध उत्पादन हुने गरेको छ ।

प्रशासनले तरकारी, दूध र फलफूल बोक्ने सवारी साधनलाई निर्वाध चल्नदिने बताएको छ । तर किसानले सहज रुपमा आफूहरूले उत्पादन गरेको दूध तथा तरकारी बजार लैजान नपाएको गुनासो गरेका छन् ।

जिल्लामा ९ हजार ६ सय २ हेक्टर क्षेत्रफल जमिनमा वार्षिक १ लाख ६२ हजार ७ सय ५२ मेक्ट्रिकटन तरकारी उत्पादन हुने गरेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनका कारण भरतपुरका किसानले बारीमा टयाक्टर लगाएको इन्सेक चितवन जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीले जानकारी दिनुभएको छ । भरतपुर महानगरपालिका–१६ बह्मपुरका झण्डै ८० भन्दा बढी किसानले तरकारी बारी जोतेका हुन् । १० लाख बढीको आम्दानी हुने अपेक्षा लिएकोमा सबै जोतिएको किसान मोहन पौडेलले बताउनु भयो ।

सरकारले लकडाउनमा अत्यावश्यक वस्तु उत्पादक उद्योग र विक्रेतालाई नरोक्ने नीति लिए पनि मुलुककै ठूलो धुलो दूध कारखाना चितवन मिल्क चैत २१ गतेबाट लकडाउनकै कारण व्यवस्थापनले बन्द गरेको छ ।

भरतपुर महानगरपाकिला–१४ भीमनगरका किसान मधुविलाश देवकोटले ९ नौ कठ्ठामा लगाएको चुकन्दर विक्री नभएपछि टयाक्टर लगाइदिनु भएको छ । गत मसिरमा चुकन्दर लगाउनु भएका उहाँले चैत महिनामै बेच्नु पर्ने भए पनि लकडाउनको कारण विक्री नभएपछि त्यतिकै थियो । ‘१ लाख लगानी भएको थियो, सबै खेर गयो’ उहाँले भन्नु भयो ।

यसै गरी इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार लकडाउनको कारण किसानहरूले आफ्ना उत्पादन बजार लैजान नपाएको गुनासो आउन थालेको छ ।
ककनी गाउँपालिका स्ट्रबेरीको पकेट क्षेत्र हो । यहाँका एक हजार भन्दा बढी किसानहरू उत्पादन भएको स्ट्रबेरी बजारमा लैजान नसक्दा लाखौँ रुपिया घाटा बेहोर्न बाध्य भएको पालिका अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभयो ।

इन्सेक रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार रसुवामा तरकारी अभाव हुन थालेको छ । बाहिरबाट आउने तरकारी फलफुल जन्य वस्तुको अभाव तथा महङ्गो भएको छ । जिल्लाबाट कुखुरा बजार अभावले समस्या परेको छ । कालिकास्थान, धुन्चे, स्याफ्रुबेशी टिमुरेमा पनि मासुजन्य र तरकारी जन्य बस्तु अभाव भएको छ । जिल्लामा खाद्यान्न पनि अभाव हुन थालेको छ । स्थानीय बजारमा खाद्यान्न अभाव भएकोले गाउँपालिकाले राहत वितरण समेत गर्न नसकेकोले आवश्यक व्यवस्थापनको लागि बाहिरी बजार जानुपर्ने आमाछोदिङमो गाउँ पालिका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो ।

दूध जन्य उत्पादन बजारमा लैजान समस्या परेको कालिका गाउँपालिका–४ र ५ तथा उत्तरगया गाउँपालिका–४ का किसानहरूको गुनासो छ ।

यसैबीच, इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भने जिल्ला बाहिरबाट तरकारी, फलपूmल, माछा मासु तथा खाद्यान्न आयातमा रोक लगाएको छ ।

