लकडाउनका समयमा आन्दोलन गरेको आरोपमा १४ जना गिरफ्तार

  ०७७ वैशाख ३० गते

लकडाउनका समयमा आन्दोलन गरेको आरोपमा प्रहरीले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट वैशाख ३० गते १४ जनालाई गिरफ्तार गरेको छ ।

भारतले नेपाली भूभाग अतिक्रमण गरेर सडक निर्माण गरेको विषयमा महेन्द्र बहुमुखी क्याम्पस धरानका नेविसंघ र स्वतन्त्र नागरिकको तर्फबाट गरिएको विरोध र्‍यालीमा सहभागी भएको आरोपमा १४ जनालाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

गिरफ्तारीमा पर्नेमा नेपाल विद्यार्थी सङ्घका कार्यवहाक सभापति दोर्ची शेर्पा, जिल्ला सचिव टेकेन्द्र राई, जिल्ला सदस्य विमल बुढाथोकी, नेविसंघ इकाई सचिव तथा स्वावियु सदस्य रोशन चोम्वाङ,नेविसंघ क्षेत्रीय सचिव विनोद आले मगर, नेविसंघ उपसभापति अजय लिम्बु, अजित लिम्बु, इकाइ सदस्य उत्तम राई र हातीसार क्याम्पसका उपसभापति कृष्ण बडु छन् ।

स्वतन्त्र नागरिकबाट प्रर्दशनमा निस्किएका हर्क साम्पाङ, रविन राई, सुवास बर्देवा, सरोज चौलागाई, इमान राई गिरफ्तारीमा परेका छन् ।


जयकृष्ण यादव