प्रशासनले वैशाख ३ गतेदेखि एक साताका लागि यो निर्णय लागु गरेको हो । सिन्धुलीमाढीमा रहेको तरकारी बजारमा वैशाख ५ गते राती सर्लाही जिल्लाबाट तरकारी भित्रिएपछि विवाद भएको थियो । तरकारी व्यवसायीहरूले रामेछाप लैजाने भन्दै रातको समयमा तरकारी ल्याउने गरेको पाइएको थियो । वैशाख ५ गते राती सिन्धुलीको तरकारी बजारमा एक गाडी तरकारी आएको र सबै व्यवसायीले उक्त तरकारी नपाएपछि व्यवसायीहरूबीचमा विवाद भएको कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले बताउनु भयो । उहाँका अनुसार व्यवसायीहरूले तरकारी सबैले ल्याएर बेच्न पाउनुपर्ने भन्दै विवाद गरेपछि बाहिरी जिल्लाबाट तरकारी आउने क्रम नरोकिएको थाहा भएको थियो ।

खबर पाए लगत्तै प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डे, कमलामाई नगरपालिकाका मेयर खत्री, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देल, सशस्त्र वेश क्याम्प सिन्धुलीका डिएसपीलगायतको नेतृत्वको टोलीले सिन्धुलीमाढीको तरकारी बजार, मधुटारको कालीमाई मन्दिर, रातामाटा, धुरा बजार, माझीटारका तरकारी बजारमा छापा मारेको छ ।

छापामारेपछि नियन्त्रणमा लिएको तरकारी नष्ट गरेको छ । तरकारी बोक्ने उक्त गाडी र सवारी चालकलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको छ । ना ५ च २५८३ नम्बरको तरकारी बोक्ने डबल क्याप वोलेरो १२ बजे राती रामेछापको मन्थलीमा तरकारी लैजाने भन्दै इलाका प्रहरी कार्यालय भिमानमा इन्ट्री भएको पाईएको छ ।

रामेछाप जाने भनि सिन्धुलीमा आएर तरकारी बेचेको पाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताउनु भयो । तरकारी बेचेर फर्केको उक्त गाडी र गाडीका चालक सर्लाही हरिवन नगरपालिका ७ का २१ वर्षीय अमितकुमार यादवलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भिमानका प्रमुख प्रहरी निरिक्षक हरिबोल के.सीले बताउनु
भयो ।

इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज घिमिरेका अनुसार व्यवसायिक रुपमा पशुपालन गरी मन्थलीका डेरीहरूमा दूध विक्री गर्दै आएका किसानले उत्पादन गरेको दुध विक्रि नहुँदा व्यवसाय सङ्कटमा परेको छ ।
दूध डेरी सञ्चालकहरूले दूध खरिद नगरिदिँदा अहिले उत्पादन गरेको दूधको व्यवस्थापन गर्न गाह्रो भएको किसान रमेश कार्कीले बताउनु भयो । बन्दको कारण यातायात नचेलेकोले दुध विक्रीमा मात्र हैन दाना घाँस ल्याउन समेत समस्या भएको अर्का कृषक डुकुना घिमिरेले बताउनु भयो ।
स्थानीय प्रशासनले सदरमुकाम मन्थली बजारमा जारी गरेको निषेधाज्ञाको कारण मन्थली बजारको व्यापार व्यवसाय ठप्प भएको हो । स्थानीय प्रशासनले बिहान तीन घण्टाको लागि मात्र दूध, तरकारी, खाद्यान्न तथा ग्यास पसलहरू खोल्न अनुमति दिएको छ ।
बजारमा किनबेच ठप्प भएकोले किसानहरूबाट यस अघि लिने गरेको दूध उठाउन नसकिएको चिरञ्जिवि डेरीका सञ्चालक भानुभक्त श्रेष्ठ बताउनुहुन्छ ।
मन्थलीमा दुई ओटा दूध डेरी सञ्चालनमा छन् । मन्थली बजार र डेरीलाई लक्षित गरेर मन्थली बजार आसपासको क्षेत्रका किसानहरूले ३ सयभन्दा बढी गाई पालेका छन् । ती गाईबाट उत्पादन हुने सयौं लिटर दूध अहिले विक्री नहुँदा किसानहरू समस्यामा परेका छन् ।


इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडा